मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
२o८१ मङ्सिर ८ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बिआरआईमा ऋण स्वीकार्य हुँदैन : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार १७:o६:oo

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले ऋणको भार थेग्न नसक्ने भएकाले बेल्ट एन्ड रोड ( बिआरआई)मा ऋण अस्वीकार्य हुने बताएका छन्।

सिराहाको लहानमा शनिबार कांग्रेस नगर समितिद्वारा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले छिमेकी चीन, भारतसहित विश्वका जुनसुकै देशको सहयोग स्वीकार गरिने, तर ऋणको रूपमा नलिइने स्पष्ट गरे। ‘अब हामी धेरै ऋण बोक्न सक्दैनौँ,’ उनले भने, ‘श्रीलंकाले ऋणमा बनाएको हम्बनटोटा बन्दरगाहकै नियति भोग्नुपर्नेतर्फ सजग हुनुपर्छ।’

‘ऋण सहयोगमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जरुरी थिएन,’ उनले भने, ‘१२ मिनेट हवाई यात्राको दूरीमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएकै थियो, बरु पोखराको अन्तर्राष्ट्रिय विमानस्थल मधेशमा बनाइनुपर्थ्यो।’ कांग्रेससहितको गठबन्धनको सरकारको सन्दर्भमा उनले वर्तमान सरकार नढल्ने र ढल्न नहुने चर्चा गर्दै बरु सरकारले काम गर्ने गति बढाउनुपर्ने उल्लेख गरे। ‘हामी पनि सरकारमा रहेकाले मुलुक र जनताको पक्षमा राम्रो काम गर्नैपर्छ।’

सहकारी ठगी प्रकरणमा पक्राउ र कारबाहीको सवालमा उनले जुनसुकै दलका नेता भए पनि कानुनी कारबाही हुने दाबी गरे। ‘कांग्रेसका उपसभापति धनराज गुरुङको नाम पनि चर्चामा आएको छ,’ उनले भने, ‘छानबिन र अनुसन्धानअनुसार अदालतले दोषी करार गर्‍यो भने उपसभापति भनेर छोडिनुहुन्न, उहाँ पनि जेल जानुपर्छ।’

कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस सम्बद्ध विभिन्न भातृ संगठनका अगुवा नेता-कार्यकर्ताहरूले जिल्लाको विकास निर्माण, शिक्षकहरूको सरुवा-बढुवा, सामुदायिक विद्यालयमा दिवाखाजा, सीमा नाकामा नेपाली सवारीसाधनलाई लिइने रकम, पार्टीभित्रको आन्तरिक झगडालगायतको विषयमा पार्टीको केन्द्रीय नेतृत्वले ध्यान दिनुपर्ने माग गरे।