मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ १२ आइतबार १२:५०:००
Read Time : > 3 मिनेट
नयाँCity

पछि बिग्रेको काठमाडौं

Read Time : > 3 मिनेट
२०७६ जेठ १२ आइतबार १२:५०:००

सहर संवाद
शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ

कहीँ घर्घर ज्यावल–मेसिनको
कहीँ चिर्बिर गान रसिला चरीको
हरियो गहुँ झुल्दछ फाँटभरि 
अलकापुरी कान्तिपुरी नगरी !

चारैतिर हरिया पहाड । उत्तरतिर फर्किंदा लहरै हिमाल । मठ–मन्दिर र सुन्दर बस्ती । सहरको बीचबाट बग्ने सङ्ला बागमती, विष्णुमती, टुकुचा, हनुमन्ते र धोबीखोला । उर्वर जमिन, जताततै हरियाली । आदिकवि भानुभक्त आचार्यलाई त्यसैले त फुर्‍यो होला यो कविता । अनि काठमाडौंलाई स्वर्गै भने होलान् ।
तर, आज ? 

हाम्रो घर गणबहालमा थियो । सेन्ट जेभियर्स स्कुल पढ्थेँ । स्कुल पुग्न गाडीमा सात मिनेट लाग्थ्यो । हावा पनि शुद्ध । भारतबाट आएका एकजना अतिथिले भनेका थिए, ‘तपाईंको सहर भविष्यका लागि डिजाइन गरिएको छ ।’ ट्राफिक जाम थिएन । मान्छेको भीड थिएन । सडक फराकिला लाग्थे । 

काठमाडौं उपत्यकामा अहिले पनि पुरानो नेपाली मौलिक आर्किटेक्चर देख्न पाइन्छ । ती शताब्दिऔँ पुराना हुन् । पछि राणाहरूले विदेश भ्रमणमा जाँदा देखेर ब्रिटिस र फ्रेन्च शैलीका दरबार ठड्याए । ती आर्किटेक्चर संरक्षण गर्न सकिरहेका छैनौँ । आधुनिक भवन बनिरहेका छन् । नयाँ पुस्ताले पुराना आर्किटेक्चर देख्न नपाउने अवस्था छ । दोस्रो शताब्दीका ‘रेलिक’ बाटोको छेउतिर अलपत्र छन् ।

म सानो छँदा विदेशी पाहुनाहरू आएका थिए । हामी हनुमानढोकादेखि स्वयम्भूसम्म हिँडेरै गएका थियौँ । उनीहरू भन्दै थिए, यति सुन्दर सहर विश्वमै छैन । हनुमान ढोकाबाट स्वयम्भू छर्लंगै देखिन्थ्यो । बीचमा खेतैखेत थियो । वसन्तपुरको पुरानो मठमन्दिर र दरबारले उनीहरूलाई तानेछ । भन्दै थिए, यति गज्जबको सहर कहीँ छैन । 

न्युरोडको बीच सडकमै गाडी पार्किङ गथ्र्यौं । म सानैदेखि गाडीको सौखिन । काठमाडौं आउने हरेक गाडीलाई टाढैबाट चिन्थेँ । गाडी र नम्बर कण्ठ हुन्थ्यो । काठमाडौंमा दिनमा एक–दुईवटा फ्लाइट मात्र हुन्थ्यो । सानोमा हामीले दिनमा एकचोटिबाहेक जहाज कहिल्यै देखेनौँ । 

सहरको मध्यभागमा रानीपोखरी थियो । रत्नपार्क, खुलामञ्च, टुँडिखेल हुँदै रंगशालासम्म खाली क्षेत्र थियो । व्यापारिक केन्द्र न्युरोड अत्यन्तै व्यवस्थित रूपमा बनाइएको थियो । आवासीय क्षेत्र सहरबाहिर थियो । टापु–टापुमा घर थिए । उर्वर फाँटमा खेतीपाती गरिन्थ्यो । 

पहिले योजना बनाएर संरचना विकास गरेको पाइन्छ । काष्ठमण्डप, भक्तपुर, पाटन, वसन्तपुरको सुन्दरता कुन देशमा पाइन्छ ? भक्तपुर दरबार क्षेत्रमा पुग्दा म्युजियममा पुगेझैँ अनुभव हुन्छ, एउटा खुला म्युजियम । युरोपका सहरमा जानुभयो भने धेरै त कृत्रिमता देख्न पाइन्छ । उनीहरूले आफूहरूसँग भएको पुरानो अस्तित्वलाई भने गज्जबले संरक्षण गरेका छन् । हामीले कहिल्यै पनि पुरानो संस्कृति र इतिहासलाई संरक्षण गर्न सकेनौँ । 

त्यसवेलाका योजनाविद्ले सहरको बीचमा पोखरी बनाए । रानीपोखरी, नागपोखरी, कमलपोखरी आदि । पछिल्लो ४०–५० वर्षयता एउटा पनि पोखरी बनेको छैन । बरु मासिँदै छन् । 

त्यतिवेलै दरबारमार्ग र न्युरोडमा फराकिला सडकको परिकल्पना गरिएको थियो । न्युरोड कति सोचले बनाइएको होला ? चौडा सडक । अगाडि दरबार । बाटोका दुवैतर्फ बजार । एउटा किनारमा मान्छे सुस्ताउने चौतारो (भूगोलपार्क) पनि । राजा महेन्द्र रिङरोड बनाउन तम्सिए । रिङरोड त बन्यो, तर यति ठूलो सडक अनावश्यक भन्ने धेरै थिए । यो सबै सामन्तवादीको अनावश्यक खर्च भनेका थिए । यदि रिङरोड नबनेको भए आज सहर कस्तो हुन्थ्यो, कल्पना गर्न पनि सकिँदैन । अहिले त्यही रिङरोड साँघुरो भइसक्यो । बाहिरी चक्रपथको कुरा उठिरहेको छ । यो अत्यावश्यक छ । चाँडै बन्नुपर्छ ।

नेपाल भित्रिने पर्यटकलाई काठमाडौंको मौलिकताले होइन, धुलोले स्वागत गर्छ । काठमाण्डू धुलमाण्डू बनिसकेको छ । अस्तव्यस्त ट्राफिक । नदी खुम्चिए । सफा पानी होइन, ढल बग्छ । अब यो सहरलाई ब्युँताउन धेरै कठिन छ । भूकम्पपछि हामीले केही सिक्नुपर्ने, त्यही पनि सिक्न सकेनौँ । ४०–४५ लाख मान्छे बस्ने सहरको सुन्दरता गुमेको देखेर दुःख लाग्छ ।

काठमाडौं धुलमाडौं बनिसकेको छ । अस्तव्यस्त ट्राफिक । नदी खुम्चिए । सफा पानी होइन, ढल बग्छ । भूकम्पपछि हामीले केही सिक्नुपर्ने, त्यही पनि सिक्न सकेनौँ । ४०–४५ लाख मान्छे बस्ने सहरको सुन्दरता गुमेको देखेर दुःख लाग्छ ।

म झन्डै ५०–६० मुलुक घुमिसकेँ । धेरै सहर देखेँ । काठमाडौंको प्राकृतिक सुन्दरता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा जोगाउन सकेको भए कति गज्जब हुन्थ्यो । काठमाडौंको मौलिकता जोगाउने गरी भवन बनाउने मापदण्ड मात्र बनाइदिएको भए पनि सहरको सुन्दरता जोगिन्थ्यो । पछिल्लो समय भने बिस्तारै नयाँ भवनमा पनि पुराना कलाकृति देखिन थालेको छ । राणाकालीन शैलीका भवन पनि बन्न थालेका छन् । 

हुन त सुन्दरता हेर्नका लागि समृद्धि नै रोक्ने भन्ने होइन । काठमाडौंमा आएर लाखौँ मान्छे समृद्ध बनेका छन् । यो सहरले धेरै मान्छेलाई कुनै न कुनै अवसर दिएको छ । सहरलाई सुरुदेखि व्यवस्थित गरेर अगाडि बढेको भए ठोकुवा गरेर भन्छु, काठमाडौंजस्तो सहर विश्वमा कुनै हुँदैनथे । 

विश्वका हरेक सहरमा आवासीय, व्यावसायिक, प्रशासनिक क्षेत्र तोकिएको हुन्छ । हामीले कुनै एरिया छुट्याएनौँ । बीच सहरमै व्यापारिक भवन, आवासीय घर, हस्पिटल, स्कुल, कलेज, उद्योग एकै ठाउँमा छन् । यो सहरका योजनाकारहरूको ठूलो कमजोरी देख्छु । हुन त राजनीतिक दृष्टि पनि पुगेन होला । 

उपत्यका सुधार्न गोल्छाका १० टिप्स

  • बाहिरी चक्रपथको काम युद्धस्तरमा सक्नुपर्छ, जसले बस्ती सहरबाहिर फैलिन्छ । गोदावरीबाट भक्तपुर जाने सवारी सहर पस्नुपर्दैन । सहरमा चाप घट्छ । ट्राफिक पनि कम हुँदै जान्छ । यो सडक सेना लगाएर भए पनि बनाउनुपर्छ ।
  • बागमती, विष्णुमती र धोबीखोला करिडोरको कामले तीव्रता पाउनुपर्छ । करिडोरलाई मुख्य बाटोसँग जोड्नुपर्छ ।
  • अहिले कोटेश्वरदेखि कलंकीसम्म मात्रै विस्तार भएको  भित्री चक्रपथ सबै आठ लेनको बनाउनुपर्छ । 
  • ट्राफिक लाइट तुरुन्त जडान गर्नुपर्छ र ट्राफिकको दरबन्दी कम्तीमा तीन गुणा बढाउनुपर्छ ।
  • सहरभित्र ‘बिल्डिङ डिजाइन’ कानुन बनाएर लागू गर्नुपर्छ । सहरमा बन्ने भवन नेपाली मौलिकता बोकेको हुनुपर्छ । उपत्यकाले पुरातात्विक र ऐतिहासिक महत्व बोकेको तथ्य बिर्सनुहुँदैन । 
  • सरकारी कार्यालय सहरबाहिर खोल्नुपर्छ । विद्यालय, अस्पताल पनि बाहिरै खोल्न प्रेरित गर्नुपर्छ । यसबाट सहरको भिडभाड कम हुन्छ ।
  • काठमाडौंका भित्री सहरमा व्यापार व्यवसाय गर्दा बढी कर लगाउनुपर्छ । त्यसपछि व्यवसाय चक्रपथबाहिर फैलिन्छ । 
  • काठमाडौंभित्र चल्ने बाइक र कारले कर बढी तिनुपर्ने व्यवस्था गर्नुपर्छ । पार्किङ शुल्क चर्को बनाइदिनुपर्छ । अनि मान्छे बाहिर आकर्षित हुन्छ ।
  • भूकम्पले खाली ठाउँको महत्व बुझायो, तर केही सिकेनौँ । अब सहरभित्र खाली ठाउँ बनाउन त्यति सजिलो छैन, तर जेजति खाली रहेको ठाउँलाई व्यवस्थित गर्नुपर्छ ।
  • व्यवस्थित ‘मास ट्रान्सपोर्टेसन’मा जानुपर्छ । खोलामाथि केबलकार कुदाउन सकिन्छ । मेट्रोरेल, मोनोरेल कुदाउन सजिलो नभए पनि सम्भावना खोज्नुपर्छ ।