अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
एकसाथ दुई–तीनवटा किताब पढ्ने बानी छ, मेरो । अहिले सुजित मैनालीको ‘शिलान्यास’ र दलाई लामा र डेसमन्ड टुटुको संयुक्त किताब ‘द बुक अफ जोय’ पढ्दै छु । मुड र समय हेरेर मन लागेको किताबको पाना पल्टाउँछु ।
पुस्तक कस्ता लागिरहेछन् ?
विषयवस्तु र लेखनका हिसाबले दुवै बिल्कुलै फरक किताब हुन् । फरक भोक मेटाउने हुनाले पनि यी दुवै किताबले मलाई निकै तानिरहेछन् ।
कस्ता किताब बढी रुचाउनुहुन्छ ?
विशेषगरी आख्यान र कविताकै किताब बढी पढिरहेकी हुन्छु । यसबाहेक वैचारिक किताबले पनि मलाई उत्तिकै तान्छन् । दर्शन र आध्यात्मिक किताब मेरा प्रिय रोजाइ हुन् । पाँचवटा जति अलि गहु्रंगा किताब पढेपछि औसतमा एउटा सेल्फ हेल्पको किताब पढ्छु । जसले मानसिक थकानमा कफी ब्रेक वा कुनै बुस्टरको काम गर्छ ।
किताब किन्ने आधार केलाई बनाउनुहुन्छ ?
इन्टरनेटका कारणले आजकल राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा आएका किताबका बारेमा क्षणभरमै जानकारी पाइन्छ । कतिपय किताब समीक्षा पढेको आधारमा पनि किन्छु । साथीभाइले राम्रो लागेर रिफर गरेको आधारमा पनि किताब किनिन्छ । किताब पसलमा चाहार्दै गर्दा कति नाम मन परेको आधारमा पनि किनेकी छु ।
कस्ता किताब कति सिटिङमा पढ्नुहुन्छ ?
मेरो किताब पढ्ने आदत यही र यस्तै छ भन्न नसकिने खालको छ । किताबले बाँध्यो, मुडले साथ दियो र समय पनि छ भने म १२–१५ घन्टा लगातार पढिरहेकी हुन्छु । ठ्याक्कै यति नै सिटिङमा सक्छु भन्ने छैन । समय छ भने अक्सर किताब सुरु गरेकै दिन सक्ने मेरो बानी छ । समय नहुँदाचाहिँ एउटै किताब हप्तौँ लगाएर पनि पढ्ने गर्छु ।