मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश सापकोटा
२०७५ मङ्सिर २९ शनिबार ०६:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

६ वर्षपछि आज कांग्रेस महासमिति बैठक

Read Time : > 2 मिनेट
रमेश सापकोटा
२०७५ मङ्सिर २९ शनिबार ०६:२४:००

कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज (शनिबार) सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो ।  

नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ । महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ । महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ । 

स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा पराजय व्यहोरेपछि हुन लागेकाले यो महासमिति बैठकलाई कांग्रेस वृत्तले महत्वसाथ हेरेको छ । पार्टीलाई राजनीतिक उचाइ दिने गरी नीति, कार्यक्रम र संगठन बनाउनुपर्ने दबाब बैठकमा उठ्ने नेताहरूले बताएका छन् । 

 चुनावी नतिजाले माग ग-यो महासमिति 
स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कमजोर नतिजा आएपछि कांग्रेसमा महासमिति बैठक गरेर पुनर्जीवन दिनुपर्ने माग उठ्यो । निर्वाचन समीक्षा बैठकले मात्रै नपुग्ने भन्दै पार्टी सञ्चालनको स्वरूप र शैली परिवर्तन गर्न नयाँ कार्ययोजनाको माग भएको थियो । साथै, संघीय संरचनाअनुसार पार्टीका संरचना बदल्न, दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी मिलेपछि उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउनुपर्ने दबाब आयो । केन्द्रीय सदस्यहरूको यस्तो दबाबले महासमिति बैठकसम्म कांग्रेसलाई पु-यायो । सुरुमा भदौमा गर्ने भनिए पनि मंसिर अन्तिम साताका लागि सारिएको थियो । 

संघीय संरचनामा बदलिँदै कांग्रेस
देश संघीयतामा गएको तीन वर्ष बितिसके पनि कांग्रेसले बल्ल पार्टीलाई संघीय संरचनामा बदल्दै छ । यसअघि पार्टीका ५ वटा तह रहेकोमा अब टोल समिति, प्रादेशिक निर्वाचन क्षेत्रको समिति र प्रदेश समिति गरी तीनवटा तह थप गरिएका छन् । यसअघि वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला, केन्द्र गरी पाँच तह थिए । 

 यस्तो छ कार्यतालिका
शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको रजिस्ट्रेसन एवं स्वागतपछि शनिबार ११ बजे सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् । पुस १ देखि ३ सम्म बन्दसत्रमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव गरेर बैठक सकाउने तालिका छ । उद्घाटन कार्यक्रम दुई घन्टा १५ मिनेटमा सकाउने र त्यसको केहीबेरपछि बन्दसत्र सुरु हुने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । 

झन्डै १६ सय प्रतिनिधि
महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५–५ जनाका दरले एक हजार दुई सय सहभागी हुनेछन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरू, १२औँ महाधिवेशनका केन्द्रीय सदस्यहरू रहनेछन् । यस्तै, भ्रातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ९७–९७ जनाको सहभागिता रहनेछ । महासमिति सदस्य हुन नसकेका २९ जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् । पार्टी एकता गरेको तत्कालीन लोकतान्त्रिक फोरमबाट पनि प्रतिनिधि सहभागी हुनेछन् । 

बन्दसत्रमा सात समूहमा छलफल
उद्घाटनपछि शनिबार नै सुरु हुने बन्दसत्रमा विधानमा पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । सात प्रदेशका सात समूह बनाएर छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘सबैलाई हलमा बोल्न दिँदा बैठक लम्बिन्छ, यसकारण सात प्रदेशको सात समूह बनाएर बन्दसत्रमा छलफल गर्दै छौँ,’ शर्माले भने, ‘बैठकमा प्रस्तुत भएका विषयमाथि प्रदेशगत रूपमा गरिने छलफल झन् प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।’

 बिहानको खाजा र खाना मात्रै पार्टीको
कांंग्रेसले एक करोड खर्चमा महासमिति बैठक सकाउने अनुमान गरेको छ । बिहान ८ बजे खाजा र दिउँसो खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ । तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैँ गर्नुपर्छ । बिहान खाजाको मेनुमा चिया र बिस्कुट राखिएको छ । 

 अलमलमा महसमिति सदस्य
शुक्रबार केन्द्रीय कार्यालय सानेपामा महासमिति सदस्यले हजार रुपैयाँ शुल्क तिरेर रजिस्ट्रेसन गराए । तर, विधान र राजनीतिक प्रस्तावको विषय मध्यरातसम्म पनि नटुंगिँदा उनीहरू अलमलमा थिए । सदस्यहरूलाई महासमितिमा प्रस्तुत हुने प्रस्तावको प्रतिसहितको झोला दिने तयारी थियो । तर, राजनीतिक प्रस्ताव र विधानको विषयको टुंगो केन्द्रीय समितिबाट लागेको थिएन । मुख्य प्रस्ताव नै नटुंगिएपछि उनीहरूलाई झोला मात्रै वितरण गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । 

 विधानको सकस कायमै 
शुक्रबार दिउँसोदेखि सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत नेताहरू अनौपचारिक छलफलमा जुटे । विधानमा पदाधिकारी बढाउनेसहितका विषयमा छलफल केन्द्रित भए पनि सहमति जुट्न सकेन । राति ८ बजेपछि केन्द्रीय समिति बैठक बस्यो । राजनीतिक प्रस्तावमा सबैको भावना समेट्ने, विधानका असहमतिमा शनिबार उद्घाटनपछि छलफल गर्ने र तत्कालीन फोरम लोकतान्त्रिकबाट आएकाको महासमितिमा सदस्यता टुंग्याउने सहमति बैठकले ग-यो । 

महासमितिमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन केन्द्रीय समितिबाट पास भएको छ । तर, राजनीतिक प्रस्तावमा सबैको भावनालाई समेट्ने प्रतिबद्धता आएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । 

गच्छदार पक्षका दुई सय महासमिति सदस्य र डेढ सय पर्यवेक्षक बनाउने निर्णय केन्द्रीय समितिले गरेको छ । गच्छदारले पाँच सय प्रतिनिधि मागेका थिए । 

 धर्ममा थप व्याख्या
राजनीतिक प्रस्तावमा धर्मनिरपेक्षता शब्द मात्रै भएकोमा असन्तुष्टि आएपछि यसमा थप प्रस्टीकरण थपिएको छ । संविधानमा धर्मनिरपेक्षताको व्याख्या गरेअनुसार नै राखिएको केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बताए । धर्म परिवर्तन गरिए दण्डनीय हुने विषय पनि राजनीतिक प्रस्तावमा समेटिएको छ । 

कहिले कहाँ भए महासमिति बैठक ?

-००९ भदौ– काठमाडौं 

-०१०– नेपालगन्ज

-०१४ माघ– वीरगन्ज

- ०४९ माघ– नारायणगढ 

-०५१ फागुन– पोखरा

-०५४ कात्तिक– नेपालगन्ज

-०६४ असोज– ललितपुर 

- ०६६ कात्तिक– काठमाडौं

-०६९ चैत– नवलपरासी