अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटबल गुल्मीमा ६० उजुरी दर्ता भएका छन् । आर्थिक बर्ष ०८१/८२ मा दर्ता भएका उजुरीमध्ये ३५ वटा फस्यौट भएका छन् ।
अझै २५ वटा उजुरी फस्यौट हुन बाँकी छन् । यो तथ्यांक स्थानीय तह र सोहि स्थानीय तहभित्र रहेका सवै कार्यालयहरुको हो । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटबलले आयोजना गरेको जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको विवरण अनुसार स्थानीय तहको आधारमा हेर्दा मुसिकोट नगरपालिकाका पाँच उजुरीमध्ये तीन फस्र्यौट भएर दुई बाँकी छन् ।
रेसुङ्गा नगरपालिकाका नौ मध्ये तीन फस्यौट दुई बाँकी, इस्मा गाउँपालिकाका छ मध्ये चार फस्र्यौट भएर दुई बाँकी रहेका छन् । कालिगण्डकी गाउँपालिकाका तीन मध्ये सबै फस्यौट हुन बाँकी छन् ।
सत्यवती गाउँपालिकाका सातमध्ये पाँच फस्यौट दुई बाँकी, चन्द्रकोट गाउँपालिकाका दुई मध्ये एक फस्र्यौट एक बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटबलले जनाएको छ । आयोगका अनुसार रुरुक्षेत्र गाउँपालिकाका छ उजुरीमध्ये तीन फस्यौट, तीन बाँकी छन् । छत्रकोटका दईमध्ये सबै फस्यौट भएका छन् । धुर्कोटका छ मध्ये तीन फस्यौट, तीन बाँकी छन् ।
मदानेका पाँच मध्ये चार फस्र्यौट एक बाँकी, मालिका गाउँपालिकाका आठमध्ये छ फस्र्यौट दुई बाँकी र गुल्मीदरबारका एक मध्ये फस्र्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटबलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
लुम्बिनी प्रदेशका नौ जिल्लामा ७९९ उजुरी दर्ता भएकोमध्ये ४८५ फस्र्यौट भएर ३१४ उजुरी बाँकी छन् । आयोग वुटवलले हेर्ने नौ जिल्ला मध्ये सबैभन्दा धेरै रुपन्देहीमा २५६, कपिलवस्तुमा २०६, नवलपरासी बर्दघाट सुस्ता पश्चिममा ९८ उजुरी दर्ता भएका छन् । आयोगको कार्यालय बुटबलमा आर्थिक बर्ष ०७९/८० मा एक हजार ५२३ र ८०/८१ मा दुई हजार १८४ उजुरी दर्ता भएको पौडेलले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटबलका प्रमुख राजेन्द्र न्यौपानले उजुरी परेपछि कार्यालय तथा स्थानीय तहहरुले माग गरेका विवरण सहितका कागजात सूचना समयमै प्राप्त नहुँदा कार्य फस्र्यौटमा ढिला हुने गरेको बताए । उनले कार्यालयले सम्पर्क बिन्दु सुशासन इकाई गठन नगर्ने, प्रतिक्रिया माग गरेकोमा नपठाउने, मागेको भन्दा आफु अनुकुल जवाफ पठाउने तथा गोलमटोल वा अस्पष्ट भाषा प्रयोग हुने असान्दर्भिक कागजातको थुप्रो पठाउने समस्या रहेको बताए ।
आरोपित व्यवक्ति वा निकायकै जवाफ साभार गरेर पठाउने, स्थालगत निरीक्षणबिना जवाफ पठाउने, सुझाव कार्यान्वयन नगर्ने, आवश्यक कारवाहीको लागि लेखी पठाएकोमा केही कारवाही नगर्ने र गरेको भएपनि आयोगमा जानकारी नपठाउने प्रवृतिको कारण आयोगलाई उजुरी फस्र्यौटमा सास्ती भएको पौडेलले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर हरि पौडलको प्रमुख आतिथ्यतथा रहेको कार्यक्रममा आयोग केन्द्रिय कार्यालयका सहसचिव रमेश कुमार केसीले सरोकारवालाको गुनासाहरुको संबोधन गरेका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले प्रश्न, गुनासा र सुझाव राखेका थिए ।