मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ८ शनिबार १७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चिलिमेका तीन जलविद्युत् आयोजना निर्माण सकियो

राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट विद्युत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार १७:४५:oo

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। यी आयोजनाबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।

१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्। यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत् बिक्री गरिसकेको छ। ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा उत्पादन सुरु गरिएको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ। दुवै आयोजनाबाट यही महिनाभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ। नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाहरूबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ।