मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
२o८१ मङ्सिर ८ शनिबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार

जुम्लाका सबै स्थानीय तह साक्षर घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार १७:१३:oo

सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षरता घोषणा गर्ने अभियानअनुसार जुम्लाका सबै स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ। चन्दननाथ नगरपालिका, कनकासुन्दरी, हिमा, पातारासी, तातोपानी, गुठीचौर र तिला गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो।

साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये ६ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो।

कनकासुन्दरी ९७ प्रतिशत, हिमा ९६ प्रतिशत, सिँजा ९६.५ प्रतिशत, चन्दननाथ ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। तातोपानी ९५.७७ प्रतिशत, गुठीचौर ९५.७३ प्रतिशत र तिला गाउँपालिका ९५.४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक रहेको छ। 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सबै स्थानीय तह साक्षर घोषणा भइसकेको बताए। अब सिंगो जिल्ला साक्षरता घोषणा गर्न सबै जुट्नुपर्ने बताए। उनले भने, ‘जिल्लाका आठै पालिका साक्षर घोषणा गरेर एक सफलता प्राप्त भएको छ। अब कुनै पनि नागरिक निरक्षर छैनन्। नियमित कार्यान्वयनमा जोड दिन आवश्यक छ।’  

साक्षर घोषणाका सूचक
–राष्ट्रभाषा र मातृभाषाका वर्ण अक्षरको पढाइ र लेखाइ गर्न सक्ने।
–नेपाली र मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न सक्ने।
–आफ्नो र परिवारका सदस्यको नाम, उमेर, लेखाइ र पढाइ गर्न सक्ने।
–मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने।
–० देखि ९ सम्मका अंक र चिह्न लेख्न सक्ने।
–१ देखि १०० सम्मका अंक गणना गर्न सक्ने।
– लेनदेनको हरहिसाब राख्न सक्ने।
– सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने।
–सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने।
–घडी हेरेर समय बताउन सक्ने।
– भित्तेपात्रो हेरेर तिथि मिति बताउन सक्ने।
–बैंक भौचर भर्न र चेक खिच्न सक्न।