१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपेन्द्र अधिकारी
२०७५ पौष १५ आइतबार १०:५७:००
Read Time : > 1 मिनेट
समाचार

भूकम्पपीडितले घर बनाएनन्, पैसा पनि फिर्ता गरेनन्

Read Time : > 1 मिनेट
दीपेन्द्र अधिकारी
२०७५ पौष १५ आइतबार १०:५७:००

चितवनका ७ हजार ३ सय ३५ भूकम्पपीडितमध्ये ५ हजार ७ सय २१ ले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ बुझेका छन् । तीमध्ये ४ हजार घरपरिवारले मात्र किस्ता लिएपछि घर बनाएका छन् । करिब १७ सय भूकम्पपीडितले घर बनाउने सुरसार नै नगरेको भूकम्पीय आवास पुनर्निर्माण आयोजना चितवनले जनाएको छ ।

प्राधिकरणको तेस्रो स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति चितवनमा भएको कार्यक्रममा हालसम्म भएका प्रगतिबारे जानकारी गराइएको हो । किस्ता लिएर पनि घर नबनाउने कसैले पनि हालसम्म रकम फिर्ता नगरेको कार्यालयका इन्जिनियर सुजन नेपालले बताए । कम रकम भएकाले घर बनाउन नसकिने भन्दै केही भूकम्पपीडितहरू कार्यालयमा आए पनि आफूहरूले सम्झाइबुझाई घर बनाउन आग्रह गरेको इन्जिनियरहरू बताउँछन् । 

२३ प्रतिशत प्रगति
चितवनमा हालसम्म २३ प्रतिशत मात्र निजी घर निर्माण भएको प्राधिकरणले जनाएको छ । १ हजार ३ सय ५१ घरपरिवारले तेस्रो किस्ता लिएका छन् । ३ हजार ३ सय ४१ जनाले दोस्रो किस्ता लिएका छन् ।  यो संख्या केही दिनमै बढ्ने इन्जिनियर नेपाल बताउँछन् । निजी आवास निर्माण र भूकम्प प्रभावित वस्ती स्थानान्तरणको काम अन्तिम चरणमा पुगेको उनले जनाए । जिल्लामा ९ वटा वस्ती स्थानानान्तरण हुुनुपर्नेछ । 

६ हजार गुनासो 
चितवनमा ६ हजार भूकम्पपीडितले घरको पुनः मूल्यांकन हुनुपर्ने भन्दै प्राधिकरणमा गुनासो भरेका छन् । गुनासो भरेको एक वर्ष कटिसक्दा पनि हालसम्म सम्बोधन हुन सकेको छैन । गुनासो भरेकामध्ये १२ सय घरपरिवारको भने प्राधिकरण केन्द्रले माथिबाटै स्वतः गुनासो सम्बोधन गरेको इन्जिनियर नेपालले बताए । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनमा बस्न अयोग्य भनिएका कतिपय स्थानहरू प्राविधिकले मूल्यांकन गरी योग्य भने पनि सामाजिक न्यायका आधारमा उनीहरूलाई पुनः पुरानै बस्तीमा फर्काउन नहुने बताए । यसका लागि केन्द्रमा समेत पहल गरिरहेको उनले बताए । सहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर सुवास न्यौपानेले पुनर्निर्माणले पछिल्लो समय गति लिएको बताए ।