मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ २८ मंगलबार ०८:१२:००
Read Time : > 3 मिनेट
सेयर बजार

बजेटपछि ४३.६६ अंक घट्यो नेप्से

Read Time : > 3 मिनेट
२०७६ जेठ २८ मंगलबार ०८:१२:००

गत साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस साताको दोस्रो दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । यस दिन नेप्से शून्य दशमलव ६८ प्रतिशत घटेर बन्द भएको छ । बजेट सार्वजनिक भएपश्चात् नेप्से परिसूचक कुल ४३ दशमलव ६६ अंक घटेको छ । बजेट सार्वजनिक भएपछि बजार खुला रहेको ६ कारोबार दिनमध्ये १ कारोबार दिन मात्र बजार बढेको छ भने बाँकी ५ कारोबार दिन बजार घटेको छ । 

पुँजी बजारमैत्री बजेट भनेर अधिकांश लगानीकर्ताले स्वागत गरेको बजेटले पनि बजार बढाउन नसक्दा लगानीकर्ताको मनोबल घटेको छ । माग सम्बोधन भए पनि बजारले गति लिन नसकेपछि लगानीकर्ता अन्योलमा परेका छन् । आर्थिक वर्षको अन्त्य नजिकिएसँगै सरकारी खर्च बढेर बजारमा तलरता सहज हुने अपेक्षा गरिएको थियो । 

तर, सो विपरीत अहिले बजारमा तलरता समस्या भएका कारण नेप्से उकालो लाग्न नसकेको एक ब्रोकरले बताए । यसका साथै बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर र ब्रोकर कमिसन नघटेका कारण पनि बजारमा दबाब परेको उनको भनाइ छ । केही लगानीकर्ता भने मौद्रिक नीतिको पर्खाइमा रहेका कारण पनि बजारले गति लिन नसकेको एक लगानीकर्ताले बताए । 

बजार सारांशः नेप्से परिसूचक सोमबार ८ दशमलव ७८ अंक घटेर १ हजार २ सय ७५ दशमलव ८२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ४३ अंक घटेर २ सय ७२ दशमलव ४६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३८ अंक घटेको छ । यस दिन १ सय ७३ कम्पनीको ८ हजार ३ सय ३४ पटकको कारोबारमा ६१ करोड ३ लाख ४७ हजार ३ सय ३४ रुपैयाँबराबरको २० लाख ७२ हजार ३ सय ४ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४३ दशमलव शून्य ३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २८ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७३ कम्पनीमध्ये ३४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय १९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा मंगलबार नेप्से ओरालो लागे १ हजार २ सय ७० दशमलव ३२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय ८५ दशमलव ४३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार २ सय ६४ दशमलव ८२ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय ९५ दशमलव शून्य ४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

कमाउनेमा वर्ल्ड मर्चेन्ट बैंकिङ
यस दिन वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको सेयरमूल्य ७ दशमलव ६१ प्रतिशत बढेको छ । त्यसैगरी, हिमालयन डिस्टिलरी, गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको तारगाउँ रिजेन्सी होटेल लिमिटेडको सेयरमूल्य यस दिन ७ दशमलव ३३ प्रतिशत घटेर ३ सय ३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । 

एनआइसी एसियाको सेयर कारोबार बढी
यस दिन कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक अगाडि रहेको छ । सो कम्पनीको यस दिन २ सय ७१ पटकको कारोबारमा ४ करोड १८ लाख ६९ हजार रुपैयाँबराबरको ९१ हजार ८ सय ९३ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन अपर तामाकोसी अगाडि रहेको छ भने सेयर संख्याका आधारमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सिटी एक्सप्रेसको यस दिन १ लाख ५९ हजार ३ सय ३४ कित्ता सेयर किनबेच भएको छ । अपर तामाकोसीको ३ सय ६१ पटक सेयर कारोबार भएको छ । कारोबारमा आएका शिवम् सिमेन्ट्स लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडको कारोबार रकम ३ करोड नाघेको छ । 

३ समूहको बढ्यो, ८ को घट्यो 
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने ८ समूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव ७४ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५६ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव २८ प्रतिशत बढेको छ । 

निर्जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २१ प्रतिशत घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक यस दिन १ दशमलव ६ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ३३ प्रतिशत, वित्त समूहको शून्य दशमलव १७ प्रतिशत जीवन बिमा समूहको शून्य दशमलव ९९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७९ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव ४९ प्रतिशत घटेको छ । 

राधीको १० प्रतिशत लाभांश
राधी विद्युत् कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । 

जनउत्थानको १:१ हकप्रद
जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १२ गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयरमा असार २ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द साउन १५ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले सिद्धार्थ क्यापिटल लिमिटेड, जनउत्थान लघुवित्तका केन्द्रीय तथा शाखा कार्यालयहरू र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । 

प्रुडेन्सियलको विशेष साधारणसभा
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले असार १० गते होटेल इच्छा, सिमरामा विशेष साधारणसभा आयोजना गर्ने भएको छ । सो सभामा हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत अर्थात् १० बराबर ६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रहेको छ । हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख पुग्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गर्नेछ ।