बिपी–पुष्पलाल चार वार्ता

२०७६ जेठ १८ शनिबार ०९:२३:००

राजा महेन्द्रले ०१७ पुस १ गते राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि कम्युनिस्ट र कांग्रेसका केही नेता जेल परे, केही भारत पसे । निर्वासित नेताहरूले भारतबाटै आन्दोलन अघि बढाएका थिए । कम्युनिस्ट पार्टीले कांग्रेससँग वार्ता गरेर संयुक्त रूपमा आन्दोलन अघि बढाउने निष्कर्ष निकाल्यो । त्यसपछि पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद कोइरालाबीच वार्ता भयो । पुष्पलाल–बिपीका प्रत्येक वार्तामा आफू पनि सहभागी रहेको दाबी पुराना कम्युनिस्ट नेता केशरमणि पोखरेलको छ । उनै नेता पोखरेलले बिपी–पुष्पलालका विभिन्न चरणको स्मरण नयाँ पत्रिकाका प्रेम गौतमसँग गरेका छन् ।

चरणबद्ध वार्ता
००७ सालको क्रान्ति सम्झौतामा टुंगियो । त्यसले ठोस उपलब्धि प्राप्त गर्न सकेन । मुक्ति सेना र रक्षा दलमा पनि विद्रोह भयो । राजाले त्यसलाई शान्त पार्न संविधानसभाको घोषणा गरे । शासनसत्ताबाट विस्थापित राणाहरूले राजालाई सहयोग गर्न थाले भने शासनसत्तामा भाग नपाएकाहरूले कांग्रेसलाई । दरबार संविधानसभाको चुनाव नै नगराउनेतिर गयो । कम्युनिस्ट र कांग्रेसको दबाबका कारण राजाले संविधान जारी गरे । चुनावको घोषणा पनि गरे । तर, संविधानमा सम्पूर्ण अधिकार राजाले आफूमा राखे ।

०१५ सालमा चुनाव भयो । अस्थिरताबाट आजित भएका जनता स्थिरता चाहन्थे । जनताले कांग्रेसलाई छाने । कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । राजालाई त्यो सह्य भएन । १८ महिनामै सम्पूर्ण पार्टीमाथि प्रतिबन्ध लगाउँदै नेता र कार्यकर्तालाई जेल हाले । कोही नेता तथा कार्यकर्ता भूमिगत भए, भारत पुगे । पञ्चायती व्यवस्थाविरुद्ध ३० वर्षसम्म कम्युनिस्ट र कांग्रेसले निरन्तर आन्दोलन गर्नुपर्‍यो ।

त्यसक्रममा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेस (तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस) का संस्थापक सभापति बिपीबीच भारतमा निर्वासनकै वेला चरणबद्ध वार्ता भए । प्रायः वार्तामा कम्युनिस्टबाट पुष्पलालसहित हिक्मत सिंह र म तथा कांग्रेसबाट बिपीसहित गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सहभागी हुन्थ्यौँ । आन्दोलनका विषयमा पुष्पलाप र बिपी एक्लाएक्लै पनि वार्ता हुन्थ्यो । प्रायः वार्तामा म पनि सहभागी भएँ । बिपीसँगको पहिलो वार्ताको वातावरण बनाउन पुष्पलालले मलाई पठाउनुभएको थियो ।

वार्ताका आधार
०१९ सालमा भएको तेस्रो महाधिवेशनद्वारा गठित केन्द्रीय कार्यसमिति विवादका कारणले निष्क्रिय रह्यो । त्यसपछि पुष्पलालको अगुवाइमा केन्द्रीय समिति निर्माण गर्दै सम्मेलन आयोजना भयो । सम्मेलनले पुष्पलालद्वारा प्रस्तुत गरिएको पार्टी सिंहावलोकन दस्ताबेजलाई मस्यौदाका रूपमा पारित गर्‍यो । ०२५ साल जेठको ३–४ र ५ गते कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलनले बेग्लै पार्टीको घोषणा गर्‍यो र महामन्त्रीमा पुष्पलाल चुनिनुभयो । म पोलिटब्युरो सदस्य बनेँ । सम्मेलनले आन्दोलनलाई सशक्त पार्न कांग्रेससँग वार्ता गर्ने निष्कर्ष निकाल्यो ।

पुष्पलालले बिपीसँग भेटेर पार्टीको कुरा राख्नुहोस् भनेर मलाई पठाउनुभयो । म बिपीनिवास पुगेँ । बिपी र पुष्पलालबीच फोन कुराकानी भइसकेको रहेछ । बिपीले आफूलाई सबै कुरा जानकारी भएको बताउँदै मलाई माथि लिएर माथि जानुभयो । उहाँलाई मैले सोधेँ–तपाईंको दर्शन त फ्रान्स र जर्मनको–सोसल डेमोक्रेसी हो । फ्रान्सेली क्रान्तिले पिक्चर दियो– राजतन्त्र ढल्दै गए । युरोपभरि त्यसको प्रभाव पर्‍यो ।  त्यसले दर्शन, विचार र व्यवहार दियो । राजाले त नेपालको प्रजातन्त्रलाई मास्ने काम गरे । तपाईंंलाई राजाले जहिल्यै धोका दिए । तपाईं डेमोक्रेसीको आइडल लिडर । देश चलाउने नै आइडोलोजिकल लिडरले हो । तर, तपाईंं किन जहिल्यै राजासहितको प्रजातन्त्र भन्नुहुन्छ ?

बिपीले भन्नुभयो, ‘अहिले राजतन्त्र हटाउने वेला भएको छैन ।’ उहाँसँग विविध विषयमा कुराकानी भए । भोलिपल्ट साँझ वार्ताका लागि पुष्पलाललाई निम्तो दिनुभयो । मलाई पनि सँगै आउन भन्नुभयो । बिपीसँग भएका कुराकानीबारे पुष्पलाललाई ब्रिफिङ गरेँ ।

बिपीले भन्नुभयो, ‘होइन, अहिले त्यस्तो (राजतन्त्र हटाउने) वेला भएको छैन ।’ उहाँसँग विविध विषयमा कुराकानी भए । भोलिपल्ट साँझ वार्ताका लागि पुष्पलाललाई निम्तो दिनुभयो । मलाई पनि सँगै आउन भन्नुभयो ।  बिपीसँग भएका कुराकानीबारे पुष्पलाललाई ब्रिफिङ गरेँ ।

वार्ता १
बिपीको निम्तोअनुसार पुष्पलाल र म कुशीनगर गयौँ । पहिलो वार्तामा बिपी, पुष्पलाल, सुशील र म मात्र थियौँ । वार्तामा आन्दोलनका विषयमा बिपी र पुष्पलालले सामान्य कुराकानी गर्नुभयो ।

बिपीः पुष्पलालजी मेरो राजनीतिक कार्यक्रममा तपाईंं हस्ताक्षर गर्नुस्, तपाईंको आर्थिक कार्यक्रममा मैले हस्ताक्षर गर्छु ।

पुष्पलालः म त आफ्नो पार्टीको सम्मेलनबाट म्यान्डेट लिएर तपाईंसँग कुरा गर्न आएको छु । म चाहन्छु तपाईं हामी एक भएर जानुपर्छ । जनआन्दोलनमा लाग्नुपर्छ । त्यो म्यान्डेट बोकेर म आएको छु । तपाईंको राजनीतिक कार्यक्रम के हो ?

बिपीः प्रजातन्त्रको पुनस्र्थापना ।

पुष्पलालः मैले पनि त त्यही एजेन्डा बोकेर आएको छु । एउटै एजेन्डा भएपछि तपाईं र हामी मिलेर आन्दोलनमा लाग्ने कि नलाग्ने ? म चाहन्छु तपाईं हामी एक भएर हिँड्नुपर्छ ।  

बिपीः ठीक छ, घोषणा गरेरै जानलाई अहिले मलाई अलि कठिनाइ छ । अन्तर्राष्ट्रिय परिस्थितिले मलाई दिन्न । तपाईंले कम्युनिस्ट जगत्लाई हाम्रो आन्दोलनप्रति पोजेटिभ हुने वातावरण बनाइदिनुस् । हाम्रो खुला सपोर्टमा त कुनै पनि देश अहिले बोल्दैनन् । तर, नैतिक बल दिन्छन् । विशेषगरी चीनको नैतिक समर्थन पाउने वातावरणका लागि तपाईंले भूमिका खेल्नुप¥यो ।

पुष्पलालः ठीक छ, म सिरियस्ली लिन्छु ।

बिपीः तपाईंले भनेअनुसार नै म जान्छु तर अहिले घोषणाचाहिँ नगरौँ । घोषणा गर्दा मलाई प्रहार हुन्छ फेरि । बरु, कार्यकर्ताको बीचमा जिल्ला–जिल्लामा मेलमिलाप गराइदिऊँ, एकले अर्काको खेदो खन्ने काम बन्द गरौँ । तपाईंसँग भेट्न आउने कम्युनिस्ट साथीहरूलाई मसँग पनि भेट्न पठाइदिनुस, मसँग भेट्न आउने कांग्रेस कार्यकर्तालाई पनि म तपाईंसँग भेट्न पठाइदिन्छु । त्यसपछि दोस्रो चरणमा जिल्ला जिल्लामा कम्युनिस्ट–कांग्रेसको संयुक्त बैठक गराऔँ । सम्भव हुन्न भने भारतमै बोलाएर गराऔँ ।

पुष्पलालः म त एग्री छु ।

बिपीः तर, एउटा अनुरोध छ तपाईंलाई । आन्दोलनमा जाने अनि मेरो पिठ्युँमा छुराचाहिँ नहान्नुहोला ।  

पुष्पलालः होइन, तपाईं र मेरोबीच क्राइसिस अफ कन्फिडेन्ट हुनुहुँदैन । तपाईंले पनि मलाई धोका दिनुहुँदैन, मैले पनि तपाईंलाई धोका दिनुहुँदैन । पहिलो वार्तामा राष्ट्रिय र अन्तर्राष्ट्रिय विविध विषयका कुराकानी भए । बिपीले ‘आजै सबै कुरा टुंगो नलगाऊ गणेशमानजीलाई आउन दिऔँ । एक हप्तापछि फेरि बसौँला । म ठाउँ तय गरेर तपाईंलाई खबर गर्छु,’ भन्नुभयो।

वार्ता २
गणेशमानसहितको वार्ता पहिलो वार्ता भएको १५ दिनपछि गदौलीमा भयो । दोस्रो वार्तामा कम्युनिस्ट पार्टीको तर्फबाट पुष्पलाल, हिक्मत सिंह र म थियौँ भने कांग्रेसबाट बिपी, गणेशमान र गिरिजा हुनुहुन्थ्यो । त्यो वार्ताले एकअर्काप्रति नरम भएर जानुपर्छ भन्ने रेखा को¥यो । गणेशमानजी मोर्चै बनाएर जान पनि तयार हुनुहुन्थ्यो । तर, बिपी भने खुला रूपमा जाँदा अन्तर्राष्ट्रिय रूपमा समस्या पर्छ भन्ने अडानमा रहनुभयो । दोस्रो वार्तामा खासै धेरै छलफल भएन  

वार्ता ३
तेस्रो वार्ता हाम्रो पार्टीको अफिस बनारसमा भयो । बिपी, गणेशमानसहितका कांग्रेस नेताहरू हुनुहुन्थ्यो । गणेशमान र गंगालाल साथी हुनुहुँदोरहेछ । गणेशमानले पुष्पलाललाई भाइजस्तो व्यवहार गर्नुभयो । वार्ताका क्रममा गणेशमानले भन्नुभयो– माहिँला (पुष्पलाल)  बिपीलाई म मनाउँछु, चिन्ता नगर । तिम्रो दाइ र म सँगै लडेका हौँ । गंगालाल सहिद भयो, म बाँचेँ, त्यही मात्र फरक हो । हाम्रो सहयोगमा तिमी हिँडेका हौँ । मलाई अहिले पनि झलझली आँखामा आइरहेको छ । अब पनि हामी सँगै लड्नुपर्छ ।

वार्ता ४
चौथो वार्ताले संयुक्त आन्दोलनमा जानुपर्छ भन्ने निष्कर्ष निकाल्यो । तर, खुला रूपमा मोर्चाबन्दी गरेर जानुहुँदैन भन्ने बिपीको धारणाका कारण तत्काल कार्यान्वयनमा आएन ।  

पुष्पलालको चिन्ता
पुष्पलाल १ पुसदेखि ६ महिना नेपालमै भूमिगत बस्नुभयो । देशबारे उहाँ सधैँ चिन्तित हुनुहुन्थ्यो । वर्गीय राजनीतिक अवस्थाका कारण नेपालमा संयुक्त जनआन्दोलनको विकल्प नभएको निष्कर्ष उहाँको थियो । उहाँ आदर्शवादीका साथै यथार्थवादी पनि हुनुहुन्थ्यो । पुष्पलाललाई महासचिवबाट हटाएपछि नै पार्टी राजावादी लाइनमा गयो । हटाउनै परे पनि अधिवेशनबाट हटाउनुपथ्र्यो, पोलिटब्युरो बैठकबाट हटाइएको थियो । पुष्पलाललाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाउने काम भयो । केन्द्रीय कमिटीले केशरजंग रायमाझी महासचिव बनायो । राजनीतिक चेतनाको कमीले गर्दा जसको नीति, उसको नेतृत्व स्थापित भएन । रायमाझी राजावादी लाइनमा लागेपछि पार्टीमा विभाजन आयो । पुष्पलाल, तुलसीलाल, मोहनविक्रम, मनमोहन (जेलमा), कमलराज रेग्मी (जेलमा) एकातिर, रायमाझी, विष्णुबहादुर मानन्धरलगायत अर्कोतिर हुने स्थिति आयो ।

राजनीतिमा विचारले नेतृत्व गर्ने हो । तर, नारायणमान बिजुक्छे भने महाधिवेशनको वैधानिकतामा प्रश्न उठाउँदै सहभागी हुनुभएन । उहाँ पहिला पुष्पलालसँगै हुनुहुन्थ्यो, बीचमा रायमाझीतिर लाग्नुभयो । बीचमा मैले नै पहल गरेर बिजुक्छेलाई पुष्पलालसँग भेट गराएँ । उहाँहरूबीचको कुराकानीपछि ०१८ सालमा भएको चौथो सम्मेलनमा बिजुक्छे पनि सहभागी हुनुभयो । सम्मेलनले बिजुक्छेलाई केन्द्रीय कमिटीमा ल्यायो । केन्द्रीय कमिटीले पोलिटब्युरोमा छान्यो । पछि त उहाँ नेपाल मजदुर किसान पार्टी गठन गरेर अगाडि बढ्नुभयो ।

पोखरेल, कम्युनिस्ट नेता हुन्