१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दिवाकर पन्त काठमाडौं
२०७६ जेठ २७ सोमबार १०:२७:००
Read Time : > 1 मिनेट
अर्थ

लुक्लामा फराकिलो हेलिप्याड निर्माण हुँदै

निर्माणपछि हेलिप्याडमा ८ वटा हेलिकोप्टर पार्किङ गर्न सकिने

Read Time : > 1 मिनेट
दिवाकर पन्त काठमाडौं
२०७६ जेठ २७ सोमबार १०:२७:००

विश्वकै जटिल विमानस्थलको सूचीमा पर्ने सोलुखुम्बुको लुक्ला विमानस्थलमा नयाँ हेलिकोप्टर पार्किङस्थल बनाइने भएको छ । विमानस्थलको धावनमार्गनजिकै झन्डै १२ रोपनी क्षेत्रफलमा नयाँ हेलिप्याड निर्माण गर्न लागिएको हो । ३२ करोड रुपैयाँ लागतमा निर्माण थालिएको हेलिप्याड ०७६ जेठभित्र तयार हुने लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार निर्माणपछि हेलिप्याडमा ८ वटा हेलिकोप्टर पार्किङ गर्न सकिन्छ । 

दुर्घटनापछि हेलिप्याड 
गत वैशाख १ गते लुक्ला विमानस्थलबाट रामेछाप विमानस्थल उडेको समिट एयरको जहाज धावनमार्गबाट चिप्लिएर दाहिनेतर्फ मोडिँदा धावनमार्गछेवैमा पार्किङ गरिएको हेलिकोप्टरमा ठोक्किएको थियो । यस दुर्घटनामा परि तीनजनाको निधन भएको थियो । त्यसलगत्तै लुक्लाजस्तो कठिन विमानस्थलको धावनमार्गनजिकै हेलिकोप्टर रोक्न नहुने निष्कर्ष नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले निकालेका थिए । सोहीअनुसार धावनमार्गको दाहिनेतर्फ केही टाढा रहेको जमिनमा हेलिप्याड बनाउने निष्कर्षमा प्राधिकरण पुगेको हो । दुर्घटना भएको एक महिनापछि १ जेठदेखि नयाँ हेलिप्याड निर्माण थालिएको लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारीले बताए । हेलिप्याड धावनमार्गभन्दा टाढा भएकाले दुर्घटनाको जोखिम कम हुने उनको भनाइ छ । हेलिप्याड कान्छाराम कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । 

हेलिकोप्टरको चाप लुक्लामा
खुम्बु क्षेत्रमा हेलिकोप्टरको उडान चाप अत्यन्त बढी छ । एक दिनमा लुक्ला विमानस्थल र विमानस्थल वरपरबाट १ सयदेखि १ सय ७५ पटक हेलिकोप्टरले उडान भर्ने गरेको लुक्ला विमानस्थलले जनाएको छ । त्यस्तै मौसम अनुकूल रहेका दिनमा ५८ पटकसम्म जहाजले लुक्ला विमानस्थलमा उडान भरेका छन् । विमानस्थलको यही चापलाई मध्यनजर गरेर नयाँ हेलिप्याड आवश्यक देखिएको लुक्ला विमानस्थलले जनाएको छ । पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जे शेर्पाले पर्यटकीय क्षेत्र भएकाले सिजनका वेला हवाई चाप पर्ने बताए । चापको अवस्थामा हेलिकोप्टर पार्किङ क्षेत्र धावनमार्गनजिकै हुँदा जोखिम हुने भएकाले विमानस्थलको सुधार आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘लुक्ला विमानस्थललाई सक्दो व्यवस्थित बनाउनुपर्छ, नयाँ हेलिप्याड बनेपछि एक हदसम्म जोखिम कम हुन सक्छ र यस क्षेत्रमा आउने पर्यटकका लागि नयाँ सन्देश पनि हुन्छ ।’

खेत–खेतमा हेलिप्याड
लुक्ला विमानस्थलमा पार्किङको व्यवस्था नभएपछि निजी हेलिकोप्टर सेवा प्रदायकहरूले विमानस्थलवरपर रहेका निजी व्यक्तिहरूको जमिन भाडामा लिएर हेलिप्याडका रूपमा प्रयोग गर्दै आएका छन् । त्यसो त लुक्लाको भौगोलिक बनावट त्यति फराकिलो नभएका कारण सानो क्षेत्रमा धेरै हेलिकोप्टर पार्किङ गर्नुपर्ने अवस्था छ । सानो क्षेत्रमा कम ग्यापमा हेलिकोप्टरको पार्किङ गर्नुपर्ने बाध्यताले दुर्घटनाको खतरा बढ्छ । नयाँ बन्ने पार्किङ क्षेत्रमा कम्तीमा पनि ८ वटा हेलिकोप्टर राख्न मिल्दा केही राहत मिल्ने व्यवसायीहरू बताउँछन् ।