सरस्वती युथ क्लबले थ्री बाई थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ। ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा ११ देखि १६ मंसिरमा हुने च्याम्पियनसिप खेल्न लागेको हो।
विश्व फुटबल महासंघ (फिफा)अन्तर्गत आइएसएफएले सञ्चालन गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ। चीन जाने टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, प्रदेश सांसद सुनील केसी, क्लबका पूर्वअध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरे।
सातसदस्यीय नेपाली टोली आइतबार चीन प्रस्थान गर्नेछ। टोलीको खेलाडीमा दीपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांशु शर्मा छन्। प्रशिक्षकमा अशिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल रहेका छन्। उपाधि जित्ने लक्ष्यका साथ दुई महिनादेखि निरन्तर अभ्यास गरेको प्रशिक्षक अशिम अर्यालले जानकारी दिए। ‘स्ट्रिट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दाबेदार हौँ। राम्रो तयारी गरेकोले उपाधि जितेर फर्कने लक्ष्य राखेका छौं,’ अर्यालले भने। प्रशिक्षक अर्यालका अनुसार फुटसलभन्दा सानो कोर्टमा खेलिने थ्री बाई थ्री फुटबल आठ मिनेटको हुनेछ।