मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ २९ बुधबार ०८:४८:००
Read Time : > 1 मिनेट
अर्थ

६५ अर्ब लगानीको माथिल्लो त्रिशूली–१, २०२४ सम्म सक्ने लक्ष्य

एसियाली पूर्वाधार विकास बैंकको नेपालमा लगानी सुरुवात

Read Time : > 1 मिनेट
२०७६ जेठ २९ बुधबार ०८:४८:००

एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी)ले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा लगानी सुरुवात गर्ने भएको छ । आयोजनामा १० अर्ब रुपैयाँ दीर्घकालीन ऋण लगानी गर्ने निर्णय एआइआइबी बोर्डले गरेको आयोजनाको प्रवद्धर्क नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले बताए । 

‘अन्तर्राष्ट्रिय ११ वटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा लगानी गर्ने सहमतिअनुसार सम्बन्धित बैंकका बोर्डहरूले लगानी प्रस्ताव पारित गर्ने क्रममा एआइआइबीले पनि पारित गरेको हो,’ उनले भने । आयोजनामा एआइआइबीसहित एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, जर्मन इन्भेस्टमेन्ट कोअपरेसन, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनी, कोपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट, एक्जिम बैंक अफ कोरिया, कोरियन डेभलपमेन्ट बैंक, प्रोपार्को ग्रुप एजेन्सी, सिडिसी र एमआइजिएले लगानी गर्ने सहमति भएको छ । ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ११ अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले ४५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने उनले बताए । 

नेपालसमेत संस्थापक सदस्य रहेको एआइआइबीले भने नेपालमा पहिलोपटक ऋण लगानी गर्न लागेको हो । ‘यो लगानी नेपालमा आउँदो असोजभित्र ऋण सम्झौता गरिसक्ने हाम्रो लक्ष्य छ,’ अधिकारीले भने, ‘तर, ऋण सम्झौता गर्न राष्ट्र बैंकले विदेशी ऋण ल्याउने स्वीकृति दिनुपर्छ ।’ 

२०२४ सम्म निर्माण सक्ने लक्ष्य 
यो वर्षको मंसिरबाट आयोजना निर्माणमा जाने लक्ष्य लिइएको छ । मंसिरसम्ममा सम्झौताअनुसारको रकम लगानीकर्ता बैंक तथा वित्तीय संस्थाले निकासा गर्ने र निर्माणमा जाने योजना रहेको उनले बताए । सुरु भएको ५ वर्षभित्र अर्थात् २०२४ भित्र निर्माण सक्ने लक्ष्य कम्पनीको छ । प्रवद्र्धक कम्पनी र नेपाल सरकारबीच २९ डिसेम्बर १०१६ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । त्यस्तै, २८ जनवरी २०१८ मा नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको थियो । पिपिए भएको २ वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन पूरा गरिसक्नुपर्ने प्रावधान छ । कोरियाका कम्पनीहरू र नेपालीको लगानी रहेको आयोजनाको प्रवद्र्धक कम्पनी ०६८ सालमा नेपालमा दर्ता गरिएको थियो । आयोजना अघि बढाइएको झन्डै ८ वर्षपछि बल्ल वित्तीय व्यवस्थापन पूरा हुन लागेको हो ।

के छ हालसम्मको भौतिक प्रगति ? 
हालसम्म कम्पनीले विद्युत्गृहदेखि बाँधस्थलसम्म पुग्ने १२ किलोमिटर पहुँच मार्गमध्ये ६ किलोमिटर निर्माण पूरा गरेको छ । त्यस्तै, आयोजनामा जाने पहुँच मार्गमा पर्ने मैलुङ खोलामाथि बेलिब्रिज र आवासीय भवनसमेत निर्माण गरेको छ । आयोजनाको विद्युत्गृह रसुवाको उत्तरगया गाउँपालिका–१ मा पर्छ । आयोजनाको बाँधस्थल भने जिल्लाको आमाछोदिङ्ग्मो गाउँपालिका–१ र गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्छ ।