मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
रासस काठमाडौं
२o८१ मङ्सिर ८ शनिबार १९:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार १९:४६:oo

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाखबराबरको आयात र ५२ अर्ब ६७ करोडबराबरको निर्यात भएको हो। यसरी कुल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ। नेपालको सबैभन्दा ठुलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ। कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाखबराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाखबराबरको निर्यात भएको छ। 

त्यस्तै, नेपालको अर्को ठुलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ।  

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ। कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाखबराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाखबराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाखबराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै, १५ अर्ब ९६ करोड ९२ लाखबराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाखबराबरको स्मार्टफोन आयात भएको विभागको तथ्यांकमा छ।
    
बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा छ। चार महिनामा तीन अर्ब ६० करोड आठ लाखबराबरको कार्पेट निर्यात भएको छ। यस्तै, सोयाबिन तेल तीन अर्ब ४१ करोड, चिया दुई अर्ब २१ करोड र अलैँची एक अर्ब ९० करोडबराबरको निर्यात भएको छ।