मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
२o८१ मङ्सिर १४ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा राष्ट्रिय सुरक्षा संवेदनशीलताबारे सुदूरपश्चिमका पत्रकारलाई प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १३:३२:oo

नेपाली सेनाले राष्ट्रिय सुरक्षा संवेदनशीलतालगायतका विषयमा सुदूरपश्चिमका पत्रकारलाई प्रशिक्षण दिएको छ। रेडियो, पत्रिका र अनलाइनमा आबद्ध नौ जिल्लाका १९ पत्रकारलाई प्रशिक्षण दिइएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलालीमा पाँच दिनसम्म दिएको प्रशिक्षणको समापनमा बोल्दै पृतनापति प्रकाश देउजाले राष्ट्रको सुरक्षाका लागि सेना र पत्रकारबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए।

उनले राष्ट्रिय सुरक्षा संवेदनशीलतामा सेनाजस्तै पत्रकार पनि संवेदनशील हुनुपर्ने बताए। सेनाले करिब १५ वर्षअघिदेखि पत्रकारहरूका लागि रक्षा संवाददाता अभिमुखीकरण सुरु गरेको थियो। अहिलेसम्म देशभरका पाँच सयभन्दा बढी पत्रकारलाई यो प्रशिक्षण दिइएको सेनाले जनाएको छ। जहाँ नेपाली सेनाको इतिहास, राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा नेपाली सेनाको भूमिका, सैनिक कल्याणकारी कोष, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपत् व्यवस्थापन, सीमा सुरक्षा, अन्तर्राष्ट्रिय अनुभव र पत्रकार आचारसंहितालगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

त्यस क्रममा सहायक रथी किरण केसी, नेपाली सेनाका महासेनानी हरि विश्वकर्मा, ईश्वर बुढाथोकी, अनन्तबहादुर सिंह, राजन बुढाथोकीलगायत नेपाली सेनाका अन्य अधिकृतहरूले पाँच दिनसम्म प्रशिक्षण दिएका थिए। उनीहरूले नेपालको एकीकरणदेखि इतिहासका विभिन्न कालखण्डमा मुलुकको सुरक्षामा सेनाको भूमिकालगायतका विषय प्रस्तुत गरेका थिए। बाह्य शक्तिलाई परास्त गरेर मुलुकको स्वतन्त्रता बचाउन सेनाले गरेको त्याग र बलिदानी तथा विभिन्न राजनीतिक व्यवस्थाको परिवर्तनमा सेना सदा अटल र स्थिर रही राष्ट्रको सुरक्षा र सेवामा समर्पित रहँदाको इतिहासका विस्तृत विवरणहरू पनि पत्रकारहरूलाई जानकारी गराइएको थियो।

प्रशिक्षणकै क्रममा स्थलगत अध्ययनका लागि कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेको पत्रकारहरूको टोलीलाई रुद्रध्वज गणमा प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिकाबारे जानकारी गराइएको थियो। नेपाली सेनाले सैनिक रेडियो कार्यक्रममार्फत योगदान गर्ने सुदूरपश्चिमका आठवटा रेडियोलाई उत्कृष्ट रेडियोका रूपमा सम्मान पनि गरेको छ।