दोस्रो फोर्टिन स्टार कप फुटबलमा जनसहयोग माविले महेन्द्र माविको १४ गोलकाे सामना गरेर फर्किनुपरेको थियो । गत वर्षको चौथो फोर्टिन स्टार कप फुटबलमा पनि अर्जे माविसँग क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटबाट बाहिरिनुपरेको थियो । तर, अहिले पाँचौँ फोर्टिन स्टार कप फुटबलको उपाधि नै जनसहयोग माविले चुमेको छ । शनिबार उपाधिका लागि महेन्द्र मावि र जनसहयोग माविबिच प्रतिस्पर्धा भएको थियो ।
जनसहयोग माविले १–० गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्याे । जनसहयोगका लागि दोस्रो हाफमा सन्तोष परियारले निर्णायक गोल गरे । निरन्तरतको संघर्षले प्राप्त उपलब्धिले जनसहयोग विजयी उत्सव मनाइरहेको छ । तर, पर्दापछाडि खेलाडीका दुःख उस्तै छन् ।
जनसहयोग माविको फुटबल खेल्ने ग्राउन्ड छैन, प्रशिक्षक र प्रशिक्षणको त कुरै रहेन । कतै प्रतियोगिता भए खेलाडीहरू जुटेर एक घण्टाको बाटो उनायचौरमा फुटबल खेल्न पुग्नुपर्ने बाध्यता रहेको कोचसमेत रहेका जनसहयोग माविका शिक्षक केसर केसीले बताए । उनका अनुसार १६ जना खेलाडीमध्ये आठजना दलित र तीनजना जनजाति परिवारका छन् ।
शनिबार उपाधि दिलाउने गोल सन्दीप परियारले गरे । उनले म्यान अफ दी म्याचको ट्रफी पनि पाए । टिम क्याप्टेन सन्देश सार्की र सुदीप सार्की जुम्ल्याहा दुई दाजुभाइ हुन् । जो दुईपटकको फोर्टिन स्टार कप फुटबल सँगै खेलिरहेका छन् । बेस्ट प्लेयर अफ टुर्नामेन्ट क्याप्टेन सन्देश सार्की र बेस्ट डिफेन्डर सुदीप सार्की ती दुई दाजुभाइ बने । त्यस्तै, इमर्जिङ प्लेयरको रूपमा प्रिन्स गुरुङ र बेस्ट किपर जनसहयोग माविका सुवास सोमै भएका छन् ।
विजेता जनसहयोग माविले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता महेन्द्र माविले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव अर्जुन मरासिनीले जानकारी दिए ।
महेन्द्र मावि चौथो फोर्टिन स्टारकप फुटबलको पनि उपविजेता हो । त्यसवेला अर्जे माविले उपाधि प्राप्त गरेको थियो । अहिले अर्जे मावि भने खर्चको कारण देखाउँदै खेलमा सहभागी भएन । मंसिर ११ गतेदेखि सञ्चालन भएको फोर्टिन स्टार कप फुटबलमा महेन्द्र माविले भाडगाउँ मावि र जनसहयोग माविले सिद्धबाबा माविलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
पाँचौँ फोर्टिन स्टार कप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने सिद्धबाबा माविका सुजन बस्नेत, बेस्ट गोल अफ टुर्नामेन्ट रिडर्स पब्लिक हाइस्कुलका रिलेस श्रीस, फेयर प्ले टिम ब्रिलियन्ट युनाइटेड एकेडेमी पुरस्कृत भएका छन् । त्यस्तै, फेयर प्लेयर महेन्द्र माविका उमेश श्रीस, बेस्ट मिड फिल्डर महेन्द्र माविकै कप्तान भुवन ढेगा भएका छन् ।
फेयर प्ले अवार्ड महेन्द्र माविका किपर आकाश घर्ती मगरलाई प्रदान गरिएको आयोजक फोर्टिन स्टार युवा क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।
पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलाडी थकाली सम्मानित
गुल्मीका पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलाडी ज्ञानेन्द्रप्रसाद शेरचन थकालीलाई सम्मान गरिएको छ । कार्यक्रम समापनको अवसरमा ज्ञानेन्द्रकी आमा बुद्धीकुमारी थकालीलाई दोसल्ला र सम्मान पत्रले रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सम्मान गरेका थिए ।
थकालीले सन् १९९० देखि १९९६ सम्म नेपालको राष्ट्रिय टिमको मिडफिल्डरको भूमिकामा फुटबल खेलेका थिए । सन् १९९३ मा बंगलादेशको ढाकामा आयोजित छैटाैँ दक्षिण एसियाली फुटबल प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउन सफल थकालीको योगदानको कदर गर्दै सम्मान गरिएको आचार्यले बताए । गाउँ–गाउँमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको आचार्यले जानकारी दिए ।
खेलसँगै बबित बचाऊ अभियान
क्लबले पाँचौँ फोर्टिन स्टार कप फुटबलसहित कार्यसमिति सदस्य बबित बचाऊ अभियान पनि सञ्चालन गरेको थियो । रेसुंगा नगरपालिका– २ का बबित बुढाथोकी तीन महिनादेखि मिर्गौला रोगबाट पीडित छन् । फोर्टिन स्टार युवा क्लबको नेतृत्वमा अहिलेसम्म स्थानीय क्लबहरूको समन्वयमा भैलो, सांगीतिक कार्यक्रम र व्यक्तिगत सहयोग करिब १७ लाख संकलन भएको छ ।
साथै चिदीचौरमा जारी खेलमा पनि अभियान सञ्चालन गरिएको थियो । जसबाट ७० हजार ४६० रुपैयाँ संकलन भएको क्लबले जनाएको छ । बबितको एक्कासि खुट्टाहरू सुन्निएपछि गुल्मी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बुढाथोकीलाई मिर्गौला फेल भएको समस्या देखा परेको थियो ।
त्यसपछि बुटवल र काठमाडाैंमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएकाले अहिले नियमित डाइलाइसिस गरेर बसिरहेको दाजु विक्रम बुढाथोकीले बताए । बुढाथोकीका अनुसार मिर्गौला ट्रान्सपलान्टका लागि परिवारबाट कसैको अनुकूल छैन् । बाहिर किनेर राख्नका लागि अत्यन्तै महँगाे हुने भएकाले खर्च र स्वास्थ्य प्रतिकूलताको हिसाबले गाह्रो भइरहेको बुढाथोकीले बताए ।