जीवनमा फेसन कति गरेँ, आफैँलाई सोधिरहन्छु । कुन रङको सर्टमा कुन पाइन्ट लगाउँदा हेन्डसम देखिन्छु भन्ने ख्याल गर्दिनँ । आङमा फिट नहुने लुगा लगाएर फेसन गर्दैछन्, मान्छे । त्यसरी गरेको फेसन के फेसन ? लुगा लगाउँदा सजिलो र सुहाउनुपर्छ ।
नयाँ–नयाँ ब्रान्डका लुगा खोज्दै जाँदिनँ । अहिलेसम्म अनलाइनबाट लुगा किनेको छैन । भव्य सपिङ मलमा गएर लुगा किनेको छैन । मेरो किनमेल सपिङ मलमा भन्दा फुटपाथ पसलमा हुन्छ । त्यहाँ किनमेल गर्दा आनन्द लाग्छ । साना–साना पसलमा पुग्छु । सामान्य चिया पसलमा गफिन्छु ।
अहिले त फेसन मान्छेको जीवनशैली बनेको छ । यसलाई नकार्न सकिन्न । युवाको फेसनशैली गज्जब पनि लाग्छ । तर, त्यो फेसनले कामको शैलीमा कति सिर्जनात्मकता ल्याएको छ भन्ने ख्याल राख्नुपर्छ । फेसन गर्दा स्फूर्ति निर्माण गरोस् । फेसनले व्यक्तित्व मात्रै नभएर कामको सिलसिला पनि सुन्दर देखिनुपर्छ ।
अहिले त फेसन छिटो फेरिन्छ । त्यसो हुनु भनेको फेसन अन्तर्राष्ट्रिय बजारसँग जोडिनु हो । विदेशी फेसन बजारसँग काठमाडौंको पहुँच प्रत्यक्ष जोडिएको छ । यो अर्थतन्त्रसँग सीधै जोडिएको छ ।
फेसन संस्कृति हो । तर, फेसनको नाममा विकृति बढिरहेको छ । समाज पुँजीवादले ग्रसित भएकाले विकृति बढेको हो ।