सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका लिस्तीका अर्जुनबहादुर सापकोटाले सेमुङ बारीमा ६ वर्षअघि किवी फर्म स्थापना गरे। भूकम्पपछि खासा व्यापार ठप्प भएकाले कृषि कर्ममा फर्किएका सापकोटाले धेरै मिहिनेत गरेर १५० रोपनी लेकाली जमिनमा किवीका १५ सय बिरुवा रोपे। उनको दैनिकी किवी फर्ममै बित्छ।
तीन वर्षअघि फल्न सुरु गरेकोे किवी यो वर्ष बोटले थाम्न नसक्ने गरी प्रशस्त फलेको छ। २० हजार केजीभन्दा बढी किवी फलेको सापकोटाको अनुमान छ। उनले ६ वर्षमा दुई करोडभन्दा बढी लगानी गरिसकेका छन् । किवी उत्पादन भएको पहिलो र दोस्रो वर्षमा उनले ५० लाख आम्दानी पनि गरे। ‘यसपटक बोट नै लचक्क लच्केर प्रशस्त किवी फलेको छ। तर, बेच्ने बजार नभएर म निराश भएको छु,’ उनले दुखेसो पोखे।
हालसम्म उनले फर्ममा उत्पादित २५ प्रतिशत मात्रै किवी बिक्री गरेका छन्। सेमुङबाट आफ्नै गाडीमा काठमाडौंसम्म ल्याएर किवी बिक्री गरिरहेका सापकोटाले धेरै दुःख पनि झेलेका छन्। ताजा किवी बोकेर राजधानीलगायत बजार पुग्दा भाउ पाइँदैन। प्रतिकेजी ५० देखि बढीमा तीन सयसम्म लिएर किवी बेचेको उनले सुनाए।
चीन र भारतबाट आयात भएका किवी फल पाँच सयमा बिक्री भइरहँदा नेपालको हिमाली स्वच्छ हावापानीमा उत्पादित किवी प्रतिकेजी तीन सयमा पनि बिक्री नहुँदा पीडा महसुस हुने उनले सुनाए। फलफूल तथा तरकारी आयात प्रतिस्थापन गर्न नसके नेपालको कृषि क्षेत्रमा प्रगति नहुने उनको ठम्याइ छ।
१५ हजार केजीभन्दा बढी किवी बोटमै पाकिसकेकाले सापकोटा चिन्तित छन्। कतै बिक्री नभएर खेर पो जाने हो कि ! उनको मनमा अनेक कुरा खेल्ने गर्छ। सिन्धुपाल्चोक जिल्लामा फलफूल राख्ने राम्रो कोल्ड स्टोर हुन्थ्यो भने किसानले उत्पादन गरेका फलफूल तथा तरकारी बजार अभावमा नोक्सान हुँदैनथ्यो। अफसिजनमा देश तथा देशबाहिर निर्यात गर्न सकिन्थ्यो।
महिना दिनदेखि सापकोटा आफ्नै जिल्ला, राजधानी काठमाडौं र अन्य ठाउँका बजारमा किवीको क्रेट बोकेर भौँतारिरहेका छन्।