मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मणिलाल विश्वकर्मा
२०७६ जेठ १२ आइतबार ११:३८:००
Read Time : > 1 मिनेट
प्रदेश

सैनिक हत्या प्रकरण : पक्राउ पर्ने डरले पुरुषहरू  फरार, बस्ती सुनसान

Read Time : > 1 मिनेट
मणिलाल विश्वकर्मा
२०७६ जेठ १२ आइतबार ११:३८:००

स्थानीयको कुटाईबाट घरबिदामा आएका नेपाली सेनाका जवानको मृत्युपछि सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका–४ स्थित तेनुवापट्टीमा त्रास बढेको छ । पक्राउ पर्ने डरले युवाहरु बस्ती छाडेर हिंडेका छन् । अहिले बस्तीमा महिला र बालबालिका मात्रै भेटिन्छन् ।  गत २८ वैशाखमा कुटिएका संखुवासभा खाँदबारीस्थित नेपाली सेनाको बराह दल गुल्ममा कार्यरत २५ वर्षीय अनिशकुमार सिंहको २ जेठमा उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । २५ दिन बिदा लिएर घर गएका उनलाई फर्कने अघिल्लो रात (२८ गते) केही स्थानीयले बिजुलीको खम्बामा बाँधेर निर्घात कुटेका थिए । बरियारपट्टी गाउँपालिका–४ सोहपुर गाउँका घुरन भनिने नरेन्द्रकुमार सिंह दनुवारका जेठी पत्नीपट्टिका एक्ला सन्तान अनिश चार वर्षदेखि नेपाली सेनामा कार्यरत थिए । सिंहमाथि किन कुटपिट भयो भन्ने अझै खुल्न सकेको छैन । 

 अपहरणपछि कुटपिटको आशंका
बिदा सकेर फर्कने तयारीमा रहेको छोरा राति ११ बजेसम्म घरमै रहेको र शौच गर्न बाहिर गएका वेला पुरानो रिसइबी साँध्न केही स्थानीयले अपहरण गरेर लगेको काका मनोज सिंहको आरोप छ । अपहरणकारीले नै खम्बामा बाँधेर कुटेको तथा चोरीको झुठो अभियोग लगाएको उनले दाबी गरे । स्थानीय रामवृक्ष यादवको घरमा चोरी गरेको झुठो आरोप लगाएर युवाहरुले उनीमाथि कुटपीट गरेको सिंहको दाबी छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनाबारे बुझ्न सञ्चारकर्मी पुग्दा गाउँमा 
पुरुष भेटिएनन् । 

 प्रहरीसँग परिवार रुष्ट
परिवारका सदस्यले घटनाकै दौरान पनि प्रहरीले सहयोग नगरेको आरोप लगाएका छन् । कुटपिट भइरहेको खबर गरे पनि तत्काल प्रहरी नगएको, गएका असइ र हवल्दारले कुटपिट नरोकेको तथा थप बल नमगाएको मृतकका काका सिंहले आरोप लगाए । कुटपिटपछि उपचारका क्रममा मृत्यु भएका अनिशको ३ जेठमा आफ्नै गाउँ सोहपुरमा सैनिक सलामीसहित अन्त्येष्टि गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको उपस्थितिमा नेपाली सेनाको चोहर्वास्थित श्री नयाँ गोरख गणबाट सोहपुर गाउँ पुगेको सैनिक टुकडीले अनिशलाई अन्तिम सलामी दिएपछि दाहसंस्कार गरिएको हो । 

 खोजतलास हुँदै छ : प्रहरी

अनिशको मृत्यु भएको १० दिनसम्म पनि घटनामा संलग्न अपराधी पक्राउ पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले मृतक परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्न अपराधीको खोजी गरिरहेको बताए । प्रहरी नायब उपरीक्षक खरेलले मृतकका परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहामा मृतक अनिशलाई अपहरण गरेर कुटपिट गरी हत्या गरेको किटानी जारी दिएको बताए । ‘किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको छ, घटनाको संलग्न व्यक्तिहरूको खोजतलास तीव्र बनाएकाले केही दिनभित्रै पक्राउ गर्छौँ,’ उनले भने ।