२०७६ जेठ १५ बुधबार ०७:२७:००

राष्ट्रिय कला संग्रहालय पुनर्निर्माण अझै अन्योलमा

भक्तपुर दरबार स्क्वायर क्षेत्रको राष्ट्रिय कला संग्रहालय अझै पुनर्निर्माण भएको छैन । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि संग्रहालय रहेको क्षतिग्रस्त ऐतिहासिक सिंहध्वाका दरबारको पुनर्निर्माण कहिले, कसरी हुने भन्ने टुंगो छैन । पुरातत्व विभाग र भक्तपुर नगरपालिकाबीच पुनर्निर्माण कुन शैलीमा गर्ने भन्ने विषयमा विवाद हुँदा दरबार पुनर्निर्माणमा ढिलाइ भएको हो । 

विभागले गत भदौमै काम सक्ने गरी राणाकालीन शैलीमा दरबार पुनर्निर्माण गर्न दुई वर्षअघि नै ठेक्का लगाएको थियो । तर, नगरपालिकाले दरबारको पुनर्निर्माण मल्लकालीन शैलीमा हुनुपर्ने अडान राखेपछि पुनर्निर्माणको काम सुरु भएको छैन । दरबारलाई अझै पनि टेकाकै भरमा छाडिएको छ । संग्रहालयमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीहरू बन्दकोठामा थन्क्याएर राखिएका छन् । क्षतिग्रस्त संग्रहालय भवनमा प्रदर्शनमा रहेका बाँकी सामग्रीहसमेत सुरक्षित छैनन् । जोखिमयुक्त भवनमै संग्रहालय सञ्चालित छ । 

नगरपालिका र  विभागबीच मतभेद
पुरातत्व विभागले राणाकालीन शैलीमा दरबार पुनर्निर्माणका लागि डिजाइन तयार गरी दुई वर्षअघि नै ठेक्का लगाएको थियो । विभागले ०७२÷७३ मै सुवाल÷एसपी जेभीलाई पाँच करोड ६५ लाख ६७ हजार ६ सय १८ रुपैयाँमा ठेक्का लगाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम सक्नुपर्ने ०७५ भदौसम्मको म्याद काम नथाल्दै गुज्रिसकेकोे छ । नगरपालिकाले राणाकालीन शैलीमा दरबार पुनर्निर्माण गर्न नमिल्ने भनेपछि पुनर्निर्माण अलमलमा परेको हो । 

संस्कृतिकर्मी, स्थानीयवासी र जनप्रतिनिधिले दरबारको जग मल्लकालीन शैलीमै बसेकाले सोही शैलीमा पुनर्निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । विभागले भने राणाकालीन शैलीमा पुनर्निर्माण भएको एक सय वर्ष पूरा भइसकेकाले सो शैलीलाई समेत पुरातात्विक सम्पदाका रूपमा लिन सकिने जनाएको छ । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले विभागले भने जसरी टेन्डरमार्फत राणाकालीन शैलीमा दरबार पुनर्निर्माण नहुने बताए ।