मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २६ बुधबार १४:o३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन : उदीपुर–मार्कीचोक–भरतपुरखण्ड निर्माणले गति लियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार १४:o३:oo

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारणलाइन निर्माणले गति लिएको छ।

मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा निर्माण भएका एवं निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारणलाइन खण्डको सबकन्ट्रयाक लिएर निर्माण अगाडि बढाइएका छन्। उक्त खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

उदीपुर–मार्कीचोक–भरतपुर प्रसारणलाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सबकन्ट्रयाक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैँ सबकन्ट्रयाक लिएर निर्माण अगाडि बढाएका हुन्। यसमा मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरुका सहायक खोलामा जलविद्युत् निर्माण गरी सञ्चालनमा रहेका सात र  निर्माणाधीन सात गरी १४ जलविद्युत् आयोजनाको सहभागिता छ। उदीपुर–मार्कीचोक–भरतपुर प्रसारणलाइन खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त नदी र खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको वर्षायामको विद्युत् पूर्णरूपमा राष्ट्रिय प्रसारणलाइनमा प्रवाह हुने अवस्था छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार तनहुँ र चितवनमा निर्माण भइरहेको प्रसारणलाइनको अनुगमन गरी आगामी जेठभित्र काम सम्पन्न गर्न संस्थाका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने बताए। घिसिङले मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा वर्षायाममा उत्पादित विद्युत् प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारणलाइन खण्ड महत्त्वपूर्ण रहेकाले जनशक्ति थप गरी निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।

प्रसारणलाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उनले निर्देशन दिए। डिभिजन वन कार्यालय चितवन र तनहुँका प्रमुखलाई फोन गरी उनले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्त्वपूर्ण प्रसारणलाइनको निर्माण जतिसक्दो छिटाे सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरे।

उदीपुर–मार्कीचोक ४०  किलोमिटर प्रसारणलाइन खण्डमा ११६ वटा टावर निर्माण गर्नुपर्नेछ । त्यसमध्ये ९० वटा टावरको जग हालिएको छ। मार्कीचोक–भरतपुर २८ किलोमिटर प्रसारणलाइन खण्डमा ८३ वटा टावर निर्माण गर्नुपर्नेछ। यसमध्ये ३८ वटा टावरको जग हालिएको प्राधिकरणले जनाएको छ। हाल ६ ठाउँमा काम भइरहेको छ ।

उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारणलाइन निर्माणका लागि ६९.६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्नेछ। त्यहाँ रहेका १० हजार २२५ रुख कटान गर्नुपर्नेछ । आयोजना प्रमुख नारायण रेग्मीले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान सुरु भइसकेको बताए। टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको प्रमुख रेग्मीले उल्लेख गरे।