मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार २१:०७:००
Read Time : < 1 मिनेट
समाचार

मन्त्री पण्डितलाई बैठकमा आउन अन्तिम मौका : सहभागी नभए लोकसेवा आयोगको विज्ञापन रद्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार २१:०७:००

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आगामी सोमबार बस्ने बैठकमा सहभागी हुन अन्तिम मौका दिने भएको छ । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनबारे सरकारको धारणा बुझ्न समितिले शुक्रबार बैठक राखेको थियो । बैठकमा अनुपस्थित भएपछि मन्त्री पण्डितलाई सोमबारका लागि अन्तिम मौका दिने भएको हो ।

सोमबार बस्ने बैठकमा मन्त्री पण्डित सहभागी नभए विज्ञापन रद्द गर्न सरकारमार्फत आयोगलाई निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन । मन्त्री पण्डितले शुक्रबार अपरान्हको बैठकमा आउने सहमति गरे पनि उपस्थित नभएकोमा उनले आपत्ति जनाएकी छन् । बैठकमा समितिका सदस्य विजय सुब्बाले मन्त्री पण्डितले २५ गतेपछि बस्ने बैठकमा आउने जानकारी गराए पनि निर्णय लिन हतारो गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित अनुपस्थित भएको उल्लेख गर्दै तत्काल विज्ञापन फिर्ता लिन आयोगलाई निर्देशन दिन श्रेष्ठलाई दवाव दिएका थिए । गत २० जेठबाट समितिले सो विषयमा छलफल गर्न खोजेपछि मन्त्री पण्डितले समितिको बैठक छल्दै आएको आरोप लाग्दै आएको छ ।

मन्त्री पण्डितले संसदीय समितिलाई छल्न खोजेकोमा सत्तारुढ नेकपाकै सांसदले समेत विरोध जनाएका छन् । संविधान र संघीयताविपरीत विज्ञापन आएकाले त्यसलाई फिर्ता लिनुपर्ने समितिका धेरै सदस्यको मत रहँदै आएको छ ।