Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार ०७:४३:००
Read Time : > 3 मिनेट
अर्थ

सातामा ओरालो लाग्यो सेयरबजार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार ०७:४३:००

गत साता नेप्से परिसूचक करिब ३५ अंक घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । पाँच कारोबार दिनमध्ये चार कारोबार दिनका लागि मात्र बजार खुलेका कारण पनि कारोबार रकम घटेको हो । अघिल्लो साता सार्वजनिक भएको बजेटले गत साताको बजार बढ्ने अपेक्षा गरिएको थियो । तर, अपेक्षाविपरीत नेप्से ओरालो लागेपछि लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजेटमार्फत अर्थमन्त्रीले लगानीकर्ताहरूका अधिकांश माग पूरा गरेका थिए । सबैले स्वागत गरेको र पुँजीबजारमैत्री भनिएको बजेट आउँदा पनि बजार नबढेपछि लगानीकर्ताहरू पर्ख र हेर रणनीति अपनाउन बाध्य भएका छन् । 

बजारमा लगानीयोग्य पुँजी अभाव भएको, बैंकहरूको ब्याजदर नघटेको र ब्रोकर कमिसन नघटेका कारण बजार ओरालो लागेको विश्लेषण भइरहेको छ । केही लगानीकर्ताहरू भने ७ दशमलव ५ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको पुँजीगत लाभकर नै अन्तिम कर हो भन्ने अन्योल भएका कारण बजार घटेको बताउँछन् । पुँजीगत लाभकर घटाइए पनि अन्तिम कर भनेर घोषणा नभएका कारण लगानीकर्ताहरूको मनोबल नबढेको उनीहरूको भनाइ छ । यद्यपि, बजार घट्नुको ठोस कारण भने कसैले बताउन सकिरहेको छैन । 

बजार सारांश
गत साता नेप्से परिसूचक ३४ दशमलव ८८ अंक घटेर १ हजार २ सय ८४ दशमलव ५९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ७ दशमलव २६ अंक घटेर २ सय ७३ दशमलव ८९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स २ दशमलव ५६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ अंक घटेको छ । सो साता १ सय ८५ कम्पनीको ३५ हजार ३५ पटकको कारोबारमा २ अर्ब ६४ करोड ८८ लाख ८३ हजार रुपैयाँबराबरको ८१ लाख ६७ हजार ३ सय ९० कित्ता सेयर खरिदबिक्री भएको छ । 

शिवम्को सर्वाधिक कारोबार
गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा शिवम् सिमेन्ट्स लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता २ हजार ७ सय २ पटकको कारोबारमा ३४ करोड ४७ लाख ८४ हजार रुपैयाँ बराबरको ५ लाख १४ हजार २ सय ४४ कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा भने गत साता प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता ९ सय ९३ पटकको कारोबारमा २१ करोड ६६ लाख १८ हजार रुपैयाँबराबरको ७ लाख ९२ हजार १ कित्ता सेयर खरिदबिक्री भएको छ ।  

पौने ७ लाख कित्ता सेयर सूचीकृत
गत साता फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।  

सर्वाधिक कमाउने तारागाउँ
गत साता तारागाउँ रिजेन्सी होटेल लिमिटेडको सेयरमूल्य सर्वाधिक २३ दशमलव ८६ प्रशित बढेको छ । त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १७ दशमलव २ प्रतिशत बढेको छ भने एनआईबिएल प्रगति फन्डको एकाइ मूल्य १० दशमलव ७१ प्रतिशत र कन्काई विकास बैंक सेयरमूल्य १० दशमलव ११ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ । 
कारोबारमा आएको पाँचथर पावर कम्पनीको सेयरमूल्य सर्वाधिक १४ दशमलव ४७ प्रतिशत घटेको छ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ८ दशमलव ८ प्रतिशत र घलेम्दी हाइड्रोको सेयरमूल्य ७ दशमलव ३७ प्रतिशत घटेको छ ।

१० समूहको परिसूचक बढ्यो
गत साता कारोबारमा आएका १२ समूहमध्ये १० समूहको परिसूचक घटेको छ भने बाँकी २ समूहको परिसूचक बढेको छ । सो साता होटेल समूहको परिसूचक २५ दशमलव २८ अंक र वित्त समूहको ११ दशमलव २० अंक बढेको छ । 
सो साता जीवन बिमा समूहको परिसूचक सर्वाधिक २ सय २५ दशमलव २९ अंक घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ सय ७६ दशमलव ८१ अंक, जलविद्युत् समूहको ५३ दशमलव शून्य ६ अंक, लघुवित्त समूहको ४८ दशमलव शून्य ६ अंक, वाणिज्य बैंक समूहको ३३ दशमलव ३२ अंक, अन्य समूहको १९ दशमलव ८९ अंक, उत्पादनमूलक समूहको १७ दशमलव ६५ अंक, व्यापार समूहको १० दशमलव ३० अंक, विकास बैंक समूहको ८ दशमलव ९१ अंक र म्युचुअल फन्ड समूहको शून्य दशमलव १६ अंक घटेको छ । 

जनउत्थानको बुक क्लोज
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनको लागि सो दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १ सय अंकित मूल्यका २ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । 

एसियनको अवितरत हकप्रद लिलाम बिक्री
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार ३ सय ५९ दशमलव ७३ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बिक्री गरिने सेयरमध्ये २ हजार ४ सय २० दशमलव ७० कित्ता संस्थापक समूहको सेयर रहेको छ भने २ लाख १८ हजार ९ सय ३९ दशमलव शून्य ३ कित्ता सर्वसाधारण समूहको सेयर रहेको छ । 
सो सेयरमा असार १ देखि ८ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीले २०७५ चैत २५ देखि ०७६ वैशाख २९ सम्म निष्कासन तथा बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो ।

सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी सेयरमूल्य अंकित गरी बोलकबोल पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा संस्थापक समूहतर्फको लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फको लागि १ सय कित्ताको लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयर संख्याको लागि कुनै हद लाग्ने छैन । 
कम्पनीको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइबिएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगर शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय र ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको बाग्लुङबाट आवेदन दिन सक्नेछन् ।

प्राविधिक विश्लेषण

आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४६ दशमलव ९० स्केलमा रहेको छ । न्यूट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव २४ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । सो साता कारोबारमा आएका १ सय ८५ कम्पनीमध्ये ३७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय ३७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार २ सय ९६ दशमलव ४५ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ७२ दशमलव ७३ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार २ सय ६० दशमलव ८७ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार ३ सय ८ दशमलव ३१ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार ३ सय ३२ दशमलव शून्य ३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।