मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७६ जेठ १२ आइतबार १८:११:००
Read Time : > 1 मिनेट
समाचार

विकास गर्न असम्भव भएपछि चेपाङ बस्ती सार्ने तयारी

Read Time : > 1 मिनेट
रासस
२०७६ जेठ १२ आइतबार १८:११:००

न्युनतम विकासको पूर्वाधार नभएको दक्षिणी धादिङको विकट तथा डाँडाको चुचुरोमा रहेको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङका ३६ घर चेपाङ समुदायलाई स्थानान्तरणको तयारी गरिएको छ ।

दुर्गम गाउँमा विकास पु¥याउन नसकिने भएपछि बस्ती स्थानान्तरणको तयारी गरिएको हो । सो गाउँमा खाद्यान्न अभाव, पिउने पानी, शिक्षा र स्वास्थ्यको पहुँच पु¥याउन नसकिने भएकाले स्थानान्तरणको विकल्प रोजिएको हो । चेपाङ समुदायले वषौँदेखि विकासका लागि  अनुरोध गर्दै आए पनि सरकारले कुनै पनि योजना पूरा गर्न नसक्ने भएपछि स्थानान्तरण गर्नुपर्ने अवस्था आएकोे जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए । 

सोही गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरी ३६ घरपरिवार चेपाङलाई आगामी दशैँअघि स्थानान्तरण गर्ने योजना बनाइएको छ । योजना कार्यान्वयन गराउन जनप्रतिनिधिलगायतले गाउँमै पुगेर छलफल गरेका थिए । संघीय सांसद भूमि त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमुख नेपाल, गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्मा, प्रहरी उपरीक्षक राजकुमार बैदवारलगायतको टोली सोे गाउँमा पुगेको थियो ।

सांसद त्रिपाठीले डाँडाको सबैभन्दा माथि भएकोले खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्य सेवा र खाद्यअधिकार उपलब्ध गराउन कठिन भएकले बस्तीलाई बेसीमा सारेर समस्या समाधान गर्न सकिने बताए । चेपाङ समुदायलाई सहज जीवनयापनका लागि नयाँ ठाउँमा सार्नुको विकल्प नभएकाले विकल्प खोजी गरिएको अध्यक्ष डल्लाकोटीले बताए ।

स्थानान्तरण गरिने स्थानमा सबैका लागि घर, खेती गर्ने जमीन, शौचालय, खानेपानी, विद्यालय र स्वास्थ्यचौकीको व्यवस्था गरिने उनले जानकारी दिए । अगुवा चेपाङ टेकबहादुरले सबैको सुझाबअनुसार स्थानान्तरणका लागि तयार भएको बताए । खानेपानी र खाद्यानको संकट रहेको यो बस्तीमा मकै पाक्न नौ महिना लाग्छ । भिरपखेरामा मकैखेती हुने गरे पनि त्यसबाट हुने उत्पादनले वर्षको चार महीना पनि छाक टार्न मुस्किल हुने भएकाले गाउँवासी बस्ती सार्न तयार भएका हुन् ।