सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ०७९ भदौ ६ गते गजेन्द्र-नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबिच भ्याटबाहेक रु. २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ ।
०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका- १, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो ।
अहिले सडक फराकिलाे पार्ने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भइरहेको र दैनिक ४० जनाले काम गरिरहेका सडक कार्यालयका इन्जिनियर अरुण सेढाईंले जानकारी दिए । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किलाेमिटर आरसिसी ढलान गर्ने उनको भनाइ छ । ‘अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ, ठेक्का अवधि सकिन चार महिना मात्र बाँकी छ, समयमा नै बजेट प्राप्त भए पुसमा ग्राभेल गर्ने, माघमा बेस बिछ्याउने र फागुनदेखि कालोपत्रको काम गर्ने योजना हो,’ सेढाईंले भने ।
घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भइरहेको सेढाईंले बताए । संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्त्वको सडक आयोजना सञ्चालन गर्न रु. ४०–४० करोड विनियोजन गरेको थियो । भकुन्डे तथा उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ । पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी– ३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।
संघीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलाेमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।