Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ जेठ २९ बुधबार ०६:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

यमन र माली शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी 

Read Time : > 1 मिनेट
२०७६ जेठ २९ बुधबार ०६:३४:००

राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ । यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो । फ्रेन्च भाषामा पोख्त प्रहरी ती देशमा पठाउन लागिएको छ ।

यमनका लागि तीन प्रहरीको नाम सिफारिस भइसकेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । मालीमा खटाउनेबारे पनि छलफल भइरहेको उनले बताए । गत कात्तिकदेखि नेपाल प्रहरी कंगो मिसनमा समेत खटिँदै आएको छ । १७ वर्षपछि नेपाल प्रहरी राष्ट्रसंघअन्तर्गत कंगो मिसनमा खटिएको हो । जहाँ हाल चारजना प्रहरी कार्यरत छन् । 

मिसन जान फ्रेन्च जान्नुपर्ने 
हाल नयाँ मिसनहरूमा जानका लागि प्रहरी अधिकारीहरूले अंग्रेजीका साथै फ्रेन्च भाषासमेत जान्नुपर्ने भएको छ । त्यसैले प्रहरीमा फ्रेन्च पढ्ने लहरसमेत सुरु भएको छ । पछिल्लोपटक प्रहरी जान थालेका मिसनमा फ्रेन्च अनिवार्य गरिएको छ । कंगो मिसनमा पनि फ्रेन्च जान्ने प्रहरीलाई मात्र पठाइएको छ । फ्रेन्च मिसनहरूमा प्रस्ताव आएपछि प्रहरीले आफैँ पनि भाषा पढाउन थालेको छ । 

कंगोबाहेक सुडान र दक्षिण सुडानमा नेपाल प्रहरीका अधिकारीहरू कार्यरत छन् । हाइटीस्थित एफपियू मिसन गत महिना मात्र बन्द भइसकेको छ । तर, केही महिनाका लागि केही प्रहरी अझै कार्यरत छन् । हाइटीबाट बस्दोबस्तीका सामान फिर्ता ल्याउने प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ । 

पछिल्ला वर्ष नेपाल प्रहरीको राष्ट्रसंघमा अवसर कम हुँदै गएको छ । तीन वर्षअघि राष्ट्रसंघले नयाँ एफपियू मिसन दिने प्रस्ताव गरे पनि प्रहरीले बन्दोबस्तीका सामान किन्न नसक्दा अवसर कम हुँदै गएको छ । प्रहरीले नयाँ मिसनका लागि लबिङ गर्दै आएको छ । 

२० प्रतिशत महिला 
राष्ट्रसंघीय मिसनहरूमा महिला प्रहरीले प्राथमिकता पाउने भएका छन् । मिसनमा जानेमध्ये २० प्रतिशत महिला पठाउन नेपाल प्रहरीले समझदारी गरिसकेको छ । सोहीअनुसार हरेक टोलीमा महिला पठाउन थालिएको एसएसपी पाण्डेले बताए ।  एफपियू मिसनको छनोटमा गत वर्षदेखि नै २० प्रतशित महिला पठाउन थालिएको थियो । पर्यवेक्षक मिसनमा पनि हरेक टोलीमा महिलालाई पठाउन थालिएको छ । 

संयुक्त राष्ट्रसंघले सन् २०२० सम्म शान्ति मिसनमा २० प्रतिशत महिला पुर्‍याउने नीति लिएको छ । जसअनुसार सबै देशलाई महिला सैनिक तथा प्रहरीको संख्या बढाउन निर्देशन दिएको थियो । शान्ति मिसनमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै राष्ट्रसंघले संख्या बढाउन लागेको हो । सोहीअनुसार नेपालबाट पनि महिलाको संख्या बढाउँदै लगेको हो । राष्ट्रसंघीय शान्ति मिसनमा जनशक्तिका हिसाबले नेपालको योगदान छैटौँ स्थानमा पर्छ । नेपाली सेनाले पनि राष्ट्रसंघीय शान्ति मिसनमा महिलाको संख्या बढाउँदै लगेको छ ।