मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
दिवाकर पन्त काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०८:५७:००
Read Time : > 2 मिनेट
अर्थ

दिल्लीको तुलनामा काठमाडौंको भाडा डेढ गुणासम्म महँगो 

नेपाल आउने हवाई भाडा अत्यधिक महँगो

Read Time : > 2 मिनेट
दिवाकर पन्त काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०८:५७:००

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । तर, नेपाल आउने हवाई भाडा अत्यन्त महँगो भएकाले पर्यटक सस्तो गन्तव्यतर्फ मोडिने गरेका छन् । संसारको जुनसुकै स्थानबाट छिमेकी भारतको दिल्लीको तुलनामा काठमाडौं आउने यात्रुले डेढ गुणासम्म बढी भाडा तिर्नुपरिरहेको छ । महँगो हवाई भाडाकै कारण नेपाली पर्यटन बजार प्रभावित बनेको छ । 

स्विट्जरल्यान्डको जुरिकबाट काठमाडौं आउने हवाई भाडा औसत एक लाख २९ हजार रुपैयाँ छ । तर, लगभग उत्तिकै दूरीको दिल्लीसम्मको हवाई भाडा ७८ हजार रुपैयाँ मात्र छ । दूरीका हिसाबले हजार किलोमिटर पनि फरक नभएको यी दुई स्थानको भाडामा डेढ गुणाभन्दा बढी अन्तर छ । त्यस्तै, लन्डनबाट काठमाडौं आउन एक यात्रुले औसत ९८ हजार रुपैयाँ तिर्नुपर्छ । तर, दिल्ली आउन भने ५८ हजार रुपैयाँ मात्र लाग्छ । लन्डनबाट दिल्लीभन्दा काठमाडौं आउन झन्डै ७० प्रतिशत बढी भाडा तिर्नुपर्छ । 

पर्यटनमा नकारात्मक असर
हवाई भाडा महँगो भएकाले पर्यटकमा नेपालप्रति नकारात्मक प्रभाव पर्ने गरेको छ । थुप्रै पर्यटकका लागि हवाई भाडाले निकै महŒव राख्छ । त्यस्ता पर्यटक सस्तो विकल्पतर्फ आकर्षित हुने पर्यटन व्यवसायी बताउँछन् । ‘पर्यटकका लागि हवाई भाडा खर्चको पहिलो इस्टिमेटमा पर्छ,’ व्यवसायी मोहन लम्साल भन्छन्, ‘तर, काठमाडौं आउने भाडा महँगो देख्नेबित्तिकै उनीहरू वैकल्पिक गन्तव्य रोज्न थाल्छन् ।’ 

नेपाल एसोसिएसन अफ टुर अपरेटरका सदस्य अमृतकुमार ढकाल विश्वका सबैजसो गन्तव्यबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान भाडादर अत्यधिक महँगो भएको बताउँछन् । एकातर्फ एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले हवाई यात्रा बोझिलो छ । अर्कातर्फ हवाई भाडा पनि महँगो हुँदा नेपाल पर्यटकको पहिलो रोजाई बन्न नसक्ने व्यवसायीहरू औँल्याउँछन् । ‘हवाई भाडा नै महँगो भएपछि टुर प्याकेज पनि महँगो हुन्छ,’ व्यवसायी लम्साल भन्छन्, ‘त्यसैले प्याकेज बेच्न पनि गाह्रो हुने गरेको छ ।’ विश्व पर्यटन बजारमा नेपालजस्ता सयौँ गन्तव्यबीच ठूलो प्रतिस्पर्धा छ । यात्रा खर्चिलो हुँदा नेपाल प्रतिस्पर्धाबाटै बाहिरिने अवस्थामा पुगेको व्यवसायीहरूको भनाइ छ ।

भाडा किन महँगो ?

१. हवाई इन्धन नै प्रतिलिटर ३९ रुपैयाँ महँगो
हवाई भाडामा इन्धनको हिस्सा ४० प्रतिशत हुन्छ । नेपालमा हवाई इन्धनको मूल्य उच्च भएकाले भाडा पनि महँगो भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम बताउँछन् ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले आन्तरिक उडानका लागि दिल्लीमा ६५.०६ भारुले हवाई इन्धन बिक्री गरिरहेको छ । तर, बाह्य उडान भर्ने विमान कम्पनीका लागि ७००.५६ डलर प्रतिकिलोलिटर मूल्य तोकेको छ । यस हिसाबले हजार लिटर इन्धनको ७८ हजार चार सय ६२ नेपाली रुपैयाँ अर्थात् प्रतिलिटर नेरु ७८ रुपैयाँ ४६ पैसा पर्छ । 

नेपालमा पनि हवाई इन्धनको दुईथरी मूल्य निर्धारण गरिएको छ । आयल निगमले आन्तरिक उडानतर्र्फ ९४.५० रुपैयाँ प्रतिलिटर मूल्य निर्धारण गरेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर (१.०५ डलर प्रतिलिटर) छ । यसअनुसार प्रतिलिटर १ सय १७ रुपैयाँ ६० पैसा अर्थात् दिल्लीमा भन्दा यहाँ ३९ रुपैयाँ बढी पर्न आउँछ ।

२. टर्मिनल एयरपोर्ट, ग्राउन्ड ह्यान्डलिङ शुल्क उच्च
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल हो, अर्थात् कुनै पनि क्षेत्रबाट आउने विमानका लागि यो अन्तिम गन्तव्य । यस्ता विमानस्थलमा भाडादर महँगो हुने विज्ञहरू बताउँछन् । ट्रान्जिट विमानस्थलमा विमानको ओहोरदोहोर अधिक हुन्छ, सिट सजिलै पाइन्छ । त्यसैले सस्तो दरमा टिकट पाइन्छ । ‘तर, टर्मिनल विमानस्थलमा सीमित मात्रामा उडान हुन्छ, सिट पनि सहज उपलब्ध हुँदैन,’ हवाई क्षेत्रका जानकार घनश्यामराज आचार्य भन्छन्, ‘त्यसैले भाडादर महँगो पर्छ ।’ 

नागरिक उड्डयन प्राधिकरणका पूर्वउपमहानिर्देशक महेन्द्रसिंह रावल पनि आचार्यको भनाइसँग सहमत छन् । ‘ट्रंक (ट्रान्जिट) विमानस्थलहरूमा धेरै उडान हुन्छन्, यात्रु पनि धेरै हुन्छन्,’ उनले भने, ‘तर, त्रिभुवन विमानस्थलमा उडान र यात्रु सीमित हुने भएकाले महँगो पर्न गएको हो ।’ दिल्ली ट्रान्जिट विमानस्थल हो, जहाँ विमान र यात्रुको चाप बढी हुन्छ । त्यस्तै, ठूला विमान सेवा कम्पनीले यात्रु चाप बढी हुने रुटमा भाडादर सस्तो बनाउँछन् । कम यात्रु हुने रुटमा थोरै उडान गर्ने भएकाले भाडा बढी हुने गर्छ । 

त्यसबाहेक त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्क पनि महँगो छ । त्यसैले हवाई भाडा बढी तोक्न कम्पनीहरू बाध्य हुने गरेको जानकारहरू बताउँछन् । नेपालमा प्रदान गरिने सेवाको तुलनामा ग्राउन्ड ह्यान्डलिङको शुल्क बढी भए पनि अन्य विमानस्थलको तुलनामा भने बढी नभएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको भनाइ छ । 

३. कमजोर राष्ट्रिय ध्वजाबाहक
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सेवा भरपर्दाे नभएको र क्षेत्र विस्तार गर्न नसकेकाले पनि भाडा महँगो हुन गएको केही व्यवसायीको बुझाइ छ । ‘राष्ट्रिय ध्वजाबाहकसँग पर्याप्त जहाज छैन । त्यसमाथि धेरैवटा गन्तव्यमा उडान नभएपछि विदेशी विमानले बढी भाडा तोक्ने त भइहाले,’ पर्यटन व्यवसायी ठाकुरराज पाण्डे भन्छन्, ‘पर्यटक आगमन बढाउने हो भने भाडादर सस्तो बनाउन प्रयास गर्नैपर्छ । अन्यथा नेपाल आउने पर्यटक अन्तै जाने क्रम झनै बढ्नेछ ।’