मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
२०७६ जेठ २३ बिहीबार ०६:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गाउँको मुख्य पेसा नै गाँजा खेती : १७ सय रोपनीमा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

Read Time : < 1 मिनेट
टेकराज थामी काठमाडौं
२०७६ जेठ २३ बिहीबार ०६:१८:००

गोकर्णेश्वर–१ स्थित ६ वटा गाउँका अधिकांशको मुख्य पेसा नै गाँजा खेती रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विशेष सुराकीपछि निरीक्षणमा पुगेको प्रहरी टोलीले स्थानीयको बारीमा गाँजा भेटेको हो । लागुऔषध नियन्त्रण ब्युरोको टोली आइतबार गोकर्णेश्वर–१ स्थित ओर्खेनी, गौरीगाउँ, खत्रीटोल, माझगाउँ, कुने र चिलाउने पुगेको थियो । प्रहरीले एकैदिन १७ सय रोपनीमा लगाइएको गाँजा नष्ट गरेको छ । ब्युरोका अनुसार प्रहरीले नष्ट गरेको गाँजा कुल खेतीको करिब २० प्रतिशत मात्रै हो । 

ब्युरोका एसएसपी वसन्त लामाले गाउँका अधिकांश मकैबारी र आलुबारीमा गाँजा खेती रहेको बताए । उनले भने, ‘विशेष सूचनापछि हामी गाउँ पुगेका थियौँ । गाउँका अधिकांश बारीमा गाँजा खेती रहेको भेटियो । हामीले फडानी त ग-यौँ । तर, यो कुल खेतीको २० प्रतिशत मात्रै हो । माथि–माथिका गाउँमा त अझ धेरै गाँजा खेती रहेको पाइएको छ ।’

निर्बाध गाँजा खेती
ब्युरोका अनुसार गाँजा खेती हुने गाउँ स्थानीय प्रहरीको प्रभावभन्दा बाहिर छ । गाँजा खेती हुने सबै गाउँ सुन्दरीजल प्रहरी कार्यालय क्षेत्रअन्तर्गत पर्छन् । गाउँमा पुग्न प्रहरी कार्यालयबाट घन्टौँ लाग्छ । यद्यपि सडक सञ्जालले भने गाउँलाई जोडेको छ । एसएसपी लामाले भने, ‘गाउँ विकट छ । प्रहरी गाउँमा हतपत पुग्ने अवस्था छैन । त्यसो हुँदा स्थानीयले निर्बाध रूपमा गाँजा खेती गर्न लागेको भेटियो ।’

महँगोमा बिक्ने भएकाले जोखिम मोलेरै स्थानीय गाँजा खेतीमा लागेको भेटिएको लामाले बताए । उनले भने, ‘यहाँ उत्पादित गाँजाको माग अन्यत्रको भन्दा धेरै हुने रहेछ । कारोबारीसँग बुझ्दा पनि यहाँ उत्पादित गाँजा अन्यत्रको भन्दा बढी मूल्य पर्ने भेटियो । त्यसकारण पनि स्थानीय गाँजा खेतीमा आकर्षित भएको पाइयो ।अब सबै गाँजा फँडानी हुनेछ ।’