बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले तीनै तहका सरकारबिचकाे समन्वयविना मुलुकको विकास सम्भव नरहेको बताएका छन्। तीन तहका सरकारबिचकाे समन्वय अभावकै कारण विकासको गति निकै सुस्त भएको उनको भनाइ छ।
प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा भएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी दुईदिने कार्यक्रममा बोल्दै मन्त्री खड्काले विकासका आयोजनाको कार्यान्वयनका चरणमा तीन तहका सरकारले एक–अर्कालाई नटेर्ने अवस्था रहेको बताए।
‘संघीय सरकार प्रदेशले चाहेअनुसारको बजेट दिन नसक्ने, स्थानीय तहले मागेअनुसारको आयोजनाहरू प्रदेश सरकार दिन नसकेको र प्रदेश सरकारले पठाएको आयोजना कार्यान्वयनमा स्थानीय तहले चासो कम दिने कारण विकासका गतिविधिमा समस्या भइरहेको छ,’ उनले भने, ‘यद्यपि, प्रदेश सरकारले संघ र स्थानीय सरकारको बिचमा समन्वय र पुलको काम गरिरहेको छ।’
उनले प्रदेश सरकार स्थानीय तहसँगको समन्वयमा विकास आयोजना सञ्चालनका विषयमा गम्भिर रहेको दाबी गरे। विकास आयोजना व्यवस्थापनका लागि प्रदेश सरकारले आयोजना बैंक निर्माणको काम गरिरहेको उनको भनाइ छ।
आयोजना बैंक निर्माणपश्चात् स्थानीय तह र प्रदेश सरकारबिचको समन्वयात्मक भूमिका तथा आयोजनाको प्रभावकारितामा वृद्धि हुने उनले विश्वास व्यक्त गरे।