मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १४ शनिबार ११:४५:००
Read Time : > 1 मिनेट
सप्तरंग

साधारण कलाकार हुँ : मरिचमान श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १४ शनिबार ११:४५:००

पहिलो 
म सानैदेखि विद्यालयका विभिन्न कार्यक्रममा सहभागी हुन्थेँ । हरेक शुक्रबार हास्यव्यंग्य कार्यक्रम हुन्थ्यो । हाउस–हाउसबीच प्रतिस्पर्धा हुन्थ्यो । कक्षा ९ मा पढ्दा प्रतिस्पर्धामा प्रथम भएको थिएँ । त्यसले मलाई हौस्यायो ।  

दोस्रो
एसएलसी दिएपछि काठमाडौंमा कलेज पढ्न र कलाकारितामा केही सिक्न आएँ । यहाँ आएपछि दर्पण फिल्म्समा अभिनय कक्षा लिन थालेँ । दीपक क्षेत्री सरसँग दुई वर्ष अभिनय सिकेँ । त्यसवेला केही फिल्महरूमा कतै–कतै देखिने मात्रै अवसर पाएँ । ‘आयो है’ भन्न नपाउँदै गइहाल्ने सिनहरूमा काम गरेँ । 

तेस्रो
मैले जितु नेपालको फोन नम्बर पाएँ । त्यसपछि मैले जितु दाइलाई फोन गरिरहन्थेँ । जिरे खुर्सानीमा रोलका लागि उहाँलाई अनुरोध गरेँ । त्यहाँ पनि कतै–कतै देखिने अवसर मात्रै पाएँ । करिब ५–६ महिनापछि एकपटक कृषकले गरेको आन्दोलनको सिनमा ‘कृषक कृषक एक हौँ’ भन्ने डाइलग पाएँ । धेरै पछि यत्ति बोल्ने अवसर मिल्यो । 

चौथो
मैले केदार दाइ ‘माग्ने बुढा’को फोन नम्बर पाएँ । त्यसपछि उहाँलाई दिनहुँ फोन गर्न थालेँ । मैले दैनिक फोन गरिरहेको कारण ‘आऊ, तर अहिले नै रोलचाहिँ पाइन्न’ भनेर बोलाउनुभयो । त्यसपछि मेरी बास्सैको सेटमा दैनिक जान थालेँ । त्यसवेला मैले साउन्डम्यान भएर काम गर्न थालेँ । बिस्तारै डाइरेक्टर असिस्टेन्ट भएर काम गरेँ । स्क्रिप्ट लेख्दा पनि मलाई राख्न थाल्नुभयो । केही समयपछि मैले ‘बल्छी धुर्बे’को रोल पाएँ ।

फिल्मको तयारी
दर्शकको मायाले हौस्याएको छ । त्यसैले अहिले राजु मास्टर र मैले फिल्मको स्क्रिप्ट लेख्दै छौँ । तयारी गरिरहेका छौँ । त्यसले गर्दा पनि फिल्मका अफरहरूमा समय दिन नभ्याएको हो । अर्को वर्ष फिल्म ल्याउने गरी तयारी भइरहेको छ । हेरौँ के हुन्छ, अझै संघर्ष जारी  छ । दर्शकले अझ माया गर्नुहुन्छ भन्ने विश्वासका साथ काम गरिरहेका छौँ । एकदम साधारण कलाकार हुँ । 

मेरी बास्सैको जिम्मेवारी सम्हाल्दै
केदार दाइले मेरी बास्सै छाडेपछि राजु मास्टर र म भएर सबै काम सम्हाल्दै आएका छौँ । स्क्रिप्ट लेख्नेदेखि लिएर सम्पूर्ण काम हामी आफैँ गरिरहेका छौँ । मेरी बास्सैका दर्शकलाई भरपुर मनोरञ्जन दिने प्रयास जारी छ । धेरै मिहिनेत गर्दै छौँ । ‘नाइँ नभन्नु ल ४’ मा एउटा रोल गरेको थिएँ । अहिले पनि फिल्मतिर अफरहरू त आइरहेका छन्, तर यता ‘मेरी बास्सै’ र विभिन्न स्टेज कार्यक्रमले गर्दा समय दिन पाएको छैन । समय मिल्यो भने फिल्मतिर पनि खेल्ने नै हो । यसले गर्दा मलाई पहिचान दिने भनेको ‘मेरी बास्सै’ नै हो । दर्शकले धेरै माया दिनुभएको छ । मेरी बास्सै युट्युबमा पनि ट्रेन्डिङमा नै पर्छ । खुसी लाग्छ ।