मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल/कृष्ण रिजाल
२०७५ मङ्सिर २९ शनिबार ०७:३९:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

साख जोगाएका सरकारी ब्रान्ड

Read Time : > 6 मिनेट
नवीन अर्याल/कृष्ण रिजाल
२०७५ मङ्सिर २९ शनिबार ०७:३९:००

देशमा दर्जनौँ निजी सिमेन्ट उद्योगका उत्पादनमाझ सरकारी हेटौँडा (शक्ति) सिमेन्टको आकर्षण उस्तै छ । बजारमा डिडिसी दूध र घिउ पाएसम्म उपभोक्ताको मन सितिमिती अन्त जाँदैन । शताब्दी पुरानो सिंहदरबार च्यावनप्रासले नेपाली उपभोक्ताको विश्वास टिकाइराखेको छ । टाउको दुखे सिटामोल र पखाला लागे जीवनजल नै सम्झिन्छन् । सरकारी उत्पादन तथा सेवा भनेपछि नाक खुम्च्याउने नेपाली केही सरकारी ब्रान्डमा भने वर्षौँदेखि विश्वस्त छन् । यिनै ब्रान्ड खोजीखोजी प्रयोग गर्छन् । नवीन अर्यालकृष्ण रिजालको रिपोर्ट :


सन्चो
दुई दशकअघिसम्म रुघाखोकी लाग्दा नेपालीको रोजाइमा थियो भिक्स मिसिएको चिनियाँ उत्पादन ‘सुइचो’ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक ध्रुवराज भट्टराईलाई स्वदेशकै जडीबुटी प्रयोग गरेर देशभित्रै सुइचोजस्तै औषधि उत्पादन गर्ने हुटहुटी जाग्यो । अध्ययनले देखायो त्यतिवेला ८ करोडको सुइचो बर्सेनि आयात हुँदोरहेछ । त्यो बजार लिन देशभित्रकै जडीबुटीहरूको तेल मिसाएर ‘सन्चो’ उत्पादन सुरु भयो । ०५७ देखि बजारमा आयो । ‘सन्चो यति लोकप्रिय होला भनेर सोचिएको थिएन,’ कम्पनीका प्रमुख प्रशासकीय अधिकृत रेवतीराज अधिकारी भन्छन्, ‘सोचेभन्दा धेरै लोकप्रिय बन्यो ।’

चिसोले समाउँदा, नाक बन्द हुँदा, टाउको दुख्दा नेपालीले सन्चो खोज्छन् । रुघा, खोकी, जोर्नी दुखेको, थकान, जीउ दुखेको, टाउको दुखेको, मर्केको र चिलाउने समस्यालाई सन्चोले सन्चो गराउँछ । ‘बजारमा सन्चोको अध्यधिक माग छ, मागअनुरूप उत्पादन गर्न सकिएको छैन,’ अधिकारी भन्छन्, ‘अहिले वार्षिक ३५ लाख थान सन्चो बजारमा जान्छ ।’ सन्चोको उपभोक्ता मूल्य ३० रुपैयाँ तोकिएको छ । कम्पनीले सुरुमा सन्चोको व्यापक बजारीकरण गर्‍यो । पसल–पसलमा सन्चो पुर्‍यायो । एकपटक प्रयोग गरेका ग्राहकले सन्चो आफैँ खोज्न थाले । सन्चो लोकप्रिय बनेपछि बजारमा दुरुस्तै प्रोडक्ट आए । तर, सन्चोको बजार लिन सकेनन् । ‘पसलमा सन्चो नपाएर अर्को प्रोडक्ट प्रयोग गर्नु बेग्लै हो,’ अधिकारी भन्छन्, ‘ग्राहकले पाएसम्म सन्चो नै किनेर लैजान्छन् ।’

सन्चो खाडी मुलुकतिर निर्यात हुन्छ । स्विडेनमा पनि उत्पादन हुन्छ । विदेशी कम्पनीले नेपालको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रबाट समिश्रण गरेको तेल लगेर स्विडेनमा सन्चो उत्पादन गर्छ । ‘फर्मुला हाम्रो, प्याकिङ उसको,’ उनी भन्छन् । ०३८ मा स्थापित जडीबुटी कम्पनीले हिमालय मसाज आयल, सिलाजित पेस्ट, सन्चो बमलगायत प्रडक्ट उत्पादन गरिरहेको छ ।

उदयपुर (गैँडा) सिमेन्ट

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्ने ‘गैँडा’ ब्रान्डको सिमेन्ट पनि बजारमा लोकप्रिय मानिन्छ । उदयपुरको जलजलेमा रहेको उद्योगको दैनिक उत्पादन क्षमता ८ सय मेट्रिकटन छ । ०४९ देखि व्यावसायिक उत्पादन थालेको उद्योग नाफामा छ । उद्योगले ओपिसी सिमेन्ट उत्पादन गर्छ । 

गैँडा छाप सिमेन्ट उच्च गुणस्तरको हुने भएकाले ग्राहकले सुरुदेखि रुचाएका थिए । तर, राजनीतिक हस्तक्षेप र अक्षम तथा भ्रष्ट व्यवस्थापनका कारण उद्योग बीचमा पूर्ण क्षमतामा चल्न सकेन । सुरुका केही वर्ष नाफामा चलेको उद्योग पछि दशकौँसम्म घाटामै चल्यो । तर, पछिल्लो समय लोडसेडिङको अन्त्य र चुस्त व्यवस्थापनका कारण उद्योग पूर्ण क्षमतामा चलेर नाफा कमाउन थालिसकेको छ ।

सिटामोल
दुखाइ कम गर्न धेरै नेपालीले सिटामोल खोज्छन् । अझ टाउको दुखाइ र सिटामोल पर्यायवाची बनेका छन् । यतिसम्म कि निम्सलाई समेत नेपालीले सिटामोट भन्छन् । अर्थात् दुखाइ कम गर्ने सबै औषधिलाई सिटामोल ठान्छन् । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले नै सिटामोल उत्पादन गर्दै आएको छ । सरकारले सिटामोल किनेर देशभरका स्वास्थ्य चौकीमार्फत निःशुल्क वितरण गथ्र्याे । ०६६ देखि बन्द भएको उत्पादन गत वर्षदेखि पुनः सुरु भएको छ । प्यारासिटामोलअन्तर्गत पर्ने सिटामोल नेपालभर चर्चित रहेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदी बताउँछन् । 

हेटौँडा  (शक्ति ब्रान्ड) सिमेन्ट
विदेशी बहुराष्ट्रिय कम्पनीका सिमेन्ट छिरिसक्दासमेत हेटौँडा सिमेन्टको गुणस्तर र विश्वास कायमै छ । ग्राहकको पहिलो रोजाइमा हेटौँडा सिमेन्ट नै पर्ने गरेको छ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले ‘शक्ति’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । सिमेन्ट क्षेत्रमा हेटौँडा अब्बल दहरियो । तर, समयानुकूल उद्योगको क्षमता विस्तार भएन । यो सिमेन्ट उत्पादन हुनेबित्तिकै बजारमा जान्छ । उद्योगको दैनिक उत्पादन क्षमता ७ सय ५० मेट्रिकटन हो । वार्षिक २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि विविध समस्याका कारण मुस्किलले २१ लाख बोरा मात्रै उत्पादन हुन्छ ।

यो सिमेन्ट पाउनै मुस्किल छ । बजारमा पुगेपछि लुछाचुँडी नै हुन्छ । हेटौँडा सिमेन्ट प्रयोग गर्न ‘सोर्सफोर्स’ लगाउनुपर्ने हुन्छ । हेटौँडा सिमेन्टका लागि उपभोक्ता बढी मूल्य तिर्न पनि तयार हुन्छन् । ०४२ देखि व्यावसायिक उत्पादन सुरु गरेको हेटौँडा (शक्ति) सिमेन्टले गुणस्तरमा सम्झौता नगरेकै कारण पुरानो साख जोगाइराखेको पुराना कर्मचारी बताउँछन् । 


आयोनुन
०४५ को नाकाबन्दीपछि नेपालमा आयोनुनको उदय भएको हो । आज हरेक नेपालीका घरमा आयोनुन खपत भइरहेको छ । ‘हामीले वर्षमा १ किलो दरका १० करोडभन्दा बढी प्याकेट आयोनुन वितरण गर्दै आएका छौँ,’ साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका प्रबन्धक ब्रजेश झाले भने । अहिले आयोनुनको बजारमूल्य प्रतिकिलो २० रुपैयाँ छ ।

जीवनजल 
बजारमा विभिन्न ब्रान्डका ‘ओरल रिहाइड्रेसन’ उपलब्ध छन् । तर, अधिकांश नेपालीले औषधिपसलमा ‘ओरल रिहाइड्रेसन’ किन्न जाँदा जीवनजल नै माग्छन् । नेपालमा जीवनजल सबैभन्दा लोकप्रिय ‘ओरल रिहाइड्रेसन’ भएको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभस कुसुम सुवेदी दाबी गर्छन् । कुनै समय सहरका औषधालयदेखि दूरदराजका स्वास्थ्य चौकीसम्म सरकारी जीवनजल लोकप्रिय थियो ।

जिएमपी पूरा गर्न नसकेर ०६६ देखि नेपाल औषधि लिमिटेड पूर्ण रूपमा बन्द भएको थियो । बन्द भएको ८ वर्षपछि पुनः जीवनजल उत्पादन सुरु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको ‘ओआरएस’मा आधारित नेपालकै पहिलो ‘फर्मुला’ नै जीवनजल भएको औषधि लिमिटेडको दाबी छ । अहिले सुन्तलाको स्वादमा समेत जीवनजल उत्पादन गर्दै आएको छ । पखला लाग्दा पुनर्जलीय उपचारका लागि जीवनजल प्रयोग गरिन्छ । 

डिडिसी दूध घिउ
देशभित्र निजी क्षेत्रका साढे दुई सय डेरी उद्योग सञ्चालन छन् । काठमाडौंमा मात्र ३० वटा डेरी उद्योग छन् । टोलटोलमा सयौँको संख्यामा साना डेरी पसल देखिन्छन् । तर, पनि दुग्ध विकास संस्थान (डिडिसी)कै दूध, दही र घिउ सर्वाधिक लोकप्रिय छ । उपभोक्ताले डिडिसी दूध र घिउ पाएसम्म अर्को ब्रान्ड रोज्न खोज्दैनन् । निजी डेरी उद्योगको भन्दा सरकारी कम्पनी डिडिसीकै दूध, घिउ र दही किन लोकप्रिय छ ? 

डिडिसीका निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपाने भन्छन्, ‘डिडिसीका उत्पादनको गुणस्तर नै हो । हामी मिसावट गर्दैनौँ, कमसल दूध प्रयोग गर्दैनौँ । त्यसैले त उपभोक्ताले ५० वर्षदेखि डिडिसीका उत्पादन मन पराइरहेका छन् ।’

१ साउन ०२६ मा स्थापना भएको डिडिसीले आगामी साउनमा स्वर्ण दिवस मनाउँदै छ । प्रतिस्पर्धात्मक बजारमा पनि डिडिसीले आफ्नो साख जोगाइराख्न सफल छ ।

डिडिसीको दूध संकलन नेटवर्क राम्रो छ । न्यौपानेका अनुसार दूध परीक्षण गरेर मात्र दूध किनिन्छ र दूध प्रशोधन हुन्छ । डिडिसी दूधका देशभर आठवटा प्रशोधन केन्द्र छन् । सबै ठाउँमा गरेर दैनिक डेढ लाख लिटर दूध प्रशोधन हुन्छ । तर, बजारमा मागअनुसार आपूर्ति हुन सकिरहेको छैन । बिहानै नकिने दिउँसो डिडिसी दूध किन्न पाइँदैन । 

दही गर्मीयाममा दैनिक १५ देखि २० हजार लिटर उत्पादन हुन्छ । घिउ चाडपर्वमा दैनिक हजार लिटर र अन्य समयमा ५–६ सय लिटर बिक्री हुन्छ । डिडिसीका मिठाई, लस्सी, बटर, क्रिम, आइसक्रिम, मोही, घिउ, दूध, पनिर, चिजलगायत उपलब्ध छन् । 

नमस्ते मोबाइल
नेपाल टेलिकमले आव ०७४/७५ मा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ खुद नाफा गर्‍यो । अघिल्लो वर्ष १५ अर्ब ३७ करोड नाफा कमायो । देशका धेरै नाफा कमाउने कम्पनीमध्ये नेपाल टेलिकम अग्रस्थानमै पर्छ । राज्यलाई पनि अर्बौं रुपैयाँ कर बुझाउँदै आइरहेको छ । 

नेपाल टेलिकम मोबाइल सेवाकै कारण भारी नाफा कमाउन सफल भएको हो । मोबाइलको भ्वाइस र डाटाबाट राम्रो आम्दानी गर्दै आइरहेको छ । ग्राहकले पनि नमस्ते मोबाइल सेवा रुचाउँदै आइरहेका छन् । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको ०७५ असोजसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता नेपाल टेलिकमकै छन् । असोजसम्म टेलिकमको जिएसएम मोबाइल प्रयोगकर्ता एक करोड ८२ लाख ७९ हजार ७ सय १२ पुगेका छन् । सिडिएमए मोबाइल प्रयोगकर्ता १६ लाख १३ हजार दुई ४४ पुगेका छन् । 

टेलिकमको मोबाइलबाट इन्टरनेट चलाउने ग्राहक थ्रिजी सेवाका ५३ लाख ४४ हजार आठ २७, फोरजी सेवाका ६ लाख ५२ हजार ५३८ र इभिडियोका एक लाख ३६ हजार पाँच ७३ छन् ।

सिंहदरबार च्यवनप्राश
राजा प्रताप मल्लको पालामा (३७६ वर्षअघि) सुरु भएको सिंहदरबार वैद्यखानाले उत्पादन गर्ने आयुर्वेदिक औषधिहरू नेपालीमाझ लोकप्रिय छन् । सिंहदरबार च्यवनप्राश, तुल्सी चिया, शिलाजित, अविपत्तिकर चूर्णलगायत आयुर्वेदिक उत्पादनले निरन्तर विश्वास जितिरहेका छन् ।

राजा–महाराजाको औषधोपचारका लागि सिंहदरबार वैद्यखाना सुरु भएको थियो । प्रताप मल्लले हनुमानढोकामा स्थापना गरेको वैद्यखाना राणा प्रधानमन्त्री जंगबहादुरले थापाथली सारे । राणा प्रधानमन्त्री जुद्धशमशेरले सिंहदरबारमा सारेपछि यसको नाम सिंहदरबार वैद्यखाना रह्यो ।

सिंहदबार वैद्यखानाका अनुसार देशमा आयुर्वेदिक प्रणालीका औषधि उत्पादन गर्ने स्वदेशी उद्योग पाँच दर्जन नाघिसकेका छन् । भारतबाट ठूलो परिमाणमा आयुर्वेदिक औषधि आउँछ । तैपनि, सिंहदरबार वैद्यखानाले उत्पादन गरेको आयुर्वेदिक औषधि रोजाइमा पर्छ । झन्डै ४ सय वर्षदेखि सिंहदरबार वैद्यखानाका उत्पादनले कसरी जनताको विश्वास जितिरहेको छ ?

यसको मुख्य कारण हो, स्वदेशी जडीबुटी प्रयोग गरेर बनाइएको उच्च गुणस्तरको औषधि । वैद्यखानाले ठूलो परिमाणमा औषधि उत्पादन गर्न सकिरहेको छैन । गत वर्ष साढे ६ करोड रुपैयाँको औषधि बिक्री भएको थियो । तर, जति औषधि उत्पादन भइरहेको छ, गुणस्तर उच्च रहेको पुराना कर्मचारी बताउँछन् ।

च्यवनप्राश, शिलाजित, चुर्ण, तुल्सी चियालगायत वैद्यखानाका धेरै पुराना उत्पादन हुन् । औषधिमा स्वदेशी जडीबुटी प्रयोग गरिन्छ । साधारण, जुनियर (बच्चाको), सुगर फ्री र स्पेसल गरी चार प्रकारका च्यावनप्रास उत्पादन गर्छ । 


केही चर्चित ब्रान्डको अवसान
जनकपुर चुरोट कारखानाबाट उत्पादित याक, देउराली, गैँडालगायत चुरोट बहुचर्चित ब्रान्ड थिए । लामो समय एकछत्र राज गरेको जनकपुर चुरोट इतिहास बनिसकेको छ । कुनै समय देशभरका पसलहरूमा जनकपुर चुरोटका उत्पादन पाइन्थ्यो । नेपाली चुरोट बजारमा धेरै पछिसम्म जनकपुर चुरोटको हिस्सा दुईतिहाइभन्दा बढी थियो । वार्षिक उत्पादन क्षमता साढे ५ अर्ब खिल्ली थियो । तर, अहिले यो बजार सूर्य टोबाकोलगायत निजी उद्योगले लिएका छन् ।

चरम राजनीतिक हस्तक्षेप, भ्रष्ट व्यवस्थापन, पुरानो प्रविधि, कच्चा पदार्थको अभावलगायत कारण कारखाना राम्रोसँग चल्न सकेन । उत्पादन घट्दै गयो, अन्ततः कारखाना बन्द भयो । अहिले पनि जनकपुर चुरोट कारखाना चलाउने बहस चलिरहेकै छ । तर, यो कारखाना पुनः चलेर पुरानो बिरासत फर्काउने सम्भवना धेरै कम छ ।

चोभारस्थित हिमाल सिमेन्ट पनि बन्द भइसक्यो । भृकुटी कागज, हरिसिद्धि इँटा, बाँसबारी छाला–जुत्तालगायत चर्चित सरकारी ब्रान्ड पनि इतिहास भइसके । मुलुककै गौरव मानिएको गोरखकाली रबर उद्योगको उत्पादन अहिले बन्द छ । तर, कर्मचारी भने दैनिक हाजिर भइरहेका छन् । अहिले सरकार उनीहरूलाई एकमुष्ट रकम बुझाएर अवकाश दिने प्रयास गरिरहेको छ ।