मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:१९:००
Read Time : > 1 मिनेट
नयाँCity

सहरमा रेस्टुरेन्ट : शान्त त्रिशारा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:१९:००

त्रिशारा संस्कृत शब्द । ‘त्रि’ भनेको तीन र ‘शारा’ भनेको सुन्दर बगैँचा । अर्थात्, तीनजनाको बगैँचा । तीन साथी सोभनवीर मालाकार, रौनक राणा र अरुण श्रेष्ठले सन् २०११ मा लाजिम्पाटमा त्रिशारा रेस्टुरेन्ट खोले । सोभनवीरकी दिदी संश्रिताले तीनैजनालाई समेट्ने गरी यो नाम जुराइदिएकी थिइन् ।

त्रिशारा रेस्टुरेन्ट पोखरा र दरबारमार्गमा पनि खुलिसकेको छ । बानेश्वर र झम्सिखेलमा आउटलेट विस्तार गर्न अध्ययन भइरहेको छ । ‘हामीले सुरुमा प्रतिव्यक्ति आठ लाख लगानी गरेका हौँ,’ सोभनवीर भन्छन्, ‘जति कमायौँ, रेस्टुरेन्टमा लगानी गर्दै गयौँ ।’ त्यही कारण यसको सेवा पनि विस्तार हुँदै गएको छ । लाजिम्पाट आउटलेटमा चार सय ३० जना अटाउँछन् । पोखरामा ६ सय र दरबारमार्गमा दुई सय ८० जनाले एकैपटक सेवा पाउन सक्छन् । 

साेभनवीर मालाकार, सञ्चालक

यसका लगानीकर्ता सुरुदेखि नै आफ्नो रेस्टुरेन्ट युनिक बनाउन चाहन्थे । डिजेहरूको ‘लाइभ म्युजिक’ सुरु भइसकेको थियो । तर, चर्को स्वरमा गाउने÷बजाउने ‘लाइभ म्युजिक’ पारिवारिक थिएन । त्रिशारा पारिवारिक छ । शान्त र प्राकृतिकझैँ वातावरण । सानो धुनमा लाइभ संगीत । त्रिशाराले रेस्टुरेन्टको परिभाषा नै बदलिदियो । 

त्रिशारा खुलेको ६ महिनापछि ग्राहकको फोटो खिचेर सामाजिक सञ्जालमा राख्न थालियो । ग्राहकले आफ्ना खास क्षणको फोटो फेसबुक र इन्स्ट्राग्रामबाट लिन सक्छन् । ‘सुरुका ५–६ महिना त परिवार, इष्टमित्र र साथीहरू आइदिए, तर चिनजानका आएर कति दिन हाम्रो रेस्टुरेन्ट चलाइदिने ? ६ महिनापछि रेस्टुरेन्ट ओरालोतिर लाग्न थाल्यो,’ सोहनवीर सम्झन्छन्, ‘अनि फरक रणनीति बनायौँ, माइल्ड म्युजिक र फोटो क्याप्चर गर्ने शैली अपनायौँ ।’ त्रिशाराको यो शैली ग्राहकले पनि अत्यन्तै मन पराइदिए । त्यसैले अरू रेस्टुरेन्टले पनि उनीहरूको शैली पछ्याए ।

सोभनवीरको अनुभवमा एउटा उमेर समूहलाई मात्र लक्षित गरेर रेस्टुरेन्ट चल्न सक्दैन । त्रिशाराले सबै उमेर समूहलाई लक्षित गरेर सेवा दिइरहेको छ । तर, तीनवटा आउटलेटकै ग्राहक फरक प्रकारका रहेको सोभनवीर बताउँछन् । लाजिम्पाटमा सबैजसो उमेर समूह आउँछन् । दरबारमार्ग आउटलेटमा आउने प्रायः ३० वर्षभन्दा माथिका हुन्छन् । 

त्रिशारा चल्तीको रेस्टुरेन्ट हो । बुधबार, शुक्रबार र शनिबार टेबल बुकिङ गर्नुपर्छ । त्रिशाराले समूहको आकारअनुसार टेबल राखिदिन्छ । 

पूर्वराजा ज्ञानेन्द्रको परिवार त्रिशारा गइरहन्छ । लाजिम्पाट र दरबारमार्ग दुवै आउटलेटमा राजपरिवारको जमघट भइरहन्छ । ‘उहाँहरू आउने कुरा ३–४ दिनअघि थाहा हुन्छ, हामी उहाँहरूका लागि छुट्टै ठाउँ उपलब्ध गराइदिन्छौँ,’ सोभनवीर भन्छन्, ‘उहाँहरू चिनजान भएर आउनुभएको होइन, त्रिशारा शान्त र पारिवारिक रेस्टुरेन्ट भएकै कारण आउनुभएको होला ।’ त्रिशारामा बर्थ डे पार्टी, कर्पोरेट र फेमिली ग्यादरिङ धेरै हुन्छ । 

त्रिशारा चल्तीको रेस्टुरेन्ट हो । बुधबार, शुक्रबार र शनिबार टेबल बुकिङ गर्नुपर्छ । त्रिशाराले समूहको आकारअनुसार टेबल राखिदिन्छ । माइल्ड म्युजिक, फोटो क्याप्चर, शान्त र पारिवारिक वातावरणले मात्र त्रिशारा लोकप्रिय बनेको पक्कै होइन । त्रिशाराले पस्किने फरक स्वादले पनि ग्राहक तानेको बताउँछन्, सोभनवीर । तीनवटै आउटलेटको मेनु पनि फरक–फरक छ । दरबारमार्ग र पोखरामा इन्डियन परिकार बढी बिक्री हुन्छ । लजिम्पाटमा चाइनिज, इन्डियन, नेपाली, इटालियनलगायत खानाको फ्युजन गरिएको छ । उनी भन्छन्, ‘हामी नेपालीले अर्डर गर्ने खाना सेलेक्ट गरेर राखेका छौँ ।’ 

त्रिशाराका तीनजना नै मिलेर छिटै ब्याङ्क्वेट खोल्दै छन् । त्रिशारा बेकरी सप पनि खोल्ने योजना छ । ‘हाम्रा ग्राहकलाई बेकरी आइटम सर्भ गर्दै छौँ,’ सोभनवीर भन्छन्, ‘आगामी दुई वर्षभित्र त्रिशारा बेकरीका आठवटा आउटलेट खुलिसक्नेछन् ।’ त्रिशारा बेकरीमा पिज्जा, बर्गर र बेकरी आइटम उपलब्ध हुनेछ ।


पूर्वराजा ज्ञानेन्द्रको परिवार त्रिशारा गइरहन्छ । लाजिम्पाट र दरबारमार्ग दुवै आउटलेटमा राजपरिवारको जमघट भइरहन्छ ।