Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका / काठमाडौं
२०७६ जेठ २० सोमबार १०:५१:००
Read Time : > 4 मिनेट
सेयर बजार

अपेक्षाविपरीत घट्यो बजार

Read Time : > 4 मिनेट
नयाँ पत्रिका / काठमाडौं
२०७६ जेठ २० सोमबार १०:५१:००

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशमलव शून्य ५ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । गत साताको बुधबार सार्वजनिक भएको बजेटले लगानीकर्ताको माग सम्बोधन गरेपछि यस दिन बजारले सकारात्मक गति लिने अपेक्षा गरिएको थियो । तर, लगानीकर्ताको अपेक्षाविपरीत यस दिन नेप्से ओरालो लागेको हो । 

अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण यस दिन बजार घट्न दबाब पुगेको एक ब्रोकरले बताए । समग्र वातावरण पुँजी बजारमैत्री हुँदा पनि नेप्से ओरालो लागेपछि लगानीकर्ता अन्योलमा परेका छन् । 

बजार सारांश
आइतबार नेप्से परिसूचक १३ दशमलव ७९ अंक घटेर १ हजार ३ सय ५ दशमलव ६८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव शून्य ३ अंक घटेर २ सय ७८ दशमलव १२ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन १ दशमलव शून्य २ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९३ अंक घटेको छ । यस दिन १ सय ६६ कम्पनीको ९ हजार ८ सय ३ पटकको कारोबारमा ७५ करोड ३२ लाख ५७ हजार २ सय ७ रुपैयाँबराबरको २० लाख ७८ हजार ९१ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ५७ दशमलव ३१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २३ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीमध्ये २९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय २१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १६ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार ३ सय १४ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ९४ दशमलव ६१ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार ३ सय १५ दशमलव ५९ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार ३ सय २५ दशमलव ५१ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

३ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएका ३ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । कन्काई विकास बैंक र तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने पाँचथर पावर कम्पनीको १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो । माउन्टेन हाइड्रो नेपाल र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ८ दशमलव ८७ प्रतिशत र स्वदेशी लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत घटेको छ । 

९ समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक घटेर रातो भएको छ । जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ७५ प्रतिशत घटेको छ । त्यसैगरी, अन्य समूहको परिसूचक १ दशमलव ६३ प्रतिशत, लघुवित्त समूहको १ दशमलव २ प्रतिशत, वाणिज्य बैंक समूहको १ दशमलव १७ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ९१ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ७४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ६ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ३६ प्रतिशत बढेको छ । 

प्रिमियरको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा प्रिमियर इन्स्योरेन्स अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ हजार २ सय ३२ पटकको कारोबारमा १३ करोड २ लाख ५९ हजार रुपैयाँबराबरको १ लाख ८ हजार ७ सय ३५ कित्ता सेयर खरिद–बिक्री भएको छ । कम्पनीले गत आवको मुनाफाबाट करिब ८० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेका कारण सो कम्पनीतर्फ लगानीकर्ता आकर्षित भएका हुन् । सेयर संख्याका आधारमा भने यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन २ सय ५८ पटकको कारोबारमा ४ करोड २५ लाख ६९ हजार रुपैयाँबराबरको १ लाख ५३ हजार २ सय ६४ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राइमको नाफा ३२ प्रतिशत बढ्यो
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा प्राइम कमर्सियल बैंक लिमिटेडले १ अर्ब ५४ करोड ७९ लाख खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ३६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड ८३ लाख खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७९ लाख ८८ हजार पुगेको छ । 

बैंकले तेस्रो त्रैमासको ३ महिनामा ४८ करोड ७० लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २६ दशमलव १४ प्रतिशत बढी हो । गत आवको सोही ३ महिनामा बैंकले ३८ करोड ६० लाख नाफा आर्जन गरेको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख रहेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष ४७ दशमलव ९८ प्रतिशत बढेर ४ अर्ब ६९ करोड ७६ लाख पुगेको छ । बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६८ अर्ब ६५ करोड ७८ लाख निक्षेप संकलन गरी ७२ अर्ब ८६ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ । 

बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ४८ प्रतिशत कम हो भने कर्जा ४ दशमलव १५ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४२ दशमलव १५ प्रतिशत बढेर २ अर्ब ६० करोड १५ लाख पुगेको छ । त्यसैगरी, सञ्चालन मुनाफा २८ दशमलव ६८ प्रतिशत बढेर २ अर्ब १९ करोड ९२ लाख पुगेको छ ।

एनसिसीको नाफा १ अर्ब १६ करोड
चालू आवको चैत मसान्तसम्ममा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसी)ले १ अर्ब १६ करोड ४० लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव शून्य ८ प्रतिशत बढी हो । 

गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ८८ करोड ८० लाख रहेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८३ करोड ९९ लाख पुगेको छ । चालू आवको तेस्रो त्रैमासको ३ महिना अर्थात् माघदेखि चैत मसान्तसम्ममा बैंकले ४३ करोड ५३ लाख खुद नाफा आर्जन गरेको छ । 

यो गत आवको सोही अवधिको तुलनामा १ सय ४ दशमलव ५१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले २१ करोड २८ लाख नाफा आर्जन गरेको थियो । गत आवको चैत मसान्तसम्ममा ४ अर्ब ६७ करोड ९८ लाख रहेको बैंकको चुक्ता पुँजी चालू आवको सोही अवधिसम्ममा ४९ दशमलव ९७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८५ लाख पुगेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष भने ३३ दशमलव ८१ प्रतिशत बढेर ५ अर्ब २४ करोड पुगेको छ । बैंकले सो अवधिसम्ममा ६१ अर्ब ४५ करोड ९८ लाख निक्षेप संकलन गरी ५९ अर्ब ५ करोड २५ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ३३ प्रतिशत बढी हो भने कर्जा १० दशमलव ७२ प्रतिशत बढी हो । सो अवधिसम्ममा बैंकले २ अर्ब २३ करोड ८ लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ भने १ अर्ब ६३ करोड ७४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । 

गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ५४ दशमलव ७६ प्रतिशत र सञ्चालन मुनाफा ३१ दशमलव ८० प्रतिशत बढेको हो ।