११ र १२ असोजमा आएको बाढीले नवलपुरको नारायणी नदी तटीय क्षेत्रका माछापोखरीमा ठुलो क्षति पुगेको छ। कावासोती १५, १७, मध्यविन्दु ३, २ लगायतको क्षेत्रमा गरी तीन करोडभन्दा बढीको माछा बगाएको हो।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले ११ र १२ असोजमा आएको बाढीले नारायणी नदीनजिकका धेरै माछापोखरी बगाएको बताए। जसबाट तीन करोडभन्दा बढीको क्षति भएको उनले जानकारी दिए।
कावासोती–१७ का परमेश्वर महतोले एक बिघाको पोखरीमा ६० क्विन्टल माछा बगाएको बताए। उनले दुई वर्षदेखि पालेर राखेको माछा बगाएको बताए। कावासोती–१५ का वडाध्यक्ष तेजकुमार श्रेष्ठको तीन बिघा पोखरीमा पालेको माछा ४० क्विन्टल १५ लाखबराबरको क्षति भएको बताए।
कतिपय माछापालक किसानले माछाको बिमा गरेको भए पनि कतिपयले गरेका छैनन्। बिमा गरेका नगरेका सबैलाई धेरै थोरै राहत दिनुपर्ने नवलपुर मत्स्य व्यवसायी संघका अध्यक्ष इन्द्रमणि भुसालले बताए।
बिमा दाबीका लागि क्षतिको तथ्यांक संकलन गरी प्रदेश सरकार मत्स्य विकास निर्देशनालयमा पठाएको र छिट्टै क्षतिपूर्ति आउने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताए। उनका अनुसार बढीमा एक कृषकलाई तीन लाखबराबरको राहत रकम उपलब्ध हुने बताए। उक्त राहत रकमबाट कृषकले माछाका भुरा हाल्न तथा पोखरीमा बाढीले भत्किएको संरचना बनाउन सक्नेछन्।
नवलपुरमा दुई सयभन्दा बढी व्यावसायिक माछापालक किसान छन्। १४२ हेक्टर क्षेत्रफलमा माछापोखरी छन्। नवलपुरमा ९९४ मेट्रिक टन माछा उत्पादन हुने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले बताए।