मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ जेठ १४ मंगलबार ०७:१८:००
Read Time : > 8 मिनेट
अन्तर्वार्ता

सभापति महाधिवेशनबाट भाग्ने सोचमा देखिनुभएको छ : डा. शेखर कोइराला

नेतृत्वलाई नेता–कार्यकर्ताले लाञ्छना लगाए तुरुन्त खबर गर्न ७७ जिल्लामै परिपत्र गरिएको छ । कांग्रेस के ‘रेजिमेन्टेड’ पार्टी हो ?

Read Time : > 8 मिनेट
२०७६ जेठ १४ मंगलबार ०७:१८:००

पछिल्लो समय एकपछि अर्को जिल्ला घुमिरहनुभएको छ । मान्छेहरूले यो घुमघामलाई सभापतिमा दाबेदारीका रूपमा बुझेका छन् । यो बुझाइ सही हो ? 

म घुमिरहेको साथीहरूले पचाइरहेका छैनन् । तर, म घुम्न थालेपछि साथीहरू पनि धेरै घुम्न थाल्नुभएको छ । म यसलाई उहाँहरूको डर मान्दिनँ । जे कारणले भए पनि कार्यकर्ताकहाँ पुग्न थाल्नुभयो । यो राम्रो हो । अब दाबेदारीको प्रसंग । आफूले काम गरेको ठाउँमा ‘टप’मा पुगौँ र गरेर देखाऔँ भन्ने इच्छा सबैमा हुन्छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दा मलाई त्यहाँ जाने इच्छा थिएन । आफ्नै डाक्टरी पेसा गरिरहेको थिएँ । तैपनि, प्रोजेक्ट बन्दा मेम्बर सेक्रेटरी भएँ । काम गर्दै गएपछि रुचि जाग्दै गयो । शिक्षाध्यक्ष भएँ, त्यसपछि उपकुलपति । त्यसैले, आफ्नो संस्था (कांग्रेस)मा ‘फस्र्ट म्यान’ बनौँ भन्ने इच्छा हुनु स्वभाविकै हो । 

भनेपछि, तपाईंंको दाबेदारी हो ?

(लामो हाँसो) तपाईंले जसरी लिए पनि भयो । के छ जिल्लाका कार्यकर्ताको प्रतिक्रिया ? 
कार्यकर्तालाई नेकपाका केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले तर्साइरहेका छन् । केन्द्रका नेतालाई धेरै समस्या छैन । मैले चाहेमा प्रधानमन्त्री र मन्त्रीहरू भेट्न सक्छु, सानातिना काम गराउन सक्छु । तल भेदभाव मात्र होइन, मारपिटकै डर छ ।

 नेकपासँग डर मात्रै छ कि कांग्रेसनेतृत्वमाथि भर पनि छ ?

सिनियर नेताहरूले प्रजातन्त्र र लोकतन्त्रका निम्ति दिएको योगदानका लागि कार्यकर्ता आभारी छन् । तर, अबको राजनीतिमा उहाँहरू संरक्षक मात्र भएर बसिदिए हुन्थ्योभन्ने चाहन्छन् । 

ती ‘सिनियर उहाँहरू’ को–को हुन् ? 

सभापतिजी (शेरबहादुर देउवा) हुनुभयो । वरिष्ठ नेता (रामचन्द्र पौडेल) हुनुभयो । उहाँहरूले पार्टीका निम्ति योगदान गर्नुभएको छ । हामी सम्मान गर्छौँ । तर, उहाँहरूबाट जुन आशा गरिएको थियो, त्यो आशा पूरा भएन भन्ने कार्यकर्ताको राय छ ।

महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग हुन शेरबहादुर र रामचन्द्रलाई अहिल्यै दबाब दिने ? 

यो मेरो कुरा होइन । उहाँहरूले लड्नै चाहेको भए लडे हुन्छ । उहाँहरूलाई नलड्नुस् भन्नु त हाम्रो पराजित मनस्थिति हो । तर, उहाँहरूले गर्दा पार्टी कहाँ पुग्यो ? यो पनि हेर्नुप-यो । सम्मानित र संरक्षक भएर बसे राम्रो । होइन, लड्न चाहनुभयो भने त कसले रोक्ने उहाँहरूलाई ? 

सभापतिसँग सीधै भनाभनमा हुनुहुन्छ नि ?  

मेरो भनाभन छैन । यो त सभापतिले उछालेको हो । म आदर गर्छु । मेरो सभापति हो, मभन्दा धेरै सिनियर हुनुहुन्छ । उहाँसँग मेरो प्रतिस्पर्धा पनि छैन । 

सभापति उठ्ने भएपछि प्रतिस्पर्धी हुनुभएन ? 

उठ्ने त अरूले पनि भनिराखेका छन् नि । रामचन्द्रजी, शशांकजी, सिटौलाजी, प्रकाशमानजी र अरू जीहरूले भनिरहेका छन् । हो, म अन्याय सहन्नँ । चुप लागेर बसेको मान्छेलाई उहाँ दबाउन खोज्नुहुन्छ । मलाई कसैले जथाभावी भन्न थाल्यो भने म सहन सक्दिनँ । 

हामी एउटै पार्टीमा एउटै विचार लिएर हिँडेका छौँ । सभापतिजी भन्नुहुन्छ, ‘पार्टीमा गुटबन्दी धेरै भयो । पार्टीमा साथीहरूबीच बोलचाल भएन ।’ सबैभन्दा गुटबन्दी त उहाँले नै गर्नुभएको छ । सभापतिले गुटबन्दी गर्नुभएन भन्ने कि नभन्ने ? प्रजातान्त्रिक विचार समाजजस्तो प्राज्ञिक ठाउँमा उहाँले प्रमुख अतिथिको रूपमा भाषण गर्दा ‘पढेलेखेर के गर्नुहुन्छ ?’ भन्नुभयो । यस्तो अभिव्यक्तिलाई गलत भन्ने कि नभन्ने ? साथीहरूबीच आपसी बोलचाल छैन भने बोलचालको वातावरण बनाउने कसले ? चारपटक प्रधानमन्त्री भइसक्नुभएको छ । सभापतिले यसरी ठट्टा गरेर बोल्न मिल्दैन । 

जागरण अभियानप्रति पनि असन्तुष्टि हो ?

महासमितिमा अलिअलि छलफल भयो । तर, केन्द्रीय समितिमा मसिनो छलफल नै नगरी अभियान सुरु भयो । कांग्रेसको संगठनबारे कार्यकर्तालाई ऊर्जाशील र चुस्तदुरुस्त बनाउने अनि सरकारका गलत कामबारे कार्यकर्ता र नागरिकलाई सुसूचित गराउने मुख्य दुई उद्देश्य हुन्, अभियानका । उद्देश्य ठीक छन्, तर बिडम्बना के भने वडादेखि प्रदेशसम्मै कांग्रेसको संगठन छैन ।

हामीले विधान त फे-यौँ, संरचना फेरेनौँ । वडा, गाउँपालिका, नगरपालिका र प्रदेशमा नै संरचना नभएपछि कसरी अभियान सफल हुन्छ ? गाउँपालिकाको अध्यक्ष छैन, वडामा दुई–तीनजना सभापति छन् । क्षेत्रीय सभापति पहिले २४० जना थिए, अब १६५जना बनाउनुपर्ने अवस्था छ ।

प्रदेशको संरचना नै बनेको छैन । भ्रातृ संस्थातिर उस्तै भद्रगोल छ । नेविसंघ विघटित छ । तरुण दल चारजनाले चलेको छ । दलित संघमा सात वर्षपछि महाधिवेशन हुन लागेको थियो, तर फेरि सारियो । प्रजातान्त्रिक सेनानी संघ, किसान संघको अधिवेशन नै हुँदैन । 

शशांक र म, म र सुजाता, सुजाता र शशांकबीच कुराकानी भइरहेको छ

के होला त यो अभियानको निहितार्थ ? 

विधानअनुसार यही वर्ष १४औँं महाधिवेशनका कार्यक्रम सुरु हुनुपर्ने हो । त्यसो गर्दा वडा, पालिका वा प्रदेशको पनि संरचना बन्ने थियो । प्राथमिकता त त्यो पो हो । अधिवेशनभन्दा जागरण अभियानमा जोड गर्नु भनेको महाधिवेशन सार्ने सभापतिको दाउ पो हो कि ? 

विधानमा व्यवस्था छ । सार्न सक्नुहुन्न र ? 

विशेष परिस्थितिमा एक वर्ष लम्ब्याउन पाउने व्यवस्था छ । तर, विशेष परिस्थिति के छ ? हामी संघ र कुनै पनि प्रदेशमा सरकारमा छैनौँ । यस्तो वेलामा त संगठन गर्ने हो । अधिवेशन भयो भने गुटबन्दी पनि कम हुँदै जान्छ । अन्तरघुलन हुन्छ । तर, सभापति कार्यकर्ताको ध्यान ‘डाइभर्ट’ गर्ने र महाधिवेशनबाट भाग्ने सोचमा देखिनुभएको छ । 

नेतृत्वले कार्यकर्तालाई डन्डा लगाउन खोज्यो भन्ने पनि आरोप छ नि तपाईंको ? 

नेतृत्वलाई नेता–कार्यकर्ताले केही लाञ्छना लगाए तुरुन्त खबर गर्नु भनेर ७७ जिल्लामै परिपत्र गरिएको छ । त्यो भनेको डन्डा चलाउन खोजेको होइन ? कांग्रेस के ‘रेजिमेन्टेड’ पार्टी हो ? नेकपाभित्रसमेत ‘रेजिमेन्टेसन’ हट्न लाग्यो । वामदेव गौतमले मिडिया काउन्सिल विधेयकबारे विज्ञप्ति नै निकाल्नुभयो । त्यो प्रधानमन्त्री वा पार्टी अध्यक्षलाई सेन्सर गरेको हो नि । नेता– कार्यकर्ताले सभापतिलाई सेन्सर गर्न नपाउने हो भने पार्टी कहाँ रहन्छ ? 

सभापति हुने भन्नुहुन्छ । पहिला आफ्नै (कोइराला) परिवारबाट सर्वसम्मत बन्न सक्नुहुन्छ ? 

शशांक र म, म र सुजाता, सुजाता र सशांकबीच पनि कुराकानी भइरहेको छ । हामीबीच धेरै फरक मत पनि छैन । सुजाता र शशांकभन्दा उमेरमा म जेठो छु । तर, राजनीतिमा हामी सँगसँगैजस्तो लागेका हौँ । सभापति हुने चाहना मलाई मात्र होइन शशांकलाई पनि छ । रामचन्द्रजीलाई पनि छ । सिटौलाजीलाई पनि छ ।

प्रकाशमानजीलाई पनि छ । फेरि, कार्यकर्ताले मलाई नबनाउने हो भने शशांक, सुजाता, रामचन्द्र, प्रकाशमानले मलाई उम्मेदवार मात्र भन्दिएर हुन्छ ? कार्यकर्ताले भन्नुप-यो डा. शेखर कोइराला चाहियो भनेर । मेरो निश्चित उमेर भइसक्यो । अब धेरै विचार गरेर अगाडि जानुपर्छ । परिवारको मात्रै पनि कुरा होइन । कोइराला परिवारमा कुरा मिल्यो रे । त्यसपछि पुरानो संस्थापनबाट अरू कसैले पनि उम्मेदवारी दिँदैनन् त ? 

अघिल्लोपटक कोइराला परिवारको पनि साझा उम्मेदवार भएर शशांक महामन्त्री हुनुभयो । उहाँ सभापतिको स्वाभाविक दाबेदार हुँदाहुँदै तपाईं सभापति बन्न खोज्दै हुनुहुन्छ । अहिलेको केन्द्रीय कार्यसमितिमा सभापतिपछि सबैभन्दा बढी केन्द्रीय सदस्य पनि सशांकसँगै छन् । महामन्त्रीका रूपमा उहाँको कार्यसम्पादनले सभापति बन्न अयोग्य भनेर प्रमाणित गरेको तपाईंको निष्कर्ष हो ? तपाईंले सोधिहाल्नुभयो । यही प्रश्न शशांकलाई सोध्नुहोस् । यसको जवाफ त 
शशांकले नै दिन्छन् । 

तपाईंं केन्द्रीय सदस्य हो । भाइ न सही, महामन्त्रीप्रति त एउटा धारणा होला नि ? 

मैले मात्र होइन रामचन्द्रजीहरूले पनि शशांकलाई भनिरहेका हुन्छौँ : अफिस बस्नुस् । मान्छेसँग भेट्नुस् । काम गर्नुस् पार्टीको महामन्त्री संगठनको मुटु हो । कांग्रेसमा गिरिजाप्रसाद त्यसै गिरिजाप्रसाद भएको होइन । महामन्त्री भएपछि संगठनमा पकड बनाउनुभयो । 

महामन्त्रीले सभापतिलाई गल्ती गर्नबाट रोक्न सक्नुभएन, गलत कदमको पनि विरोध गर्नुभएन भन्ने गुनासो त छ नि ? 
यो कुरा बैठकमा पनि उठेको छ । तर, यसको जवाफ शशांकले नै दिने हो ।

प्रदीप गिरिको एउटा ठट्टा छ : कांग्रेसमा जन्मसिद्ध, वंशज र अंगीकृत गरी तीन थरी कांग्रेस छन् । तपाईंहरू कोइराला भएकाले वंशज कांग्रेस हुनुभयो । कोइराला नै छान्नुपरेपछि कार्यकर्ताले बिपीको छोरा छाडेर भतिजा रोज्लान् ? 

मकहाँ पनि कोइराला परिवार र लिगेसी भन्दै मान्छेहरू आउँछन् । उनीहरूलाई म लिगेसीका कुरा नगर भनेर सम्झाएर पठाउँछु । लिगेसीको कुरा अरूसँगै गर, म कर्ममा विश्वास गर्छु, भन्छु । पार्टी बिपी कोइरालाले सुरु गर्नुभयो, तर पार्टीमा सुवर्ण शमशेर र गणेशमान सिंहको पनि उत्तिकै योगदान छ । 

पार्टीमा प्रतिस्पर्धा हुन्छ, तर पद एउटा मात्रै हुन्छ । प्रतिस्पर्धामा कार्यकर्ताले जसलाई रुचाउँछन् उही अगाडि आउँछ । कांग्रेसभित्र तीन कोइराला राजनीति गर्दै छौँं । तर, म पारिवारिक लिगेसीमा पटक्कै विश्वास गर्दिनँ । म आज मात्र होइन, हिजो पनि आफ्नो खुट्टामा उभिएर राजनीति गर्नुपर्छ भन्ने मानिस हुँ । जसले काम गर्छ, उसलाई कार्यकर्ताले पत्याउँछन् उही अगाडि बढ्छ । कांग्रेसमा कसैले पनि र हामीले पनि ‘कोइराला हौँ, त्यसैले अपरिहार्य छौँ’ पनि भन्न मिल्दैन ।

दक्षिण एसियामा यसै वर्ष भएका चुनावमा पाकिस्तान, भारत र श्रीलंकामा पनि पारिवारिक बिरासतको राजनीति कमजोर भएको देखियो । राहुल गान्धीले त आफ्नै परम्परागत सिट पनि हारे । कांग्रेसमा कोइराला बिरासतको भविष्य कस्तो देख्नुुहुन्छ ? 

तपाईं जनतालाई कति साथमा लिएर हिँड्नुहुन्छ, यसैले भविष्य निर्धारण गर्छ । ०५९ सालको सुरुमा गिरिजा बाबुमाथि चौतर्फी प्रहार थियो । धेरै थरी आरोप लगाइएका थिए । तर, उहाँले राजा निरकुंश हुन थाले भनेर इस्युलाई समात्नुभयो, सडकमा आउनुभयो । अनि गिरिजाबाबुको ‘हाइट’ बढ्दै गयो । अब यसरी हुँदैन, माओवादीलाई पनि ल्याउनुपर्छ भनेर ल्याउनुभयो, सबैको मन जित्नुभयो । हामी कोइरालाहरूले पनि यसरी मन जित्न सक्यौँ भने आउँछौँ । सकेनौँ भने हामी विलीन हुन्छौँं । 

कांग्रेसले वाइडबडी, बुढीगण्डकी र बालुवाटारको ललिता निवास प्रकरणबारे स्पष्ट गर्न सक्नुपर्छ  


१३औँं महाधिवेशनमा जस्तै पुरानो संस्थापन विभाजित हुन्छ कि एकै ठाउँमा उभिन्छ ? 
विभाजित हुन सक्छ । नहुन पनि सक्छ । दुवै सम्भावना छ । 

आगामी महाधिवेशनको तस्बिर के हुन सक्छ ?

कांग्रेसको विधानमा सभापति हुन ५० प्रतिशत मत ल्याउनुपर्छ । १३औँं महाधिवेशनमा पनि जित्न ५० प्रतिशत मत ल्याउनुपर्ने थियो । पहिलो चरणमा देउवालाई थोरै मत पुगेको थिएन । यसकारण देउवा र रामचन्द्रजीले दोस्रोपटक चुनाव लड्नुभयो । १४औँं महाधिवेशनमा पनि ठ्याक्कै दुईजना मात्र उठ्छन् भन्ने मलाई लाग्दैन । त्यसैले, पहिलो चरणमै कसैलाई ५० प्रतिशत मत पुग्छ जस्तो लाग्दैन । 

विभिन्न गुट र उपगुटका असन्तुष्टहरूसँग सबैभन्दा बढी संवाद गरिरहनुभएको छ । अहिले कांग्रेसको आन्तरिक प्रतिस्पर्धाको वास्तविक चित्र के हो ? 
केन्द्रका सिनियर नेताहरू सबैजसो ‘सभापतिको उम्मेदवार हुँ’ भन्ने हिसाबले जानुभएको छ । कोही घोषणा नै गरेर, कोही नबोली । जस्तो, विमलेन्द्र निधिजी पनि सभापतिकै तयारी गरिरहनुभएको छ, तर आफ्ना निकटहरूसँग मात्र । वरिष्ठ उपसभापतिले सभापति दाबी गर्नु प्राकृतिक र स्वाभाविक पनि हो । मलाई त ‘जुनियर’ भनेर पन्छाई नै सकेका छन्, साथीहरूले । त्यसमा मलाई केही भन्नु छैन । जिल्लाका कार्यकर्ताले भने शेरबहादुर र रामचन्द्र पौडेल त हुँदै हुदैन भनेर स्पष्ट भनेका छन् । तर, योचाहिँ हुन्छ भन्ने निष्कर्षमा पनि पुगेका छैनन् । खासमा अहिले कांग्रेसका कार्यकर्ताहरू भावी सभापतिको खोजीमा छन् र सबै दाबेदारलाई तौलिइरहेका छन् । 

अतीतमा जाऊँ । १३औँं महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाले के गल्ती गरे ?

मुख्य गल्ती त रामचन्द्रजीले सिटौलाजीलाई व्यवस्थापन गर्न सक्नुभएन । रामचन्द्रजीमा व्यवस्थापकीय क्षमता पनि देखिएन । उहाँले प्यानल त बनाउनुभयो, तर सबैलाई समेट्न नसक्दा साथीहरूमा असन्तुष्टि देखियो । तिमीलाई यहाँ व्यवस्थापन गर्छौँ भनेर सम्झाइदिने कोही भएन । 

पुरानो संस्थापन विभाजित छ । सभापतिको समूह एकगठ छ । अबको महाधिवेशनमै पनि पुरानै परिणाम त दोहोरिएला नि ? 

सभापतिको समूह एकगठ रहने सम्भावना म त देख्दिनँ । शेरबहादुरजीका पक्षमा निरन्तर उभिएका युवा साथीहरूले त्यो समूहमा आफ्नो भविष्य देखिरहेका छैनन् । पार्टी खत्तम भइसक्यो भन्ने पनि उनीहरूको बुझाइ छ । सभापतिले अहिलेसम्म हारको जिम्मेवारी नलिएकामा उहाँकै पक्षका नेताहरू रुष्ट छन् । भारतमा राहुल गान्धीले प्रारम्भिक परिणाम आउँदै जिम्मेवारी लिए र अर्को दिन नै केन्द्रीय कार्यसमिति बैठक बोलाए ।

देउवाजीलाई समीक्षा बैठक बोलाउनै छ महिना लाग्यो । पार्टी बाँच्यो भने न युवा पुस्ता अघि जाने हो । खासमा कांग्रेसभित्र दुई समूह छन् । एउटा समूह कांग्रेसलाई बलियो बनाउन लागेको छ, अर्को समूह शेरबहादुरजीलाई बलियो बनाउन । सभापति पदलाई होइन, व्यक्ति शेरबहादुरजीलाई । पार्टी बलियो हुनुप-यो भन्ने हाम्रो मुख्य ध्येय हो । सभापति त पार्टी बलियो भए आफैँ बलियो भइहाल्छ नि ।

कांग्रेसमा कसैले पनि र हामीले पनि ‘कोइराला हौँ, त्यसैले अपरिहार्य छौँ’ पनि भन्न मिल्दैन

सभापतिप्रति एकदमै आक्रामक हुनहुुन्छ ।उहाँले धेरै नै गल्ती गर्नुभयो ? 

उहाँले सबैभन्दा ठूलो गल्ती गुटको राजनीतिमा रमाएर गर्नुभयो । दोस्रो, उहाँ आफैँले सरकारको नेतृत्व गर्दा र कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्दा पनि दुई/चारवटा ठूला गल्ती भए । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रकरण, राजदूत नियुक्ति प्रकरणलगायतले कांग्रेसलाई कमजोर बनाए ।

स्थानीय तहमा पार्टीको टिकट पनि कसैसँग छलफल नगरी वितरण भयो । स्थानीय तहको टिकट पनि केन्द्रले दिने ? त्यहाँको वस्तुस्थिति थाहा हुन्छ सभापतिलाई ? चितवनमा कहिले प्रचण्डकी छोरीलाई छोडेको छ, कहिले विक्रम पाण्डेलाई । उपेन्द्र यादव र महन्थ ठाकुरलाई कोसँग सल्लाह गरेर छोडिदिनुभयो ?

कमल थापालाई कांग्रेसले छोडिदिनुपर्ने, तर कमल थापाले कांग्रेसका उम्मेदवारविरुद्ध उम्मेदवार उठाउँदा उहाँले केही नभन्ने ? सिटौलाजी हार्नुमा सभापतिको जिम्मेवारी छैन भने कसको छ ? यस्ता प्रश्नले उहाँलाई रिस उठ्छ भने मलाई केही भन्नु छैन । निर्वाचनपछि मन्त्रिपरिषद्बाट गरेका निर्णय अगाडि नै गरेको भए ४०/५० हजार मत पार्टीको पक्षमा पथ्र्यो होला । पहिला किन गर्नुभएन ? बिबिसीलाई दिएको अन्तर्वार्ताले समाजमा के सन्देश गयो ? जिल्ला जाँदा कार्यकर्ता यही प्रश्न गर्छन् । 

पछिल्लो समय हरेक घोटालाका केही न केही छिटा तपाईंको पार्टी सभापतितिर पनि परिरहने किन होला ? कि यो राजनीतिक षड्यन्त्र हो ? 

खै किन पर्छ ? मलाई थाहा भएन । चारचोटी प्रधानमन्त्री भइसकेको भएर पनि हुन सक्छ । वाइडबडी प्रकरणमा कांग्रेस सदन र सडकमा जसरी सशक्त रूपमा प्रस्तुत हुनुपथ्र्याे, त्यसरी नभएको महसुस गरेको छु । संसद्मा सभापतिले आफैँ बोल्नुभएको त हो, तर प्रधानमन्त्रीले पर्यटनमन्त्रीलाई निर्दोष नै भन्दा पनि हामीले प्रतिवाद गरेनौँ । त्यसो भए दोषी को त भनेर प्रश्न गरेनौँ । यसरी सफाइ दिन प्रधानमन्त्री कहिलेदेखि अख्तियार प्रमुख र प्रधानन्यायाधीश पनि बने भनेर सोधेनौँ ।

यो विषय संसद्मा उठाउनुपर्ने हो कि होइन ? ४५ दिनको समय दिएर छानबिन गर्न भन्दै आयोग बनाइयो, ४६औँ दिनसम्म आयोगको अध्यक्षलाई नै थाहा छैन । यस्ता गम्भीर विषयमा नबोलेपछि मानिसहरूले शंका गर्ने नै भए । अर्को, उहाँ संवैधानिक परिषद्मै जानुुहुन्न । बैठकमा जानुप-यो, यो निर्णय मलाई मान्य छैन भनेर नोट अफ डिसेन्ट लेख्नुप-यो ।

संवैधानिक परिषद्मा विपक्षी दलको नेता एउटा पनि बैठकमा उपस्थित नहुँदा के म्यासेज जान्छ, आमनागरिकमा ? कांग्रेसले वाइडबडी, बुढी गण्डकी र बालुवाटारको ललिता निवास प्रकरणबारे पार्टीको धारणा स्पष्ट गर्न सक्नुपर्छ । 
हाम्रा अग्रजहरूले हामीलाई राजनीतिक संस्कार र लोकतान्त्रिक पद्धति सिकाएर जानुभएको छ । राजनीतिमा नैतिकता हुनुपर्छ भन्ने बिरासत छाड्नुभएको छ । अहिले हामी नैतिकताको कसीमा खरो उत्रिन सकेका छैनौँ । कांग्रेस त्यसैले कमजोर भएको छ । 

१४औँ महाधिवेशनमा पनि ठ्याक्कै दुईजना मात्र उठ्छन् भन्ने मलाई लाग्दैन

अहिले सभापति उठ्ने भनिरहेका नेताहरूको व्यक्तिगत प्रभाव कति हो ? हिसाब होला नि तपाईँसँग त ?

अरूबारे म बोल्दिनँ । १३औँं महाधिवेशनमा शेरबहादुरजीले मलाई उहाँको तर्फबाट ‘महामन्त्रीको उम्मेदवार बन्नुस्’ भन्नुभयो । मैले ‘सुशीलदा बाँचेकै वेला त रामचन्द्रजीलाई बोकेर हिँडेको, म तपाईंको महामन्त्री कसरी बस्न सक्छु ?’ भनेँ । यो भैरहवामा भएको कुराकानी हो । पछि फेरि उहाँले ‘तपाइँसँग जता पनि हालिदिन सक्ने दुई सय भोट छ, मलाई हाल्न लगाइदिनुप-यो,’ भन्नुभयो । मैले मानिनँ । बरु मैले ‘तपाईसँग साढे चार सय भोट छ, मेरो दुई सय भोट भएको भए म आफैँ सभापति उठ्थेँ’ भनेँ । 

अब दुई सय भोट कट्छ भनेर सभापतिमा उठ्दै हुनहुुन्छ ?

दुई सय त त्यसवेलै शेरबहादुरजीले गनेर देखाइदिनुभएको थियो । अहिले त बढेको छ । उहाँले त्यति धेरै गृहकार्य गर्नुभएको थियो । रामचन्द्रजीको पक्षबाट त्यो भएको थिएन । देउवाजीले त्यो वेला प्रत्येक महाधिवेशन प्रतिनिधिलाई व्यक्तिगत पत्र लेख्नुभएको छ । 

पछिल्लो समय सभापतिसँग कुराकानी भएको छ कि छैन ?
एक्लै भेटेको छु, भनेको छु । अभियानका क्रममा विराटनगरमा जाँदा पछिल्लोपटक भेटेँ । राम्रै कुराकानी भएको थियो । उहाँले मलाई ‘सम्झाएँ’ भन्नुभएछ । वीरगन्जमा उहाँले त्यस्तो बोल्न जरुरत नै थिएन । 

तस्बिर : सतिश पोखरेल