Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
भरतमोहन अधिकारी
२०७५ पौष १५ आइतबार ०८:३९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

अबको आर्थिक समृद्धि

Read Time : > 5 मिनेट
भरतमोहन अधिकारी
२०७५ पौष १५ आइतबार ०८:३९:००

देशको समग्र अर्थतन्त्रलाई हामी जता लैजान खोज्दै छौँ, यसले राज्यलाई समाजवादतर्फ लग्दैन, यसले दलाल पुँजीवाद नै ल्याउँछ

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले दुईटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा सदस्यले उठाएका विषयलाई समावेश गरी अध्यक्षद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरी पार्टीको बाँकी एकीकरण पुसभित्र पूरा गर्न कार्यदल गठन भएको छ । ढिलै भए पनि यो बैठक निकै महत्वपूर्ण रह्यो । बैठकमा साथीहरूले आफ्ना कुरा दिल खोलेर ल्याए ।

गरमागरम बहस भयो, जिम्मेवार नेताले आफूलाई लागेका कुरा भने । यो बहसले नेकपा एउटा जिउँदो पार्टी हो भन्ने देखायो । वास्तवमा बैठकमा पक्ष–विपक्षमा जे–जे कुरा उठे, त्यसले पार्टीलाई कमजोर गरेन, झन् बलियो बनायो, कार्यकर्तामा उत्साह आयो । हाम्रा कुरा मरेका छैनन्, आइराखेका छन् भन्ने भयो । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा कुरा उठिरहेको वेला पुरानो कम्युनिस्टका नाताले केही सुझाब राख्न चाहन्छु । 

१. एकीकरण प्रक्रिया टुंगो लगाउने कुरा स्वागतयोग्य छ । अब केन्द्रीय सदस्यको कार्य विभाजन पनि छिटै गर्नुपर्छ । केन्द्रीय विभाग बनाएर पार्टीका सबै अंगलाई पूरा गरी सम्पूर्ण पार्टी परिचालन हुने गरी समृद्ध नेपाल, सुखी नेपाली महान् अभियान सुरु गरौँ ।

२. अन्तरप्रदेश बैठक पनि ढिला भयो । तर, त्यो बैठकले पनि राम्रो निर्णय गरेको छ । त्यो निर्णय कार्यान्वयन गर्नुपर्छ । केन्द्र, प्रदेश, स्थानीय तीनैवटा सरकारले आपसमा छलफल र समझदारी गरेर संघीयतालाई सफल बनाउनुपर्छ । 

३. संघीयता कांग्रेससहित हामी सबै मिलेर ल्याएको हो । यसलाई सफल बनाउनु साझा कर्तव्य हो । प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्री सम्मिलित उच्चस्तरीय राजनीतिक समिति बनाएर राजनीतिक रूपमा संघीयताको विषयमा उठेका प्रश्नलाई हल गरिनुपर्छ । 

४. अहिले देशमा साढे सात सयभन्दा बढी निर्वाचित स्थानीय सरकार छन् । यो विराट् शक्ति हो । स्थानीय सरकारले कतिपय स्थानमा राम्रो पनि गरेको देखिन्छ, कतिपय तहमा बिगारेको पनि देखिन्छ । कतिपय स्थानीय सरकार अलमलमा परेको पनि देखिन्छ । स्थानीय सरकारलाई नेतृत्व आवश्यक छ । यी भनेका घरदैलोको सरकार हुन् । यिनले राम्रो काम गरेर जनताको मन जिते भने गणतन्त्र, लोकतन्त्र बलियो हुन्छ, संघीयता सफल हुन्छ र कम्युनिस्ट पार्टी पूर्ण रूपमा सफल हुन्छ । 

५. जनतामा के कारणले उत्साह, उमंग आउन सकेन भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ । प्रधानमन्त्रीले केही दिनअघि भन्नुभयो– ज्येष्ठ नागरिकको भत्ता अब बढाउँछौँ । अर्का पार्टी अध्यक्षले भत्ता थप्छौँ र यसपालिको ब्याज लगाएर थप्छौँ भन्नुभयो । त्यो राम्रो हो । यतिले मात्र पुग्दैन । जनपक्षीय आधारमा आर्थिक नीति तथा कार्यक्रम अगाडि बढ्नुपर्छ । अहिले देशको सबैभन्दा ठूलो समस्या उत्पादन बढाउनु हो ।

स्थायी समिति बैठकमा पक्ष–विपक्षमा जे–जे विषय उठे, तिनले पार्टीलाई कमजोर गरेनन्, झन् बलियो बनाए, कार्यकर्तामा उत्साह आयो । हाम्रा विचार मरेका छैनन्, आइराखेका छन् भन्ने भयो ।

धनियाँ पनि बाहिरबाट ल्याउनुपर्ने स्थिति छ देशमा । चामल बाहिरैबाट आइरहेको छ । यत्रो व्यापारघाटा छ । यो चार महिनामा साढे चार खर्बभन्दा बढी व्यापार घाटा भइसक्यो । यस हिसाबले त १५ खर्बको व्यापार घाटा हुन्छ । शोधनान्तर स्थिति घाटामा गइसक्यो । विदेशी मुद्राको सञ्चिति घटिसक्यो । अब साढे सात महिनालाई मात्र आयातलाई फाइनान्स गर्न सक्ने अवस्था छ । डलर नदिई आयात हुँदैन । यही अवस्था हुने हो भने हामी असफल राष्ट्र बन्छौँ । 

अर्कातर्फ आयात बढेर राजस्व बढ्यो । त्यसमा हामी खुसी नहोऔँ । आयात बढ्नासाथ देशभित्र उत्पादन घटिरहेको छ । कृषि उत्पादनलाई मान्छेले छोडिसके । उद्योगको उत्पादन छैन । उत्पादन नभएपछि हरेक चिज बाहिरबाट ल्याइरहेका छौँ । त्यसकारण अहिले हाम्रो ध्यान उत्पादन कसरी बढाउने भन्नेमा केन्द्रित हुनुपर्छ । 

उत्पादन बढाउन हामीले कृषिबाट सुरु गर्नुपर्छ । यद्यपि, धानबाली यसपालि राम्रो भयो । समयमा मलखाद र बिउबिजन पु-यायो होला, त्यसका लागि धन्यवाद छ । त्योभन्दा महत्वपूर्ण कुरा मौसम राम्रो भयो, समयमै पानी प-यो । जसका कारण धान उत्पादन नौ प्रतिशत बढेको छ । फेरि यो स्थिर होइन । त्यसकारण कृषि विकासको समग्र रणनीति आवश्यक छ । सरकारले भनोस्– अब हामी भू–उपयोगी नीति ल्याउँछौँ, चक्लाबन्दी गर्छौँ ।

चक्लाबन्दीको उदाहरण झापाबाट लिँदा हुन्छ । त्यहाँका किसान मिलेर सहकारीको माध्यमबाट खेती गरिरहेका छन् । त्यस्तो गर्नेलाई सरकारले बजेटमार्फत बोरिङ बनाइदिने, कृषि औजारमा भन्सार छुट दिनेजस्ता कार्यक्रम ल्याउनुपर्छ । कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्न हामीले मौलिक बाटो खोज्नुपर्छ । पाँच सय वा हजार बिघाको चक्लाबन्दी गरेर खेती अमेरिकामा होला, नेपालमा त्यो सम्भव छैन । यहाँ त १० कट्ठा, १ बिघा, डेढ बिघा चक्लाबन्दी गरेर गर्न सकिन्छ । 

साना घरेलु उद्योग पञ्चायत कालमा डेढ दुई लाख थिए । साना घरेलु उद्योगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ सोच्न आवश्यक छ । यिनले उत्पादन र निर्यात बढाउँछन् । उत्पादन गर्ने मूल ठाउँ कृषि, साना तथा घरेलु उद्योग, हस्तकला र ‘म्यानिफ्याक्चरिङ’ । पञ्चायतकालमा म्यानिफ्याक्चरिङको जिडिपीमा योगदान १०–११ प्रतिशत थियो । अहिले ५–६ प्रतिशत छ ।

मैले ०५१ सालमा २६ वटा यहाँका उद्योगलाई संरक्षण दिएको थिएँ । म्यानिफ्याक्चरिङ उद्योग नभई देशले प्रगति गर्दैन । साबुन फ्याक्ट्री, कपडा उद्योग आदिलाई सरकारले सहयोग गर्नुपर्छ । हामी लोककल्याणकारी राज्य बनाउँदै छौँ । संविधानले पनि शिक्षा, स्वास्थ्य राज्यको जिम्मेवारी भन्छ । सामाजिक सुरक्षाका अवधारणालाई बढाउँदै लैजानुपर्छ ।

ज्येष्ठ नागरिकको भत्ता बढाउने, एकल महिला, अपांगता भएका, ग्रामीण महिला, सुकुम्बासी, कमैया, गरिबीको रेखामुनि रहेकालाई राज्यले हेर्नुपर्छ । त्यसमा लगानी हुँदा पनि अन्ततः उत्पादन नै बढ्ने हो । समाजले उन्नति गर्दै जान्छ, सामाजिक सुरक्षाका अवधारणालाई फराकिलो बनाउँदै जानुपर्छ । किनकि, हामी लोककल्याणकारी, समाजवादउन्मुख राज्य हौँ । 

सहकारीलाई अगाडि नबढाई कसरी समाजवाद उन्मुख हुन्छ ? गौतम बुद्ध एयरपोर्ट, पोखरा एयरपोर्ट बन्दै छन्, त्यो खुसीको कुरा हो । योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रम आयो, त्यो पनि राम्रो छ । तर, समग्र अर्थतन्त्रको रूपरंग जो छ, जुन रूपमा अर्थतन्त्रलाई लैजान खोजिँदै छ, यसले राज्यलाई समाजवादतर्फ लाँदैन । यसले दलाल पुँजीवाद नै ल्याउँछ ।

त्यसकारण समाजवादउन्मुख हुन सहकारीलाई आबद्ध गर्नैपर्छ । आमजनताको जीवनसँग जोड्नैपर्छ । उत्पादनमा आमजनतालाई सहभागी गराउनुपर्छ । जतिसुकै गरे पनि मितव्ययी बन्न सकिएन भने समस्या आइरहन्छ । आजको दिनमा जहाँ पनि भ्रष्टाचार भइरहेको पाइन्छ । मलाई त नेपाल बिरामी छ जस्तो लाग्छ । जुन ठाउँ छाम्नुस्, शुद्ध छैन । वाइडबडीको कुरा आयो, त्यहीँ झन्झट, जे गर्नुस् त्यहीँ झन्झट ।

दुईतिहाइको नेकपा सरकारको काम नयाँ नेपाल बनाउने हो । नयाँ नेपाल बनाउन शुद्धता चाहिन्छ । प्रधानमन्त्रीले उभिएर भन्नुस् न– अबदेखि चार वर्षको मितव्ययीको ड्राइभ सुरु गरेँ । मलगायत हरेक मन्त्रीको तलब केही घटाउँछु । चार वर्षसम्म कसैको पनि तलब बढ्दैन । चार वर्षसम्म नयाँ गाडी किनिँदैन, नयाँ घर बन्दैनन् । कसैले भ्रष्टाचार गरेको देखिए तत्काल कारबाही गर्नुपर्छ । यसले प्रदेश र स्थानीय तहलाई पनि नैतिक दबाब हुन्छ ।

यसले आमजनतामा नयाँ जागरण ल्याउँछ । अबका दिनमा तीन–चार प्रतिशत आर्थिक वृद्धिदरले मात्र हुँदैन । हाम्रो जस्तो देशमा विकासलाई तीव्रता दिने हो भने जनतामा उत्साह चाहिन्छ । ०५१ सालमा मैले आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम सुरु गरेँ । जम्मा तीन लाख दिँदा गाउँका जनताले १५ लाखको काम गरे । जनतालाई के विश्वास भयो भने सरकारले इमानदारीपूर्वक काम गरिरहेको छ । स्थानीय सरकारलाई स्रोतसाधन दिनुहोस् । उनीहरूले जनताका सरोकारका काम तुरुन्त गर्न सकून् । आमजनताले अनुभूति गरून्, परिवर्तन त भयो है ।

लगानी नबढाई उत्पादन बढ्दैन । लगानी राज्यले गर्छ । ६० प्रतिशतभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च नगर्ने नीति राज्यले लिनुपर्छ । सरकारले पनि उत्पादनमा पैसा लगाउँछ भन्नुस् । निजी क्षेत्र, सहकारी र विदेशी सहायतालाई परिचालन गर्नुपर्छ । विदेशी सहायतालाई ठूलो पूर्वाधारमा लगाउनुपर्छ ।

चीनको पैसाले काठमाडौँमा रेल ल्याउन लगाउनुहोस् । भारतको पैसाले रक्सोलबाट काठमाडौंसम्म रेल ल्याउन लगाउनुस् । खनिज उत्खनन होस्, बाटो आओस्, हाइड्रोपावर आओस्, पर्यटनमा आओस् । विदेशी लगानी एनसेलको जस्तो होइन । एनसेलले ३५–४० करोड ल्याएर सुरु ग¥यो । ३५–४० अर्ब त लगिसक्यो । त्यो काम त सरकार आफैँले गर्नुपर्छ ।

सरकारले चैतमा लगानी सम्मेलन गर्न खोजेको छ । सम्मेलन गरेर लगानी बढाउने कुरा राम्रै हो । पहिले पनि दुई वर्षअघि लगानी सम्मेलन भयो । त्यहाँ केही प्रतिबद्धता थियो, त्यसअनुसार पैसा आएन । अहिले विदेशी लगानी पोहोरभन्दा घटिरहेको छ । लगानी सम्मेलनले हामीले अपेक्षा गरेअनुसारको लगानी आएन भने उल्टो असर पर्छ । यसमा प्रधानमन्त्रीले विचार पु-याउनुपर्छ ।

बरु ५–६ महिना ढिला गरेर भए पनि पर्याप्त तयारी गरेर सम्मेलन आयोजना गर्ने हो कि ? पहिला सन्देश जानुपर्छ– अब देशमा विकास हुन्छ है, जनतामा लहर आयो, सुशासन छ, भ्रष्टाचार छैन, काम फटाफट भइरहेको छ । लगानी सम्मेलन गरियो, तर लगानी आएन भने फ्लप हुन्छ । त्यसले उल्टो असर गर्छ । जनतामा थप निराशा ल्याउँछ ।