काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिगको १९औँ खेलमा लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.२ ओभरमा अलआउट हुँदा मात्र १०३ रन बनाउन सक्यो।
काठमाडौंका लागि तेस्रो नम्बर क्रिजमा पुगेका भीम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाए। २७ वर्षीय इंग्लिस खेलाडी डानियल एलेक्जान्डर डाउथवेटले २१ रन बनाएका थिए। यसबाहेक प्रतीक श्रेष्ठले १४ बलमा ३० र अफगानिस्तानका युवा ब्याटर स्टेफन इस्किनाजीले १३ रनको योगदान गरे।
ओपनर माइकल लेभिट दुई बल खेलेर डकआउट भएपछि काठमाडौं दबाबमा आएको थियो । त्यसपछि जेहार्ड इरास्मस एक, सुमित महर्जन चार, रसिद खान एक, कप्तान करण केसी एक रन, शाहव आलम आठ रन बनाएर आउट भएका थिए ।
लुम्बिनीका लागि साद विन जफरले तीन तथा रेमन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट हात पारे । सूर्य तामाङ र विवेक यादवले समान एक विकेट लिए।
प्लेअफ पुग्ने सम्भावना निकै कमजोर बनेको लुम्बिनी लगातार दोस्रो जितको खोजीमा छ । पछिल्लो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो। त्यसअघि लगातार विराटनगरसँग दुई विकेट, पोखरा १० विकेट, सुदूरपश्चिमविरुद्ध ४५ रन र जनकपुरविरुद्ध एक रनले पराजित भएको थियो।
चौथो खेल खेलिरहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । उसले कर्णालीलाई तीन विकेटले हराउँदा चितवनसँग पाँच विकेट र सुदूरपश्चिमविरुद्ध ७३ रनको हार व्यहोरेको थियो।
आज नै भएको पहिलो खेलमा सुदूरपश्चिमले जनकपुर रोयल्सलाई ७२ रनले हरायो।