विद्यालयमा सामान्य नाटक गर्थें । त्यति धेरै चासो थिएन । वीरेन्द्र हमालको चाहनाचाहिँ पहिल्यैदेखि मलाई थिएटरमा ल्याउने थियो । उहाँ मेरो अंकल । एसएलसी दिएपछिको बिदामा वीरेन्द्र अंकलको ‘एम आर्ट’मा नाटक सिक्न गएँ । त्यही बीचमा पोखरामा थिएटर कम्पिटिसन भयो । मैले पहिलोपटक दर्शकका अगाडि नाटकमा अभिनय गरेको त्यहीँ हो । ‘पत्थरको कथा’ नाटक थियो । लेखक विजय मल्ल र निर्देशक वीरेन्द्र हमाल ।
त्यसवेला हरेक वर्ष एकेडेमीमा ‘बालकृष्ण सम’ महोत्सव हुन्थ्यो । विभिन्न नाटक मञ्चन हुन्थ्यो । मैले पनि वीरेन्द्र हमालको निर्देशनमा ‘स्वास्नी मान्छे’ नाटकमा एकल अभिनय गरेँ । त्यो नाटक पनि एकदम राम्रो भयो । सात हजार राशिको पुरस्कार पाएँ, जसले मलाई थप हौसला मिल्यो ।
एम आर्टमा हुँदा सुनील पोख्रेल सरले वीरेन्द्र अंकललाई आफ्नो नाटक पढाउने कन्सेप्ट सुनाउनुभएछ । म पनि त्यहाँ गएँ । मलगायत कमलमणि नेपाल, राजन खतिवडा, सौगात मल्लहरू त्यहाँ सँगै पढ्ने भयौँ । आरोहणलाई गुरुकुल नाम पछि दिइएको हो । मैले त्यहाँ दुई वर्ष होस्टेल बसेर पढेँ । गुरुकुलमा अभि सुवेदी, शिव रिजाल सरहरू साथै नर्वे, जर्मन, अमेरिकाबाट आउनुभएका सरहरूले पढाउनुहुन्थ्यो । त्यहाँ पढ्दापढ्दै नाटक देखाउन धेरै देश गयौँ । म गुरुकुल भत्किनुभन्दा अघि नौ वर्षसम्म बसेँ । गुरुकुल मेरो जीवनको अर्को मुख्य टर्निङ पोइन्ट हो ।
अन्तर्राष्ट्रिय स्तरमा पहिलो एकल प्रस्तुति दिएकोचाहिँ बंगलादेशमा हो । डा. अभि सुवेदी सरको ‘आरुका फूलका सपना’मा । यही नाटकले मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गरायो । नाटक भारतका धेरैवटा प्रान्तमा मञ्चन भएको थियो । मैले धेरै अघि सर्ट मुभी नबर्सेको झरीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुँ । तर, मलाई नाटकमा नै रमाइलो लाग्थ्यो ।
धेरै वर्षसम्म फिल्म गरिनँ । ठूलो पर्दाको चलचित्र गुरु दक्षिणाबाट चलचित्रमा फेरि प्रवेश गरेँ । त्यसबीच धेरैवटा चलचित्र गरेँ । तर, आफूलाई स्थापित गराउने भूमिका खास गरेको जस्तो लागेको थिएन । दर्शकले पनि मेरो कामलाई सामान्य मात्रै मन पराए । मैले गरेको पछिल्ला फिल्ममध्ये कागजपत्रबाट भने दर्शकको माया पनि पाएँ ।