मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
२o८१ मङ्सिर १४ शुक्रबार १८:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चार अर्ब ८१ करोडमा निर्माण सम्पन्न पोखरा खानेपानी शुद्धीकरण आयोजना हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १८:१२:oo

शुद्धीकरण भएको पानीको देशकै ठुलो योजना पोखरामा सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा पोखरा खानेपानी शुद्धीकरण आयोजना निर्माण सम्पन्न भएको हो। शुद्धीकरण गरिएको यो देशकै ठुलो परियोजना हो भने मेलम्चीपछि काठमाडौं उपत्यकाबाहिर निर्माण सम्पन्न भएको दोस्रो ठुलो खानेपानी आयोजना हो।

सम्पन्न आयोजना एक समारोहबिच जाइकाले शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। जाइकाका प्रतिनिधि तानाको तोमोले नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवलाई आयोजना हस्तान्तरण गरेकी हुन्। परियोजनाका लागि जाइकाले चार अर्ब ८१ करोड ३० लाख जापानी येन अनुदान दिएको थियो।

आयोजना निर्माणका लागि जाइकासँग नेपाल सरकारले १५ फेब्रुअरी २०१७ मा सम्झौता गरेको थियो। ३१ डिसेम्बर २०२२ मा निर्माण सम्पन्न गर्ने भनिएकोमा कोरोनासँगै आयोजनाको म्याद थपको काममा ढिलाई हुँदा निर्माण अवधि थप भएको थियो। यसअघि २८ जेठ ०७६ मा तत्कालीन खानेपानीमन्त्री विना मगर र नेपालका लागि जापानी राजदूत मासामिची सैगोले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए।

विगत १९ वर्षको प्रयासपछि पोखरामा खानेपानी शुद्धीकरण आयोजना सम्पन्न भएको हो। पोखरा आउने खानेपानीको मुख्य स्रोत मर्दी मुहानमा आयोजना निर्माण सम्पन्न भएसँगै पोखरावासीले घरको धाराबाट सीधै डब्लुएचओको मापदण्डअनुसारको प्रशोधित पानी पिउन पाउने भएका छन्। 
सन् २००४ मा जापानको याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको सम्भाव्यता अध्ययनसँगै खानेपानी सुधार तथा विस्तारका लागि विस्तृत डिजाइन तयार गरेको थियो। जापानले अनुदान रकम सिभिल ठेक्काका लागि दिएको थियो भने अनुदान रकममध्ये चार अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान गरी जापानको हाजमा एन्दो कर्पोरेसन कम्पनीलाई ठेक्का दिएको थियो।

अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च गरिएको संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका करिब तीन लाख ५० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्।

पुरुञ्चौरमा शुद्धीकरण गरिएको पानी वितरणका लागि २० इन्चका चारवटा पाइपबाट पोखरामा ल्याइएको छ। यसका लागि २० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिएको भए पनि हाल पोखरा– ५ पस्याङ र पोखरा– ११ फूलबारीबाट पानी वितरण हुँदै आएको छ। पोखरा– १५ कोलपाटनमा भने केही काम बाँकी रहेको बताइएको छ। आयोजनाबाट पोखरामा चार करोड ५० लाख लिटर पानी आउनेछ।

आयोजनाअन्तर्गत पोखराका विभिन्न क्षेत्रमा १११ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। एक हजार थान पानीका मिटरसँगै ६ हजार धाराका पाइपसमेत जडान भइसकेको छ। अब एक हजार तीन सय धाराका पाइप जोड्ने काम बाँकी छ। यसभन्दा करिब १४ वर्षअघि पहिलो चरणमा जाइकाकै सहयोगमा २० इन्चको ११ किलोमिटर पाइपमार्फत पोखरामा मर्दीको मुहानबाट पानी ल्याइएको थियो। दोसो चरणमा हालको परियोजना सम्पन्न भएको हो।