मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २२ बुधबार ०८:१८:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्से घट्यो, कारोबार रकम बढ्यो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २२ बुधबार ०८:१८:००

मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से, ३ कारोबार दिनमा ३० दशमलव १९ अंक घटेको छ । पुँजी बजारमैत्री बजेट सार्वजनिक भएपछि लगानीकर्ताले बजार बढ्ने अपेक्षा गरेका थिए । तर, लगानीकर्ताको माग सम्बोधन गरेर बजेट सार्वजनिक गरिए पनि बजार नबढेपछि लगानीकर्ता अन्योलमा परेका छन् । केही लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजार घटेको विश्लेषण गरिएको छ । यसका साथै तरलता अभावका कारण पनि बजार घट्न दबाब पुगेको एक ब्रोकरले बताए । तर, बजेटले पुँजीगत लाभकरका बारेमा अझै स्पष्ट नपरेका कारण लगानीकर्ताको मनोबल घटेको एक लगानीकर्ताले बताएका छन् । पुँजीगत लाभकर ७ दशमलव ५ प्रतिशतबाट घटाएर ५ प्रतिशत पुर्‍याइने भए पनि सो कर अन्तिम नै हो भन्ने अन्योलका कारण बजार बढन् नसकेको उनको भनाइ छ । 

बजार सारांश
मंगलबार नेप्से परिसूचक ३ दशमलव ५६ अंक घटेर १ हजार २ सय ८९ दशमलव २८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६२ अंक घटेर २ सय ७४ दशमलव ६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव २५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १२ अंक घटेको छ । यस दिन १ सय ७२ कम्पनीको ९ हजार ९ सय ३९ पटकको कारोबारमा ७१ करोड ५४ लाख ७ हजार ६ सय १२ रुपैयाँबराबरको २२ लाख ५२ हजार ५ सय ४६ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण

आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४९ दशमलव १० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चापको सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ५ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये ४९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ९८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

मंगलबार नेप्सेको पिभट बिन्दु १ हजार २ सय ९१ दशमलव १९ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा, बुधबार नेप्से ओरालो लागे १ हजार २ सय ८४ दशमलव ४४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ७९ दशमलव ६१ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार २ सय ९६ दशमलव शून्य २ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार ३ सय २ दशमलव ७७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सर्वाधिक कमाउनेमा तारागाउँ
यस दिन तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य सर्वाधिक ६ दशमलव ९८ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिन पनि सो होटेल कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको थियो । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ६ दशमलव ८५ प्रतिशत बढेको छ । 

त्यसैगरी, कन्काई विकास बैंकको सेयरमूल्य ५ दशमलव ३८ प्रतिशत बढेको छ भने अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन ६ दशमलव ३८ प्रतिशत घटेको छ भने मल्टिपर्पोज फाइनान्स कम्पनीको ६ दशमलव शून्य ८ प्रतिशत घटेको छ । मितेरी र मेरो माइक्रो फाइनान्सको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी ओरालो लागेको छ । 

४ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ५६ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव ५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १६ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । 

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ६३ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २५ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव २३ प्रतिशत घटेको छ । 

शिवमकाे सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अगाडि रहेको छ । सो कम्पनीको यस दिन ९ सय ५ पटकको कारोबारमा १२ करोड १३ लाख ११ हजार रुपैयाँबराबरको १ लाख ८० हजार ८ सय २९ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन प्रभु बैंक अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा पाँचथर पावर कम्पनी अगाडि रहेको छ । प्रभु बैंकको यस दिन ३ सय ६८ पटकको कारोबारमा ९ करोड ३३ लाख ५४ हजार रुपैयाँबराबरको ३ लाख ४३ हजार ५ सय ३७ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, पाँचथर पावर कम्पनीको यस दिन १ हजार ५ सय २३ पटक सेयर कारोबार भएको छ । 

सूर्याको साधारणसभा
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ११ गते होटेल हैरिसन प्यालेस, विराटनरमा एघारौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सो सभामा हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने, बोनस सेयर प्राप्त गरेका सेयरधनीले कम्पनीको १०औं वार्षिक साधारणसभाले पारित गरेको ७० प्रतिशत हकप्रद सेयर पनि पाउने प्रस्ताव, बोनस सेयरको कर प्रयोजनका लागि शून्य दशमलव ६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्नेछ । कम्पनीको सेयर रजिस्ट्रार एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । 

देवःको साधारणसभा
देवः विकास बैंक लिमिटेडले असार १२ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा बाह्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सो सभामा वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्त गर्नका लागि देवःको १ कित्ता सेयरबापत वेस्टर्नको १ कित्ता सेयर आदान–प्रदान गरिने, हाल कायम चुक्ता पुँजीको ५५ प्रतिशत बोनस सेयर वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकको सेयर कारोबार असार ६ देखि १२ गतेसम्म बुक क्लोज गर्नेछ । बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

विजय लघुवित्तको बोनस डिम्याट खातामा
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले ०७५ मंसिर २७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा सो लाभांश जम्मा गरेको हो । ०७५ पुस १४ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारणसभाले सो बोनस सेयरको प्रस्ताव पारित गरेको थियो । हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीलाई कम्पनीले शीघ्र सेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण बुझाउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वेस्टर्नको साधारणसभा
वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले असार १२ गते होटेल सिटी प्लाजा प्रालि, घोराहीमा तेह्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सो सभामा देवः विकास बैंकले प्राप्त गर्ने, देवःको १ कित्ता सेयरबापत वेस्टर्नको १ कित्ता सेयर आदान–प्रदान गरिने, असार मसान्तसम्म कायम चुक्ता पुँजीको १७ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रयोजनका लागि बैंकको सेयर कारोबार ०७५ असार २७ गतेदेखि बन्द रहेको छ । बैंकको सेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।