१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुस्तफा अक्योल काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार ०९:२२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

कता हरायो इस्लामिक सभ्यताको गौरव ?

Read Time : > 3 मिनेट
मुस्तफा अक्योल काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार ०९:२२:००

के  अमेरिकी विद्यालयका पाठ्यक्रममा ‘अरेबिक अंक’ समावेश गरिनुपर्छ ? पिट्सवर्गस्थित एक अनुसन्धान संस्था ‘सिभिक साइन्स’ले यो प्रश्न ३२ सय अमेरिकीमाझ सर्वेक्षण गर्ने उद्देश्यले राखेको थियो । गणितसम्बन्धी सामान्य यो प्रश्नले अमेरिकीमाझ कायम अरबी विश्वप्रतिको पूर्वाग्रहमाथि पनि प्रकाश पा¥यो । सर्वेक्षणमा सहभागीमध्ये ५६ प्रतिशतले ‘हुँदैन’ भन्ने जवाफ दिए भने १५ प्रतिशत तटस्थ रहे । यस परिणामलाई लिएर २४ सय ट्विट भयो । मत सर्वेक्षणमा सहभागीले अरबी अंक भनेको के हो भन्ने थाहा पाएको भए सम्भवतः मत परिणाम फरक आउन सक्थ्यो ।

अरबी अंक हाल विश्वभरि प्रचलनमा रहेको : ० देखि ९ सम्मका हुन् । मतपरिणामबारे टिप्पणी गर्दै सर्वेक्षण गर्ने संस्थाका प्रमुख कार्यकारी जोन डिकले भने— हामीले गरेको मत सर्वेक्षणमध्ये यसमा अमेरिकी नागरिकको सबैभन्दा दुःखद् र रमाइलो पूर्वाग्रह देखियो । सर्वेक्षणबाट एकातर्फ अमेरिकीमाझ ‘अरेबिक अंक’ के हो भन्ने सामान्य ज्ञान नरहेको पाइयो भने साथमा ‘अरेबिक’ जोडिएका हरेक विषयप्रति तिनको वितृष्णा पनि देखियो । तर, यसमा एउटा प्रश्न उब्जिन्छ— विश्वको सबैभन्दा प्रभावशाली अंक प्रणालीलाई ‘अरेबिक अंक’ किन भनिन्छ ?

यसको जवाफका लागि हामी सातौँ शताब्दीको भारतसम्म पुग्नुपर्छ । यो अंक प्रणालीको मूल विकास भारतमा भयो । भारतमै अंकमध्ये क्रान्तिकारी मानिने शून्यसमेतको अंक प्रणाली प्रयोगमा थियो । त्यसको लगभग दुई शताब्दीपछि यो प्रणाली मुस्लिम विश्वमा पुग्यो । ती दिन बग्दाद इस्लामिक साम्राज्य अब्बासिदको मात्र राजधानी थिएन, विश्वकै ज्ञानको केन्द्र थियो । त्यहाँ एकजना फारसी मुसलमान विद्वान् मुहम्मद इबन अल–ख्वरिज्मीले यसमा थप परिष्कार ल्याए । ख्वरिज्मीले गणितमा ‘अल–जाबर’ भन्ने एउटा छुट्टै शाखा विकास गरेका थिए जसलाई पछि ‘अल्जेब्रा’ (बीजगणित) भन्न थालियो ।

अरेबिक अंक प्रणालीलाई युरोपमा लोकप्रिय गराउने श्रेय भने इटलीका गणितज्ञ फिबोनाट्चीलाई जान्छ । १३औँ शताब्दीमा उत्तर अफ्रिकामा पढ्ने क्रममा आफ्ना अरबी शिक्षकबाट उनले अंकको ज्ञान पाएका थिए । फिबोनाट्चीले अरबी शिक्षकले पढाएको १० अंक प्रणाली युरोपमा प्रचलनमा रहेको रोमन अंक प्रणालीभन्दा उपयोगी पाए र आफ्नो कृतिमा यसलाई प्रयोग गरे । यस प्रणालीको सरलता र उपयोगिताका कारण छिट्टै यो युरोपभरि लोकप्रिय भयो । त्यहाँ यी अंकले ‘अरेबिक अंक’ नाम पायो । अरबी विश्वको योगदान गणित क्षेत्रमा मात्र सीमित छैन । अंग्रेजी भाषाका कैयन् शब्द अरबी भाषाबाट आएका छन् । 

आखिर यो कसरी भयो ? यसको पछाडि धेरैले बिर्सिसकेको इस्लामको एक वैभवशाली इतिहास आउँछ । आठौँ र १२आँै शताब्दीबीच मुसलमान विश्व तत्कालीन इसाई युरोपभन्दा निकै सिर्जनशील थियो । त्यो समय युरोप उसको अँध्यारो युग अर्थात् ‘मध्ययुग’बाट गुज्रिरहेको वेला थियो । तर, मुसलमान विश्व भने गणित, भौतिकशास्त्र, खगोलशास्त्र, जीव विज्ञान, चिकित्सा विज्ञान, वास्तुकला, व्यापार र सबैभन्दा महत्वपूर्ण दर्शनशास्त्रमा अग्रणी स्थानमा थियो । अनि मुसलमान विश्वको सम्पर्क भाषा थियो, अरबी । निश्चित रूपमा मुसलमान विश्वले यी विज्ञान अन्य संस्कृतिबाट ग्रहण गरेका थिए । तिनमा प्रमुख रूपमा प्राचिन ग्रिस, पूर्वीय क्रिस्चियन, यहुदी र हिन्दू आउँछन् । यद्यपि, तिनले आफ्ना आविष्कारमार्फत यी विज्ञानलाई अझ उन्नत बनाए । कालान्तरमा त्यहीँबाट यो ज्ञान युरोपमा हस्तान्तरण भयो ।  

इतिहासको यो चरणमा प्रकाश पार्न किन आवश्यक छ त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, महत्वपूर्ण पक्ष के हो भने, यस ऐतिहासिक अवधिले आजका मुसलमान र गैर–मुसलमान दुवैका लागि महत्वपूर्ण शिक्षा बोकेको छ । पछिल्लो वर्गमा पश्चिमका रुढीवादी समूह पनि पर्छन्, जो पश्चिमी सभ्यतालाई ‘यहुदी–क्रिस्चियन’का रूपमा मात्र परिभाषित गुर्नपर्ने ठान्छन् । उनीहरू पश्चिमी सभ्यताको बिरासत जोगाउनुपर्नेमा जोससाथ प्रस्तुत हुन्छन् । निश्चित रूपमा पश्चिमी सभ्यताको संरक्षण गनुपर्ने एउटा महान् उपलब्धि छ— इन्लाइटेनमेन्ट (ज्ञानोदय) । इन्लाइटेनमेन्टको जगमा विश्वले विचार र धर्मको स्वतन्त्रता, दासत्व उन्मूलन, कानुनको आँखामा सबै समान हुने अवस्था र लोकतन्त्र पायो । ती मूल्य ‘पहिचानको राजनीति’ भनिने उत्तर–आधुनिक साम्प्रदायिकवादमा तिलाञ्जली दिइनुहुँदैन । तर, पश्चिमका रुढीवादीहरू पश्चिमी सभ्यतामा गैरयहुदी–क्रिस्चियन योगदानलाई स्वीकार गर्ने विषयमा आफैँ साम्प्रदायिकवादको शरण लिने गर्छन् ।

आधुनिक विश्व निर्माणमा अब्राहमिक धर्मभित्रको तेस्रो धर्म इस्लामको पनि भूमिका छ । त्यो इतिहासलाई गरिने सम्मानले मुसलमानसँगको संवाद थप सिर्जनशील बनाउनेछ । हामी मुसलमान आफैँले पनि एक महत्वपूर्ण प्रश्नको जवाफ दिनुपर्छ— कुनै समय त्यति सिर्जनशील हाम्रो सभ्यताको त्यो सुनौलो युग कसरी गुम्यो ? यसको जवाफ दिने क्रममा केही मुसलमान धर्मिक विश्वासको सहारा लिन्छन् । तिनको विश्वासमा मुसलमानमा ‘पाप’ बढ्न थालेपछि पतन सुरु भयो । अर्को एउटा समूह विगतको बिरासत त्यो समयको बलियो नेतृत्वको कारण सम्भव भएको मान्छन् । ती पुनः त्यस्तै बलियो नेताले जन्म लिनुपर्ने मन्तव्य राख्छन् । त्यस्तै, केही मुसलमान विश्वको पतनको व्याख्यामा मुसलमान विश्वबाहिरका शत्रु र भित्रका ‘आत्मघाती’लाई दोष दिने षड्यन्त्रवादी सिद्धान्त समाउँछन् ।  

तर, इस्लामिक सभ्यताको पतनको यथार्थवादी कारण भने अर्कै छ । सुरुवाती इस्लामिक सभ्यताको मानिसकता फराकिलो र खुला देखिन्छ । त्यही मानसिकताको जगमा सिर्जनशीलता विकास भएको थियो । कम्तीमा त्यो समय मुसलमानको एउटा समूहमा अन्य सभ्यताबाट सिक्ने उत्कण्ठा देखिन्छ । त्यहाँ अभिव्यक्ति स्वतन्त्रता थियो, जुन तत्कालीन समयका लागि निकै महत्वको विषय थियो । यही कारणले महान् ग्रिसेली दार्शनिक एरिस्टोटलका कृति अरबीमा अनुवाद हुन सम्भव भयो । त्यस्तै, विभिन्न सम्प्रदायका धर्मगुरु तिनको मनमा आएको कुरा अभिव्यक्त गर्न स्वतन्त्र थिए । ती दिन प्राज्ञको खर्चका लागि दाता अघि आउँथे । १२औँ शताब्दीबाट यसमा परिवर्तन देखिन थाल्यो । त्यसपछि मुसलमान परम्परामा एकरूपता ल्याउने प्रयास गरियो । तानाशाह क्यालिफ र सुल्तानबाट भएको यस प्रयासपछि इस्लामभित्र तर्क–वितर्कमा पनि नियन्त्रण हुन थाल्यो । त्यसपछि मुसलमान विचार संकुचित, जडसूत्रीय र विवेकशून्य हुँदै गयो ।

आज मुसलमान विश्वअघि एउटा ठूलो प्रश्न उभिएको छ— मुसलमान मानसिकता किन अनुदारतातर्फ ढल्कँदै गयो र हामीले यसलाई कसरी उल्ट्याउन सक्छौँ ? यस बहसमा हामीले आरोप–प्रत्यारोप र खण्डनमा धेरै समय गुमाउनुहुँदैन । तर, सँगसँगै बाँकी विश्वले इस्लामिक सभ्यताका सबैभन्दा खराब उत्पादनलाई हेरेर हामीबारे गलत मूल्यांकन गर्ने गल्ती गर्न पनि हुँदैन । किनकि, इस्लामिक सभ्यता मानवतालाई महत्वपूर्ण योगदान दिने महान् सभ्यतामध्ये एक हो । त्योभन्दा पनि बढी पश्चिमी सभ्यतालाई यसले झनै ठूलो योगदान पु¥याएको छ । 

(अक्योल अमेरिकी थिंकट्यांक ‘केइटो इडन्स्टिच्युट’मा इस्लाम र आधुनिकता विषयका वरिष्ठ  अनुसन्धानदाता हुन्)

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य