दाङको दंगीशरण गाउँपालिका–३ स्थित थारू सङ्ग्रहालयमा संरचना थपिएसँगै आकर्षण बढेको छ । सङ्ग्रहालयमा देशभरका थारू पुर्खाहरूको रहन, सहन, भेषभूषा, संस्कार, संस्कृति झल्किने थारू गाउँ बस्ती नाम दिएर संरचना थपिएसँगै थप आकर्षण बढेको हो ।
जहाँ दाङको डगौरा नाच, देउखुरी दाङको नाच, कोशी पारी रहेको मोरङ नाच, चितवनको लठ्ठी नाच, कैलाली र कञ्चनपुरका राना थारुहरुको नाच, होली नाच, बड्का नाचको मूर्ति राखिएको छ ।
थारू समुदायका पुर्खाहरुले कस्तो खाने कुरा खान्थे, कस्तो संस्कार, संस्कृति थियो भन्ने कुरा त्यसमा देखाइएको छ । जसले गर्दा दैनिक एक सयभन्दा बढीले अवलोकन गर्ने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले बताइन्।
‘चाडपर्वको समयमा त सात सयभन्दा बढी दैनिक अवलोकन गर्ने हुन्छन्’, उनले भनिन्, ‘अफ सिजनमा मात्रै दैनिक एक सयभन्दा बढी आउने गर्नुहुन्छ ।’
जहाँ सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाँचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।
सबै समाजका थारू समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । चौधरीका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभई बाहिरबाट आउनेको सङ्ख्या बढिरहेको छ । त्यहाँ थारू समुदायका पुराना सिक्का, गरगहना, माटोका भाडा, दंगौरा घरलगायतका सामग्री सङ्ग्रहालयमा राखिएको छ ।
अहिलेसम्म करिब रु १० करोड खर्च भइसकेको उनले बताइन्। साथै थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । विसं २०७५ सङ्ग्रहालयदेखि उक्त सङ्ग्रहालय सञ्चालनमा आएको हो । सोही सङ्ग्रहालय निर्माण भएपछि स्थानीयले रोजगारी पाएका छन् ।
थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा संकलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ ।
सङ्ग्रहालयमा राना, डंगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट संकलन गरी ल्याएको छ । उक्त सङ्ग्रहालय पाँच बिघा क्षेत्रफलमा रहेको छ ।
सङ्ग्रहालयमा सामान्य प्रवेश शुल्क रु ५० छ । तर, अपाङ्ग, विद्यार्थी, एकल महिलालाई रु ३० मात्रै छ । दैनिक सरदरमा ४० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताइन्।