१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गायक शिव परियार
२०७६ जेठ १३ सोमबार ०९:३२:००
Read Time : > 1 मिनेट
नयाँCity

काठमाडौंका पाँच समस्या : हजारले बजार डुल्न गाह्रो

Read Time : > 1 मिनेट
२०७६ जेठ १३ सोमबार ०९:३२:००

फोहोरको असफल व्यवस्थापन
दायाँ पनि फोहोर, बायाँ पनि फोहोर छ । काठमाडौँ असभ्य मान्छेहरूको बस्तीजस्तो महसुस हुन्छ । यसको जिम्मेवार सरकार मात्र होइन । चोरको राजा चोर नै, डाकाको राजा डाका नै, सिंहको राजा सिंह नै र स्यालको राजा स्याल नै हुन्छ । हामी जहिल्यै सरकारलाई ‘यो भएन, त्यो भएन’ भनेर दोष लगाउँछौँ । धारामा पानी आएन, भान्साको धारो बिग्रियो, ग्यास आएन, सरकारलाई गाली । सबै काम सरकारले नै गर्दिनुपर्छ भन्ने सोच राख्छौँ । फोहोर पनि ढोकाअगाडि फ्यालेर सरकारको मुख ताक्छौँ । मन्दिरमा गयो, फोहोरको डंगुर हुन्छ ।
समाधान : टोल सुधार समिति गठन गरेर आफ्नो ठाउँको फोहोर आफैँ व्यवस्थापन गर्न सकिन्छ । मन्दिरमा चढाएको भेटीलाई त्यहीँको सरसफाइमा लगाउन सकिन्छ । 

सडकको धुलो
काठमाडौ मात्रै नभएर पूरै नेपाल नै विकासको बाटोमा छ । विकास गर्न पुरानो भत्काउनुपर्छ । तर, भत्काएर नबनाउँदा काठमाडौंका सडक लथालिंग छन् । धुलोले बसिनसक्नु छ । स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ । कति मान्छेलाई फोक्सो र आँखाको समस्या भएको छ । फराकिलो बनाउन भत्काइएका सडक समयमा बन्दैनन् । बनेका सडक पनि केही समयमा नै भत्कन्छन् । जसले सहर नै धुलाम्मे भएको छ ।
समाधान : काठमाडौंलाई पूरै भत्काएर ‘रिडिजाइन’ गर्न सकिँदैन । जे छ, त्यसलाई राम्रो गर्दै जानुपर्छ । भत्काइएका सडकमा गुणस्तरीय पिच गर्नुपर्छ ।

आवश्यकताभन्दा  बढी सवारी
काठमाडौंमा चाहिनेभन्दा ज्यादा सवारीसाधन छन् । सडक भने साँघुरा । त्यसैले ट्राफिक जाम हुन्छ । कार्यालय जान समयभन्दा धेरै अघि निस्कनुपर्छ । अस्पताल लैजानुपर्ने बिरामीलाई उस्तै समस्या । 
जति धेरै सवारीसाधन थपियो, उति 
समस्या बढ्छ ।
समाधान : सवारीसाधन भित्रिन नियन्त्रण गर्नुपर्छ । सवारी व्यवस्थापन वैज्ञानिक ढंगले गर्नुपर्छ । साना र निजी सवारीभन्दा ठूला सार्वजनिक सवारी ल्याउनुपर्छ ।

चरम महँगी
जुन सामान जतिमा बेचे पनि भयो यहाँ । महँगी नियन्त्रण गर्ने सरकारको कुनै संयन्त्र नै छैन । पाँच रुपैयाँको सामान १५ रुपैयाँमा बेच्दा पनि हारालुछ हुन्छ । हजारले बजार घुम्न गाह्रो छ । महँगीले आकाश नै छोएको छ । उपभोक्ता सचेत नहुँदा पनि यस्तो भएको हो ।
समाधान : सरकारले महँगी नियन्त्रणका लागि अधिकारसम्पन्न आयोग बनाउनुपर्छ । बजारको अराजकता रोक्न समिति बनाएर प्रभावकारी अनुगमन गर्नुपर्छ । 

पानीको समस्या
काठमाडौंका जनताले धेरै समस्या झेलिरहेका छन् । तर, पानी भने प्रत्यक्ष रूपमा जीवनसँग जोडिएको हुनाले झेल्न गाह्रो हुने रहेछ । हप्तामा एकपटक पानी आउँछ । त्यो पनि कतिपय ठाउँमा त राति मात्र आउँछ । अनि रातको निद्रा मारेर पानी भर्नुपर्छ । त्यो पनि पिउन अयोग्य हुन्छ । अझ पानी नै नआउने ठाउँ पनि छन् । पानीको समस्या विकराल छ । 
समाधान : पानीको प्रयोग जथाभावी गर्नुहुँदैन । भूमिगत स्रोतलाई बचाउनुपर्छ । मेलम्चीको कुरा गरेको धेरै वर्ष भयो । त्यहाँको पानी आए समस्या मत्थर होला ।