१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मी काफ्ले झापा
२०७६ जेठ २७ सोमबार १०:२३:००
Read Time : > 1 मिनेट
अर्थ

पूर्वमा पेट्रोलियम पदार्थको अभाव

दुई सातायता भारतीय नाकामा रोकिँदै छन् नेपाली ट्यांकर

Read Time : > 1 मिनेट
लक्ष्मी काफ्ले झापा
२०७६ जेठ २७ सोमबार १०:२३:००

झापासहित पूर्वी नेपालका जिल्लाहरूमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतीय आयल कर्पाेरेसन (आइओसी)को सिलगुडी डिपोबाट पेट्रोलियम पदार्थ लोड गरेर आएका टयांकर भारतीय क्षेत्रको  पानीट्यांकी भन्सार नाकामा रोकिएपछि पूर्वमा १५ दिनयता पेट्रोलियम पदार्थको अभाव भएको हो ।

नेपाल आयल निगम शाखा कार्यालय चारआलीका अनुसार १५ दिनयता झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा पेट्रोलियम पदार्थको आयात नियमित हुन सकेको छैन । भारतीय क्षेत्रमा सयौँ नेपाली ट्यांकर रोकिएका छन् । भारतको पानीट्यांकी भन्सार नाकामा भारतले अनलाइन सिस्टममार्फत जाँचपास प्रक्रिया अघि बढाएपछि पेट्रोलियम पदार्थ लोड भएका ट्यांकर नेपाल भित्रिन ढिलाइ भएको हो ।

‘उतापट्टि अनलाइन सिस्टम लागू भएको छ’, नेपाल आयल निगम चारआली शाखा कार्यालयका प्रमुख सनम कार्कीले भने, ‘नयाँ सिस्टम आएपछि लोड भएका ट्यांकर नेपाल प्रवेश गर्न सकिरहेका छैनन् ।’ उनले अनलाइन सिस्टमले काम नगरेकोलगायत बहाना बनाउँदै भारतले पानीट्यांकी भन्सार नाकामा जाँचपासमा ढिलाइ गर्दै आएको बताए । उनले भने, ‘सातामा मुस्किलले एकपटक पट्रोलियम पदार्थ लोड भएका ट्यांकर नेपाल भित्रिँदै आएका छन् ।’

निगमको शाखा कार्यालयले नेपालमा अभाव भएको भन्दै पहिलेकै अवस्थामा जाँचपास प्रक्रिया अघि बढाइदिन भारतीय पक्षलाई लिखित आग्रह पनि गरेको थियो । तर, त्यसको पनि सुनुवाइ नभएपछि बजारमा अभावको स्थिति देखिएको हो । अभाव थाहा पाएका कतिपय उपभोक्ताले चाहिनेभन्दा बढी तेल भर्ने गरेका कारण पनि समस्या भएको पेट्रोल पम्प सञ्चालकहरू बताउँछन् । पम्प सञ्चालक चन्द्रबहादुर डाँगी भन्छन्, ‘१५ दिनयता नियमित तेल आइरहेको छैन । आएको तेल पनि एकदिन नभई सकिन्छ ।’

भारतको सिलगुडीबाट पेट्रोलियम पदार्थ आउने क्रम अनियमित भएपछि पूर्वका उपभोक्ता मारमा परेका छन् । नियमित आपूर्ति नभएपछि पम्प सञ्चालकलाई पेट्रोलियम पदार्थ वितरणमा पनि समस्या भएको छ । पेट्रोलियम पदार्थ आउने क्रम रोकिएपछि मेचीका पहाडी जिल्लाका उपभोक्ताले पनि अभाव झेल्दै आएका छन् । अभाव हटाउन विराटनगरस्थित आयल निगमको क्षेत्रीय कार्यालयबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी गरिएको छ ।

इन्धन हाहाकार भएपछि सर्वसाधारणमा परेको समस्यालाई तत्काल हटाउन नेपाल आयल निगमको चारआली शाखा कार्यालयले विराटनगरस्थित निगमको प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ ल्याउन निगमका बिक्रेता एवं व्यवसायीलाई आग्रह गरेको छ ।शाखा प्रमुख कार्कीले गत बुधबार विज्ञप्ति जारी गरेर नियमित आपूर्ति चाँडै गराउन निगम प्रयत्नशील रहेको जानकारी गराउँदै ताप्लेजुङ, पाँचथर, इलाम र झापास्थित निगमका बिक्रेतालाई आवश्यक पेट्रोलियम पदार्थ निगमको प्रदेश नम्बर–१ को प्रादेशिक कार्यालय विराटनगरबाट उपलब्ध गराइने जनाएका छन् । साबिक मेची अञ्चलका चार जिल्लामा दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको छ । भारतबाट तेल नआएपछि यी जिल्लाका पेट्रोल पम्प स्वतः बन्द भएका छन् ।