प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले वीरगन्जमा रहेको सानो पाइला सहकारीको बचत अपचलन कसुरमा इन्कारी बयान दिएका छन् । लामिछानेलाई सोमबार पोखराबाट काठमाडौं–सिमरा हुँदै वीरगन्ज पुर्याइएकामा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय पर्सामा झन्डै चार घण्टा बयान लिइएको थियो ।
४० मूल र बाँकी पूरक गरी ५४ प्रश्न सोधिएकामा लामिछानेले बचत अपचलनको कसुरमा इन्कारी बयान दिएका हुन् । रविले यसअघि पोखरा, बुटवल, चितवन र काठमाडौंमा पनि इन्कारी बयान दिएका छन् । लामिछानेको मानव अधिकार हनन भएको भन्दै प्रहरीको आलोचना भइरहेको वेला मंगलवार उनको बयान लिइएको हो ।
उनलाई बयानका लागि बिहान ९ बजे सरकारी वकिलको कार्यालय लगिएकामा बयान प्रमाणीकरण गरी जिल्ला प्रहरी कार्यालय फर्काउँदा साँझ ५ बजेको थियो । सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता भोला निरौलाले लामिछानेको बयान सकिएको बताए ।
बयान जारी रहँदा रास्वपाका नेता–कार्यकर्ताले घण्टाघरबाट र्यालीसहित प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालयअगाडि केहीबेर प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो । लामिछानेलाई बुधबार कास्की पठाउने तयारी रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताए ।