दाङ, घोराही–१७ का एक २२ वर्षीय युवकमाथि प्रहरीले जबर्जस्ती करणीको मुद्दा चलाएको छ । उनले स्थानीय १५ वर्षीया किशोरीलाई केही महिनाअघि फकाइफुल्याई बालविवाह गरी आफ्नो घर लगेका थिए । उजुरीपछि प्रहरीले दुवैलाई सम्झाएर किशोरीलाई परिवारको जिम्मा लगाएको थियो । तर, ती युवाले किशोरीलाई फेरि भगाएपछि प्रहरीले अहिले जबर्जस्ती करणीको मुद्दा चलाएको दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । ‘परिवारको उजुरीपछि नाबालकसँग विवाह र शारीरिक सम्बन्ध राखेकोमा युवकविरुद्ध मुद्दा चलेको हो,’ उनले भने ।
यो घटनाले कक्षा ९ मा पढ्ने ती किशोरीको पढाइसमेत रोकिएको छ । पहिलोपटक घर फिर्ता आएपछि उनी स्कुल जान तयार भएकी थिइन् । तर, दोस्रोपटक लज्जाका कारण उनी स्कुल जान नमानेको प्रहरीको भनाइ छ । गुल्मीका एक ३१ वर्षीय युवाले प्युठानकी १७ वर्षीया किशोरीलाई भगाए । परिवारले उजुरी दिएपछि अहिले ती युवकविरुद्ध बालविवाहको मुद्दा चलेको जिल्ला प्रहरी कार्यालय प्युठानका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक बुद्धि रानाले बताए ।
प्युठानकै २० वर्षीय युवक र एक १३ वर्षीया बालिकाले पनि आफूखुसी विवाह गरे । परिवारको उजुरीपछि अहिले बालविवाहको मुद्दा चलेको छ । यी प्रतिनिधि घटना मात्रै हुन् । रुपन्देही र वरिपरिका जिल्लामा अझै ठूलो संख्यामा बालविवाह हुने गरेको छ । यसले उमेरै नपुगी गर्भवती हुनेहरूको संख्या पनि बढेको छ । यसबाट एकातिर स्वास्थ्यमा जोखिम बढेको छ भने अर्कोतिर किशोरीहरूको शिक्षा रोकिएको छ । यसले भविष्यमा उनीहरूले प्राप्त गर्ने शैक्षिक र आर्थिक सफलताको सम्भावनालाई पनि घटाएको छ ।
रुपन्देहीमा क्रियाशील सिद्धार्थ सामुदायिक समाजले जिल्लाका ग्रामीण क्षेत्रमा गरेको अध्ययनमा बालविवाहको अवस्था निकै डरलाग्दो रहेको तथ्य पत्ता लागेको हो । रुपन्देहीको ओमसतिया, कोटहीमाई, मर्चवारी, समरीमाई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न टोलमा उमेर नपुगी विवाह गरेका एक हजार एक सय ३० जना किशोरकिशोरीका बीचमा यो अध्ययन गरिएको थियो । तीमध्ये ५० जनाले १४ वर्ष ननाघी विवाह गरेको पाइएको छ । समाजकी अध्यक्ष समिता मल्लका अनुसार १४ वर्षभित्र विवाह गर्ने ५० जनामध्ये अधिकांश किशोरी छन् । त्यस्तै, पाँच सय ४१ जना किशोरकिशोरीले १५ देखि १७ वर्षभित्र विवाह गरेका छन् । १८ देखि १९ वर्षको उमेरमा विवाह गर्ने पाँच सय ३९ जना छन् ।
विवाहपछि ८० प्रतिशतले छाड्छन् विद्यालय
बालविवाहका कारण विद्यालय छाड्नेहरूको संख्या पनि निकै ठूलो छ । उमेर नपुगी विवाह गरेका एक हजार एक सय ३० मध्ये विवाहपछि नौ सय १४ अर्थात् ८० प्रतिशतभन्दा बढीले विद्यालय छाडेका छन् । त्यसो त अझै अभिभावकमा छोरीलाई शिक्षा कि दाइजो भन्ने अलमलमा देखिन्छन् । पढाएर विवाह गरिदिँदा पनि दाइजो दिनुपर्ने बाध्यता रहेको गुनासो गर्छन् । यी ११ सय ३० जना किशोरकिशोरीका अभिभावकमध्ये नौ सय ८९ जनाका अभिभावक छोराछोरीले शिक्षालाई निरन्तरता दिऊन् भन्ने चाहना राख्छन् । बाँकी एक सय ४१ जना अभिभावक शिक्षा दिए पनि दाइजो दिनुपर्ने बाध्यता रहेको बताउँछन् ।
कारबाही हुन्छ भन्ने थाहा हुँदाहुँदै बालविवाह
कानुनले बालविवाहलाई अवैध घोषणा गरेको छ । बालविवाहको मुद्दामा तीन वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, कानुनको डरले मात्रै बालविवाहलाई नरोक्ने यो अध्ययनले बताउँछ । यी ११ सय ३० जनामध्ये चार सय ३९ जनाले कारबाही हुन्छ भन्ने थाहा हुँदाहुँदै विवाह गरेको बताएका छन् ।
प्रदेशमा बालविवाहका ३८ मुद्दा
५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका अनुसार गत र चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा प्रदेशमा ३८ वटा बालविवाहका मुद्दा परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी प्युठानमा बालविवाहको मुद्दा परेको छ । प्युठानमा गत आर्थिक वर्षमा १२ वटा बालविवाह मुद्दा परेको थियो भने यस वर्ष वैशाख मसान्तसम्म ६ वटा उजुरी परेका छन् । दाङमा यस आर्थिक वर्षमा परेका बालविवाहका उजुरीमध्ये एउटामा जबर्जस्ती करणीमा मुद्दा अगाडि बढाइएको छ भने सातवटा बालविवाहका मुद्दा चलाइएको छ । एसपी पाण्डेका अनुसार मुद्दा परेका विवाह गर्नेमा पुरुष १९ देखि ३७ वर्षबीचका छन् भने महिला १३ वर्षदेखि १७ वर्षसम्मका छन् । त्यस्तै, चालू आर्थिक वर्षमा बाँकेमा चार र रुपन्देहीमा एउटा बालविवाहको मुद्दा परेको छ । गतवर्ष बाँकेमा दुई, रोल्पामा एक तथा गुल्मीमा दुईवटा उजुरी परेका थिए ।
प्रदेश ५ मा १३ प्रतिशत महिला १९ वर्ष नपुग्दै गर्भवती
जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार यस प्रदेशमा १५ देखि १९ वर्षको उमेरमा नै बच्चा जन्माइसकेका वा पहिलोपटक गर्भवती हुने महिलाको संख्या १३ दशमलव ४ प्रतिशत छ । प्रदेश योजना आयोगले हालै प्रकाशित गरेको प्रदेश ५ को प्रथम आवधिक योजनाको आधारपत्रमा उल्लेख भएअनुसार यस प्रदेशमा विवाह गर्दाको सरदर उमेर महिलाको १८ दशमलव १ वर्ष रहेको छ । कम उमेरमै गर्भवती हुने र बच्चा जन्माउनाले करिब १३ प्रतिशत बच्चाको तौल कम रहेको तथ्यांक छ । त्यस्तै, नवजात शिशु मृत्युदर पनि उच्च छ । दक्ष जनशक्तिबाट सुत्केरी गराउने महिलाहरूको संख्या ५६ दशमलव ६ प्रतिशत छ, जुन सातै प्रदेशभन्दा तेस्रो कम दर हो । त्यस्तै, प्रदेशमा परिवार नियोजनका साधन प्रयोग गर्ने महिला ४८ प्रतिशत मात्रै छन् । जबकि, देशभर औसत ५२ दशमलव ६ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्छन् ।
किशोरीको स्वास्थ्य जोखिममा छ : डा. शकुन्तला गुप्ता, प्रसूति सेवा विभाग,
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
अस्पतालमा आउने गर्भवतीमध्ये केही कम उमेरका छन् । जसलाई आफू कसरी गर्भवती भएँ, के भएको छ भन्नेबारे थाहै हुँदैन । बालविवाह र कम उमेर शारीरिक संसर्गका कारण १३ वर्षकै उमेरमा गर्भपतन गराउन आउँछन् । कतिपय दोहोर्याएर पनि गर्भपतन गराउन बाध्य छन् । १६ वर्षमै किशोरीहरू बच्चासमेत जन्माइरहेका छन् । कम उमेरमा बच्चा जन्माउँदा शिशु तथा आमाको स्वास्थ्यमा असर पर्छ । स्वस्थ बच्चा जन्माउन नसक्ने तथा बच्चा जन्माउँदा अप्रेसन गर्नुपर्ने अवस्था आउँछ । यसले गर्दा विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्छन् । त्यस्तै, पटक–पटक गर्भपतन गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ ।
समाजमा प्रजनन् स्वास्थ्यसम्बन्धी शिक्षा अत्यन्त कम छ । यसले गर्दा कम उमेरमै विवाह गर्ने, शारीरिक सम्पर्क राख्ने, गर्भवती हुने र गर्भपतन गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । त्यसैले, यसबारे व्यापक शिक्षा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।