१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार १२:२६:००
Read Time : > 1 मिनेट
समाचार

बम पड्केर ४ जनाको मृत्युपछि सांसदकाे प्रश्न, 'जनता भोको बस्नु पर्दैन भन्ने सरकार खै सुरक्षा ?'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार १२:२६:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटमा परि सर्वसाधरणले ज्यान गुमाइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको धारणा राखेका हुन् । उनीहरुले दुई तिहाईको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसकी सांसद लक्ष्मी परियारले राजधानीमा दिउँसै बम विस्फोटमा परि सर्वसाधरणको ज्यान गएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराइन् ।  शक्तिशाली सरकारको समयमा पनि राजधानीका बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै उनले प्रश्न गरिन्, 'सरकार के गरेर बसिरहेको छ ? सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले  सरकारलाई खोज्न कहाँ जानुपर्ने सभामुख महोदय ?'

सांसद लालकाजी गुरुङ्गले पाँचथरदेखि राजधानीको घट्टेकुलो सम्म श्रृंखलाबद्ध बम विस्फोट भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराए । दुई तिहाईको दम्भले मात्रै जनताले शान्ति सुरक्षाको महसुस गर्न नसक्ने भन्दै उनले निषेधको राजनीति नगर्न सरकारलाई चेतावनी दिए । 

सांसद बहादुर सिंह लामाले सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै दुई तिहाईको दम्भ नदेखाई वार्तामार्फत समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद शान्ता चौधरीले शान्ति सुरक्षाको प्रत्याभुतिका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद सितादेवी यादवले दिनदहाडै राजधानीमा बम विस्फोटमा परि सर्वसाधरणको हत्या भइरहदाँ पनि सरकार किन आधा निन्द्रामा छ ? भनी प्रश्न गरिन् । 

सांसद सुजाता परिवारले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको टिप्पणी गरिन । सिंहदरबार नजिकै बम विस्फोट हुनु, पाँचथरमा ९ जनाको हत्यालगायत मुलुकभर विस्फोटका घटना भइरहनुले मुलुकको शान्ति सुरक्षाको स्थिति कमजोर भएको पुष्टि भएको भन्दै शान्ति सुरक्षा प्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद हिरा गुरुङ्गले शान्ति सुरक्षा नदिने सरकारसँग विकासको के आशा गर्ने भनी प्रश्न गरिन् । ‘कहाँ छ शान्ति र सुरक्षा ? नेपालको शान्ति र सुरक्षा कता हरायो ?’ उनले प्रश्न गरिन् । 

सांसद ज्ञान कुमारी छन्त्यालले सरकारले राजधानीकै सुरक्षा व्यवस्था चुस्त राख्न नसकेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन् 'जनता एक छाक भोको बस्नु पर्दैन । भोको बसे फोन गर्नु भन्ने सरकारले जनताको सुरक्षा दिन नसकेर दिउँसै बम पड्केर ४ जनाको मृत्यु भएको छ । यस्ता क्रियाकलाप रोक्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु । '

सांसद सत्य नारायण शर्मा खनालले पाँचथर जिल्लामा ढाका सिलाई बुनाईको तालिम लिन आउनेहरुलाई आफ्नै होटलमा खाना खुवाउँदा धनबहादुर शर्माको परिवारले नुनमा सिसा पिसेर मिसाएर खान दिँदा पनि कारवाही किन भएन भनी गृहमन्त्रीको जवाफ माग गरे ।