मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
माधव सापकाेटा
२o८१ मङ्सिर २६ बुधबार o७:२८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

माओवादीलाई जनतामाझ जान सन्देश

Read Time : > 4 मिनेट
माधव सापकाेटा
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार o७:२८:oo

माओवादीलाई उपनिर्वाचनले मिहिनेतपूर्वक जनतासँगको संवादलाई निरन्तरता दिन र योजनाबद्ध रूपमा जनताका पक्षमा काम गर्न सन्देश दिएको छ

विषय प्रवेश : प्रतिनिधिसभामा पहिलो र दोस्रो दल मिलेर गत ३० असारमा नयाँ सरकार गठन भएपछि प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) विरुद्ध लगातार राजनीतिक आक्रमण, अपमान र दुईतिहाइनजिकको दम्भ प्रदर्शनको प्रयास भइरहेका छन् । यतिसम्म कि नेपालको व्यवस्था परिवर्तनका लागि भएको जनयुद्ध र त्यसको नेतृत्व गरेको दलविरुद्ध संसद्मा समेत अपमानको प्रयास भयो । यद्यपि त्यसको सशक्त प्रतिवाद भयो । 

यसबिच माओवादीले जनतासँग जोडिन सबै प्रदेशमा परामर्श बैठक गर्‍यो । जनताको आवाज सुनेर सुशासन कायम गर्न खोज्दा माओवादी सत्ताबाहिर हुनुपरेको विषय बुझाउने काम भयो । यसै सन्दर्भमा निर्वाचन आयोगले १६ मंसिरका लागि स्थानीय तहमा रिक्त रहेका पदहरूको उपनिर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो । दलहरू आआफ्ना तयारीमा जुटे । माओवादीलाई होच्याएर ‘सत्ताबाहिर पुगेपछि माओवादी हतास देखियो, गठबन्धन गरेर चुनावमा होमिएका माओवादी एक्लै चुनाव लड्न सक्दैनन्, कथं लडिहाले भने पनि पत्तासाफ हुन्छन्’ जस्ता भाष्य निर्माणको जबर्जस्त प्रयास सत्तानिकट दलहरूबाट भए । तर, अरूले के भन्छन् भन्नेमा चासो नदिई माओवादी केन्द्रले एक्लै चुनावमा होमिने निर्णय सार्वजनिक गर्‍यो । केन्द्रीय नेतृत्व नै चुनावी माहोल निर्माणमा जुटेपछि पार्टीपंक्ति एकाकार भएर चुनावमा होमियो । सत्ताधारी दलले माओवादीको उदयको जग बिर्सेर होच्याउने र अपमान गर्ने कार्य जारी राखे । माओवादीले प्रतिवाद गर्नुभन्दा जनतामाझ जाने विषयलाई मुख्य कार्यसूची बनायो । यसपटक माओवादीले जनतामाझ फर्केको उद्घोष मात्रै गरेन, साँच्चै गयो पनि । आमनागरिकका सुखदुःखमा एकाकार भयो, तिनका पीडा, महसुस गर्‍यो, गुनासा सुन्यो । आफ्ना वर्तमान एजेन्डा सुनायो । विगतमा भएका कमी–कमजोरीप्रति आत्मालोचित भयो । 

उपचुनावको सन्देश : मिनी जनमत संग्रहका रूपमा पनि हेरिएको यसपटकको उपनिर्वाचनले राजनीतिक दलहरूको प्रभाव र जनताको विश्वासलाई पुनः परीक्षण गर्‍यो । यो निर्वाचन पहिलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा (एमाले), प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र अन्य दलबिचको प्रतिस्पर्धा मात्र थिएन, बरु वर्तमान जनमतको प्रवृत्ति बुझ्ने अवसरसमेत थियो । चुनावी परिणाम माओवादी केन्द्रका लागि अझ महत्वपूर्ण बन्न पुग्यो । माओवादीका लागि उपचुनावले पुनः जनविश्वास जित्ने र प्रमुख राजनीतिक शक्तिका रूपमा उदाउने अवसरको पथप्रदर्शन गरेको छ । यसले माओवादीलाई निराश नहुन र जनतासँग जोडिएर अगाडि बढ्न प्रस्ट सन्देश दिएको छ । साथै, चलायमान जनमतलाई सम्बोधन गरेर जाने मार्ग पनि पहिल्याएको छ । अर्को महत्वपूर्ण विषय, माओवादी केन्द्रले सहर र मधेश क्षेत्रमा भोट बैंक सुधार र विस्तार गरेको देखिएको छ । निर्वाचनमा माओवादी केन्द्रले परिपक्व रणनीति अपनाएको देखियो । जनसरोकारका विषयमा संवाद, पार्टीभित्रको सुदृढ एकता र कार्यकर्ताको सक्रियताले पार्टीको जनाधारलाई बलियो बनाउन मद्दत पुर्‍याएको छ । यसले आगामी निर्वाचनमा माओवादी केन्द्रले थप बलियो प्रदर्शन गर्न सक्ने सम्भावनाको संकेत गरेको छ । स्थानीय मुद्दालाई प्राथमिकता दिँदै जनताको सरोकारका विषयमा काम गर्ने नेताहरूको सक्रियता यसमा प्रमुख कारण बनेको छ । 

नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैको ‘चुनावअघि गठबन्धन नगर्ने’ घोषणामा अडिग हुन नसकेको र जनताले यस कदमलाई अस्वीकृत गरेको देखियो । विशेषतः एमालेले ओखलढुंगामा नेपाली कांग्रेसलाई मैदान छोडिदिनु र रुकुमपूर्वमा पार्टीकै जिल्ला उपसचिवले अर्को पार्टीको चुनाव चिह्नबाट उम्मेदवारी दिनुजस्ता कदमले जनताको नजरमा विश्वसनीयतामा नकारात्मक प्रभाव पारेको छ । सत्ताधारी दलहरूलाई निर्वाचनले ‘माओवादीलाई कम नआँक’ भन्ने सन्देश दिएको छ । 

एक्लै चुनाव लड्ने निर्णयलाई समर्थन : माओवादी केन्द्रलाई एकल रूपमा चुनाव लड्न नसक्ने पार्टीका रूपमा चित्रण गर्ने प्रयास भए पनि यो उपचुनावले त्यसलाई खारेज गरिदिएको छ । जनताले माओवादीको निर्णयलाई सानदार ढंगले अनुमोदन गरेका छन् । उपनिर्वाचनको परिणाम सार्वजनिक हुँदा माओवादीको एक्लै चुनाव लड्ने निर्णयलाई जनताले समर्थन गरेको देखियो । यसअघि माओवादीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकामा पुनः जित हासिल गर्दै पालिका र वडामा थप सफलता प्राप्त गर्‍यो । माओवादी लोकप्रिय जनमतका आधारमा दोस्रो बन्यो । सबै दल मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मतान्तरले विजयी हुनुका साथै वडामा निर्विरोध नै भयो । जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडामा भारी मतान्तरले हाम्रो पार्टी विजयी भयो । पहिले तेस्रोमा पनि कमजोर स्थितिमा रहेको कामाडौंको कीर्तिपुर नगरपालिकासहित १२ स्थानमा उल्लेख्य मतसहित माओवादी दोस्रो भएर प्रतिस्पर्धामा उभियो ।

यसले जनतामा माओवादीप्रति विश्वास र उत्साह मात्रै देखाएन, २० मंसिरमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले जितेका सिट संख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक मान्दै स्थानीय तह उपनिर्वाचनको परिणामले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष सार्वजनिक गर्‍यो । 

अबको बाटो : माओवादी पार्टीभित्र एकता र आन्तरिक सुदृढीकरणको खाँचो अझै देखिन्छ । सिद्धान्त र दर्शनलाई यथार्थपरक व्याख्या गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न माओवादी केन्द्रले विशेष ध्यान दिनुपर्छ । गाउँ–गाउँमा जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय मुद्दामा प्राथमिकता दिनु, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा जनतालाई सम्बोधन गर्ने नीति अवलम्बन गर्नु अबको आवश्यकता हो । आफ्ना नेता–कार्यकर्ता फिल्डमा जमेर काम गर्ने माओवादीको नीति दीर्घकालीन रूपमा प्रभावकारी साबित हुन सक्छ । जितेका क्षेत्रमा परिणाममुखी काम गरेर उदाहरण प्रस्तुत गर्नु र हार भएका क्षेत्रमा आत्मसमीक्षा गर्दै यथार्थपरक योजना निर्माण गर्नु रणनीतिक दृष्टिले महत्वपूर्ण हुनेछ ।

पार्टीको संगठनात्मक बललाई स्थानीय स्तरमा पुनः सक्रिय बनाउनुपर्छ । जनसरोकारका विषयमा मात्र होइन, युवापुस्तालाई पार्टीमा आकर्षित गर्न नवीन कार्यक्रम ल्याउनु आवश्यक देखिएको छ । हार भएका क्षेत्रका कार्यकर्ताले ध्वंसात्मक बहस गर्ने होइन, जनतासँग निरन्तर संवाद गर्दै आफ्नो कमजोरी सच्याउने प्रयास गर्नुपर्छ । उपचुनावको परिणामलाई माओवादी केन्द्रले आफ्नो पुनर्जागरणको सुरुवातको रूपमा लिनुपर्छ । जितेका क्षेत्रमा उदाहरणीय काम गरेर र हार भएका ठाउँमा आत्मसमीक्षा गर्दै पार्टीलाई सशक्त बनाउने यो सही समय हो । माओवादी केन्द्रले अब आफ्ना गतिविधिलाई ‘जनता, जनता र फेरि पनि जनता’ भन्ने आधारमा अघि बढाउनु आवश्यक छ । यसका लागि सबै नेता–कार्यकर्ताले आफ्ना कार्यक्षेत्रमा केन्द्रित भएर योजनाबद्ध रूपमा काम गर्नुपर्छ । माओवादी घटकमाझ एकता गर्न सकिने हो भने पार्टीको शक्ति अझ सुदृढ हुनेछ । माओवादी केन्द्रले अबको यात्रालाई स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजनासहित अघि बढाउनुपर्छ । पार्टीले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख’को मुद्दालाई प्रमुख मुद्दा बनाउँदै नयाँ राजनीतिक आधार तयार गर्न सक्छ । यसै क्रममा माओवादी केन्द्रले आफ्नो संगठनात्मक बललाई सुदृढ गर्दै लोकप्रिय जनमतलाई मजबुत बनाउनुपर्छ । परिणाममुखी प्रयास र एकताको बलले माओवादी केन्द्रलाई प्रमुख राजनीतिक शक्तिका रूपमा उभ्याउनेछ । यो उपनिर्वाचनले दिएको सन्देश मिहिनेतपूर्वक जनतासँगको संवादलाई निरन्तरता दिनु र योजनाबद्ध रूपमा जनताका पक्षमा काम गर्नु हो ।

हामी निकै मिहिनेतले यहाँसम्मको यात्रामा छौँ । विगतका कठिन संघर्षलाई नबिर्सौं । हिजो हामी एकातिर थियौँ, सम्पूर्ण राज्य शक्ति अर्कातिर थियो । आमनागरिकलाई आफ्ना कुरा राख्ने विषय निकै अप्ठेरो र पेचिलो थियो । भर्खर–भर्खर सुरु भएको मोबाइल फोन पनि हामीले प्रयोग गरेको भनेर अवरुद्ध गरिएको थियो । सत्ताले ‘दिन’ हाम्रो भन्थ्यो, हामी रातारात जनतासम्म पुगेर सन्देश प्रवाह गथ्र्यौं । राज्यले सहर हाम्रो भन्थ्यो भने हामी गाउँमा हुन्थ्यौँ । गाउँ–गाउँमा हामीलाई सिध्याउन विभिन्न नामधारी ‘अपरेसन’ चलाइन्थे, तर हामीलाई आमनागरिकले गाँस र वास दिएर जोगाउँथे । ती महान् जनतालाई हामीले कति सम्झेर भेटेका छौँ र सुनेका छौँ भन्ने प्रश्न अहिलेको मुख्य विषय हो । अहिले जनतासम्म जान, सुन्न र सन्देश प्रवाह गर्न आधुनिक प्रविधि, सञ्चार माध्यम, सामाजिक सञ्जाल र अन्य विधि विकास भएका छन् । ती विधि सबैका सहज पहुँचमा छन् । आफ्ना विषय सजिलै राख्न सक्ने अवस्था छ । वडादेखि पालिका, प्रदेश र संघीय संसद्सम्म माओवादीको अर्थपूर्ण उपस्थिति छ । यी सबै अनुकूलताको प्रयोग गर्न माओवादीले सिपालु हुनुको विकल्प छैन । 

(सापकोटा प्रतिनिधिसभा सदस्य हुन्)