मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
२o८१ मङ्सिर १४ शुक्रबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयको फलामे ढोकाले थिचेर दुई बालक घाइते, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १७:४८:oo

सिराहाको नरहा गाउँपालिका गौरहास्थित आधारभूत विद्यालय गौरहामा शुक्रबार विद्यालयको फलामे ढोकाले थिचेर दुई बालक घाइते भएका छन्।

विद्यालय खुलेपछि शुक्रबार बिहान करिब १० बजेतिर कम्पाउन्डको फलामे ढोकाले थिचेर नरहा– १ का कोसिन्द्र सदाका छोरा करिब सात वर्षीय राजेश सदा र फूलकुमार यादवका छोरा आठ वर्षीय अर्जुनकुमार यादव घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुवैजना कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन्।

फलामे ढोकाले थिचेर घाइते भएका उनीहरूको तत्काल उद्धार गरी गोलबजारस्थित लाइफलङ हेल्थकेयर प्रालिमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। पिठ्युँ र ढाडमा चोट लागेर मध्यम अवस्थाको घाइते अर्जुनको गोलबजारमै उपचार भइरहेको र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका राजेशलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको उनले बताए। घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

विद्यालयका शिक्षक रामजुलुम यादवका अनुसार कार्यालय सहयोगीले स्लाइडिङ फलामे ढोका आधा खोलेर कक्षाकोठा र कार्यालय खोल्न गएका वेला ढोकामाथि चढेका राजेशले अर्जुनलाई धकेल्न लगाउँदा बेरिङ उछिट्टिएर ढल्दा थिचिएर दुवैजना घाइते भएका हुन्। स्थानीय बासिन्दाले भने शिक्षक समयमा नआउने र कार्यालय सहयोगीले ढोका खोल्न विद्यार्थीलाई लगाउँदा दुःखद घटना भएको आरोप लगाएका छन्।