अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने फिल्म ‘डोरी’को छायांकन आइतबारदेखि हुने भएको छ। बिहीबार निर्माण टिमले फिल्मको शुभमुहूर्त गर्दै छायांकनबारे जानकारी गराएको हो।
बराइलीले फिल्म ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारंगी’मा आफूलाई अभिनयमा अब्बल साबित गरिसकेकी छिन्।
‘डोरी’मा अञ्जनाको साथमा अभिनेता प्रवीण खतिवडा, शिशिर बाङदेल, राज पौडेल, वीरेन्द्रसिंह कुशवाहा, विशाल राई, मिलन राईलगायतको अभिनय रहनेछ। अरुण लामाको निर्देशनमा बन्ने फिल्ममा कविता आले, सजन श्रेष्ठलगायतको पनि अभिनय रहनेछ।
फिल्मको निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। यसमा संगीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्।